आक्रामक बन्दै एनसेलः ‘सरकारलाई सहयोग, ग्राहकलाई अफर’

  २०७७ वैशाख ९ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपालको कर्पोरेट क्षेत्रमा अग्रणी कम्पनीको रुपमा स्थापित कम्पनी हो एनसेल प्राइभेट लिमिटेड । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार गत पुस मसान्तसम्ममा एनसेलको ग्राहक १ करोड ७१ लाख १८ हजार १६३ छन् । दुरसञ्चार सेवा बजारमा यस कम्पनीको हिस्सा ३९.७५ प्रतिशत रहेको छ ।

विभिन्न आर्थिक वर्षमा सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाट सम्मानित भएको यो कम्पनीको सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरमा ठूलो विवाद भयो । टेलियासोनेराको वर्हिगमन र एक्जियटा ग्रुपको आगमनसँगै उत्पन्न पुँजीगत लाभकर विवाद पनि अहिले टुंगिएको छ । सर्वोच्च अदालतको फैसला अनुसार एनसेलले सरकारलाई बुझाउनु पर्ने सबै कर २०७६ चैत मसान्तमा तिरेपछि यो कम्पनी थप आक्रामक बन्ने संकेत गरिसकेको छ ।

एनसेलले सरकार र उपभोक्ता दुबै पक्षको विश्वास र सहयोग लिएर अगाडि बढ्ने नीति लिएको छ । सरकारसँग हातेमालो गर्न उसले पहिलो चरणमा सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गरेको छ । कोरोना महामारीबेलामा प्राइभेट कम्पनीको तर्फबाट गरिएको यो सबैभन्दा ठूलो योगदान हो । विदेशी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरु मध्येबाट अहिलेसम्म कोरोना कोषमा एनसेलले मात्र सहयोग गरेको देखिएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले चैत ११ गते प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन् । ‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको र सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको रु. १० करोड सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

स्थापनाकालदेखि एनसेलले शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा  योगदान पु¥याउँदै आएको छ । एनसेलले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै रु ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।

ग्राहकलाई छुट अफर

एनसेलले ग्राहकलाई आकर्षित गर्न सेवा शुल्कमा छुटसहित आकर्षक कार्यक्रमहरु अगाडि सारेको छ । एनसेलले नयाँ वर्ष २०७७ को अवसरमा  बैशाख १ गते आफ्ना ग्राहकका लागि दुई नयाँ योजनाहरु ल्याएको छ । न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रति मिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको कम्पनीले जनाएको छ ।

मनोरञ्जनका सेवाहरु निःशुल्क

नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ । लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको कम्पनीले जनाएको छ ।

गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप सुचारु गर्न ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ ।

यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डाटा शुल्कमा छुट
एनसेल चैत्र २० गतेबाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटायो । एनसेलले आफ्नो कर बाहेक रु २ प्रति एमबी रहेको पे एज यु गो शुल्क रु १.५० प्रति एमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहने कम्पनीले जनाएको छ ।
कम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ ।

पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा बोनस डेटा प्राप्त गर्दै जानेछन् । शुरुमा रु १० डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक रु १० मा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने छन् ।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स १.०४ एबी डेटामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ७३ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२ एमबी र बोनस १९७ एमबी सहित कुल २५० एमबी डेटा पाउनेछन् । कोरोनाभाइरसले निम्त्याएको महामारीको समयमा एनसेलले सापटी सेवामा थप रकम, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२० प्रतिशत बोनस र १५ जिबीको स्टे होम प्याक सहितका सुविधाहरु दिएर ग्राहकलाई आकर्षित गर्दैछ ।

कोरोनाभाइरस संक्रमितको पहिचान गर्न मद्दत

एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बैशाख ३ गतेदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।

यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भागलिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स१७१००ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् । प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ । हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।

“कोरोनाभाइरस विरुद्धको हाम्रो यो सामुहिक लडाईका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिवद्ध छांै । हाम्रो पुर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहक माझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफुमा कोरोनाभाइरसको जोखिम भए÷नभएको आफै थाहा पाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं । यस विपद्को घडीमा हामी सबैले आ–आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नु पर्दछ र हामी आफ्ना १ करोड ७० लाख भन्दा बढि ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिवद्ध छौं”, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.