केही उद्योग उठ्नै नसक्ने गरी थला पर्ने भएः गोल्छा

  २०७७ वैशाख १० गते २०:४०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना भाइरस संक्रमणको कारण उत्पन्न परिस्थिति नेपालको निजी क्षेत्रका लागि सबैभन्दा ठूलो चूनौती रहेको बताएका छन् ।

यसअघि पनि निजी क्षेत्रले भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरता भोगेको थियो । त्यो बेला निजी क्षेत्र केही समय भित्रै पुरानै अवस्थामा आए पनि अहिलेको परिस्थिति असाध्यै चुनौतिपूर्ण रहेको उनको भनाइ छ ।

‘अहिलेको समस्या विश्वव्यापी महामारीको रुपमा आएको हो, कोरोना भाइरसले विश्वभरको अर्थतन्त्र तहसनहस पारेको छ, यही समस्याका कारण ९० प्रतिशत निजी क्षेत्र छिट्टै रिकभर हुन नसक्ने अवस्था देखियो’, गोल्छाले भने ।

अन्र्तराष्ट्रिय मुद्रा कोष लगायतका निकायहरुले २/३ प्रतिशतसम्म आर्थिक वृद्धि कम हुन्छ भनेका विषय उल्लेख गर्दै गोल्छाले निजी क्षेत्रले यस वर्षको आफ्नो वृद्धि शून्यमै राखेर ऋणात्मक नभए पनि आफूलाई भाग्यमानी सम्झने बताए ।

कोरोनाको महामारीले निजी क्षेत्रलाई मात्र नभई सकारलाई पनि ठूलो क्षती भएको गोल्छाको भनाइ छ । वैदेशिक रोजगारीमा रहेका अधिकांश नेपाली युवा स्वदेश फर्किन लागेका भन्दै उनले ती सबैलाई नेपालमा कसरी रोजगारी दिने भन्ने मुख्य चूनौती रहेको बताए ।

गोल्छाले नेपालमा कोरोना अगाडी सञ्चालनमा रहेका उद्योगहरुलाई कसरी बचाउने भन्ने अर्काे ठूलो चूनौतीको रुपमा रहेको बताए ।

‘निजी क्षेत्रलाई बचाउन नसके देशको अर्थतन्त्रमा ठूलो समस्या आउँछ, स्वदेशमा भएका र विदेशबाट आएकाहरुलाई रोजगारी सिर्जनाको पक्षमा पनि निजी क्षेत्रको भूमिको ठूलो भुमिका हुन्छ, त्यसमा सहयोग गर्न हामी तयार छौं’, गोल्छाले भने ।

सरकारको ठूलो परिमाणमा राजश्व गुमाउने भएकोले निजी क्षेत्रलाई जोगाउन सरकारले विशेष प्याकेज ल्याउनु पर्ने सुझाव दिइएको पनि उनले बताए ।

कठिन समय भएकाले नेपालको सबै निजी क्षेत्रका छाता सगठन मिलेर त्यो प्याकेज तयार पारेका र सरकारलाई बुझाएको उनको भनाइ छ । प्याकेज तयार पर्दा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका अन्य संघ संस्थाहरुको सहभागित रहेको गोल्छाले जानकारी दिए ।

सरकारलाई बुझाएको सुझावसहितको प्याकेजमा आगामी दिनमा कसरी अगाडी बढ्दा देशको निजी क्षेत्रलाई बचाउन सकिन्छ भनेर ४ वटा सुझाव दिइएको छ ।

उद्योग व्यवसाय र निजी क्षेत्रलाई कसरी बचाउने, श्रमिकको व्यवस्थापन कसरी गर्ने, वैशाख महिना पुरै लकडाउन भयो भने श्रमिकलाई ५० प्रतिशत मात्रै पारिश्रमिक दिर्ने र उद्योगले प्रयोग गर्ने बिजुलीको महशुलको बारेमा सुझाव छ ।

सरकारले उद्योग सञ्चालनका लागि बैंकको व्याजलाई ५ प्रतिशतसम्म ल्याउनु पर्ने गोल्छाको भनाइ छ ।

किन सकिँदैन सबै पारिश्रमिक दिन ?

चैतमा १० दिनसम्म उद्योग चलेका थिए । सरकारले चैतको सबै तलब दिनुपर्छ भनेर घोषणा गरेपछि केही उद्योग÷व्यवसायीहरुले पुरै तलब पनि दिए । अब उद्योगसँग मौज्दात पैसा नभएको दिन नसकिने उनको भनाइ छ । धेरै क्षेत्र (होटल पर्यटन लगायत उद्योग) को व्याज धेरै हुने र आम्दानी शून्य हुने भएकोले आधा मात्रै तलब दिन सकिने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले नेपालको आर्थिक अवस्था सबैले बुझ्नु पर्ने बताए । समग्रमा आर्थिक अवस्था सन्तुल कसरी कायम गर्न सकिन्छ भनेर सबैले काम गर्नुपर्ने डा. भट्टको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कुन क्षेत्रमा धेरै समस्या परेका छन् भनेर अध्ययन भइरहेको बताए । बैंकले उद्योगी व्यवसायीहरुसँग बसेर पनि छलफल गरिरहेको भन्दै उनले बैंकले पनि बिजनेस गरेको हो भनेर विर्सन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.