लकडाउनभरीको कारोबारमा पुँजीगत लाभकर छुट दिऔं, सेयर बजार खुलाऔं

  २०७७ वैशाख ९ गते १८:४९     डा. रेवतबहादुर कार्की

नेपालको आर्थिक स्थिति कमजोर छ । विश्वब्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रकोपले गर्दा झन् आर्थिक स्थिति उठ्न नसक्ने सम्भावना बढी देखिएको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउँदै जानुपर्ने हुन्छ ।

अर्थतन्त्र चलायमान बनाउने क्रममा सेयर बजार खुलाउँदा उचित हुन्छ । कसरी हुन्छ भने, हाल कतिपय बैंक तथा बीमा कम्पनीहरु खुलिरहेकै छन् । बजारमा बढी कारोबार हुने भनेकै बैंक तथा वित्त कम्पनीहरुको हो । हुन त अनलाइन प्रणाली पूर्णरुपमा लागू भएको त छैन । तर पनि हालसम्म जे जति कम्पनी उक्त प्रणालीमा आवद्ध भएका छन्, त्यसलाई खुलाएर आर्थिक गतिविधि चलायमान गर्नु पर्छ ।

सेयर बजार भनेको अर्थतन्त्रको रक्तसञ्चार जस्तै हो । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउछ । यो चलायमान भएपछि अन्यलाई पनि चलायमान बनाउँछ ।

यदि अनलाइन प्रणाली शुरु नभएको भए छुट्टै कुरा अर्थात गाह्रो हुन्थ्यो । आंशिक अनलाइन शुरु भईसकेको हुनाले वास्तविक लगानीकर्तालाई प्रेरित पनि गर्न सकिन्छ । साच्चै भन्ने हो भने, यो समय अनलाइन प्रणालीलाई स्ट्रङ्ग बनाउन सकिने समय हो ।

हाम्रो अर्थतन्त्रलाई डिजिटलाईज्ड बनाउँदै लैजानु पर्ने आवश्यकता देखिएको छ । हुन त त्यसको लागि आवश्यक पूर्वाधारहरु त कमजोर छन् । तैपनि अहिलेको लागि राम्रो अवसर भएको छ । त्यसैले, सेयर बजार चाँहि छिटै खुलाउनु पर्छ ।

कसरी सकिन्छ त ?

फेरि पनि भन्छु, यदि चाहने हो भने बजार खुलाउन सकिन्छ । एक त अहिले अनलाईन प्रणालीमा जे जति गएका छन् त्यसको हिसावले बजार खुलाउन सकिन्छ । अर्को, अनलाइनमा आवद्ध नभएकाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउन सकिने ठूलो अवसर हो ।

अहिलेको अवस्थामा बैंक खाता र केवाईसी सबैको हुन्छ । यूजरनेम र पासर्वड लिनलाई गाह्रो भन्ने होला । तर हालको अवस्थामा त्यो पनि गाह्रो छैन । पहिलेको जस्तो ब्रोकरहरुकोमा धाइरहनु पर्ने अवस्था छैन । किनभने, सबै लगानीकर्ताहरु ब्रोकरको पहुँच मै हुन्छन् । उनीहरुले चाहे भने एक कल मै यूजर नेम र पासर्वड सजिलै लिन सक्नेछन् । त्यसको लागि चाहिने आवश्यक डकुमेन्टहरु अनलाइनबाट अर्थात इमेलबाट पनि पठाउन सकिन्छ ।

लगानीकर्ताहरु ब्रोकरको र ब्रोकरहरु अनलाइन प्रणालीको अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीको पहुँच भएकाले कारोबार खुलाउन त्यस्तो समस्या छैन जस्तो लाग्छ ।

वास्तविक भन्ने हो भने यो लकडाउनको समयले धेरै कुराहरु सुधान गर्नको लागि एउटा अवसर दिएको छ । सेयर बजारमा पनि अनलाइन शुरु नभएको भए त्यसलाई शुरु गर्न सम्भव थिएन । यसले अनलाइन सिस्टम स्ट्रङ्ग बनाउन तथा यसलाई अभ्यस्त पार्न पनि यो निकै ठूलो अवसर दिएको छ । यो अवसर हामीले गुमाउनु हुँदैन ।

बैंकहरुसँग इन्टिग्रेसन नभएर पनि अनलाइन कारोबार बन्द भएको भन्ने कता कता हल्ला सुन्निछ । तर भइसकेको जस्तो लाग्छ, नभएको भए हालसम्म भएको अनलाइन कारोबार कसरी भयो ? यदि छैन भने पनि फिनाकल सिष्टम भएकोमा कुनैमा समस्या छैन जस्तो लाग्छ । अनलाईन कारोबार शुरु भईसकेको सन्दर्भमा त्यसको लागि केही अफ्ट्यारो छैन र नभएकालाई पनि प्रोत्साहन गर्ने उपयुक्त समय हो यो ।

यस्तो अवस्थामा लगानीकर्तालाई अनलाइनमा आवद्ध हुनको लागि इन्करेज पनि गर्नुपर्ने देखिन्छ । त्यसको लागि सरकारले आवश्यक प्याकेजको व्यवस्था मिलाउन सक्छ । अहिलेको बेला अर्थात यो परिस्थिति सामान्य नहुने बेलासम्म सरकारले क्यापिटल गेन ट्याक्स (पुँजीगत लाभकर) नलिँदा लगानीकर्तालाई ठूलो राहत हुने थियो ।

यसो गर्दा एक त अर्थतन्त्र चलायमान बनाउनको लागि सरकारले राहत स्वरुप उनीहरुलाई लाभकर नलाग्ने व्यवस्था ल्यायो भन्ने सन्देश प्रवाह हुन्थ्यो । त्यस्तै, यसले आर्थिक गतिविधि पनि त्यति खस्किन पाउँदैन थियो । अर्को, लगानीकर्ता पनि अनलाइन कारोबारको लागि प्रोत्साहित हुन्थे र अनलाइन सिष्टम थप बलियो हुन्थ्यो । नत्र यो स्थितिमा बजार खुलाइने तर कर पनि तिर्नुपर्ने हो भने चाँहि बजार खुलाउनुको अर्थ हुँदैन ।

त्यस्तै, दीर्घकालीन लगानीकर्तालाई पनि विशेष प्याकेज अर्थात सेवा सुविधा दिनुपर्ने व्यवस्था लागू गर्नु पर्ने हुन्छ । जसले गर्दा लगानीकर्ता थप आकर्षित हुन्छन् । यसले अन्य आर्थिक गतिविधिलाई पनि प्रोत्साहन गर्छ र आर्थिक स्थिति त्यति खस्किन पनि पाउँदैन । तर नेपाल सरकारले त्यस्तो कुनै प्याकेज नल्याई दिएर अहिलेको पुँजी बजारको अवस्था अन्योलमा परिरहेको छ ।

अन्य देशमा जीडीपीको २१ प्रतिशतसम्म राहतको प्याकेज ल्याएका छन् । तर हाम्रो देशमा अहिलेसम्म त्यस्तो केही सुरसार भएको छैन । हुन त प्रधानमन्त्री केपी ओलीले आगामी बजेटलाई कुर्नु भन्नु भएको छ । तर, त्यो बिडम्बना हो, हालको अवस्थामा नागरिकलाई दिनरात असर परिरहेको छ ।

यदि लकडाउनको समयावधि अझै थप लम्बिने हो र राहतको लागि बजेटसम्म कुर्नुपर्ने हो भने नेपालको अर्थतन्त्र धरासायी बन्ने सम्भावना बढी छ ।

(नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा सेन्टर फर माइक्रोफाइनान्स (सीएमएफ) नेपालका कार्यकारी अध्यक्ष डा. कार्कीसँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.