विकसित र ठूलो अर्थतन्त्र भएका देशले यस्ता ल्याए आर्थिक प्याकेज

  २०७७ वैशाख ९ गते ११:४०     प्रकाश वाग्ले

काठमाडौं । मानव सभ्यताकै चुनौतिको रुपमा देखापरिरहेको कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । यो भाइरसको संक्रमण हाल विश्वका सबै देशहरुमा फैलिसकेको छ । विश्वका दुई तिहाइ जनसंख्या अहिले आआफ्नो घरमा बन्दी अवस्थामा छन् ।

यो अवस्थामा अहिले विश्व अर्थतन्त्रको चक्का बन्द भएको छ । अधिकांश देशको होटल, एयरलाइन्स, पर्यटन, ट्राभल एजेन्सी, सेयर बजार उद्योग लगायतका सबै प्रकार व्यवसाय बन्द भएका छन् । विकसित देशमा समेत बेरोजगारीको दर बढ्दै गएको छ । अविकसित, अल्प विकसित र विकासोन्मुख देशका जनताको अवस्था अझ दयनीयत हुने संयुक्त राष्ट्र संघ, अन्तराष्ट्रिय मुद्राकोष जस्ता संघ संस्थाले चेतावनी दिइरहेका छन् ।

यस्तो अवस्थामा देशको समग्र अर्थतन्त्रको चक्का घुमाइराख्न तथा नागरिकको जिवनयापनमा सहजताका लागि विभिन्न देशले विभिन्न प्रकारका आर्थिक राहत प्याकेज घोषणा गरेका छन् । यस्तो रकम नागरिकको खानपिनका साथै उद्योग, व्यवसायलाई पुनर्ताजगी गर्नका लागि अनुदान तथा सहुलियतपूर्ण ऋण दिनका लागि समेत खर्च गर्ने छन् ।

यसरी अहिलेसम्म राहतको कार्यक्रम घोषणा गर्ने राष्ट्रमा चीन, अस्ट्रेलिया, अमेरिका, जापान, भारत, क्यानडा, फ्रान्स, जर्मनी लगायत देश छन् ।

यी देशहरुले घोषणा गरेका राहत प्याकेज कस्ता छन् त ?

अमेरिका

कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमै सबैभन्दा धेरै मानवीय तथा आर्थिक क्षति व्यहोरेको अमेरिकाले विभिन्न चरणमा करिब ३.२ ट्रिलियन डलरभन्दा बढीको सहायता प्याकेज ल्याइसकेको छ । पहिलो चरणमा ७ सय ५० अर्ब डलरको आर्थिक राहतको प्याकेज ल्याइसकेको अमेरिकाले हाल तेस्रो चरणमा २.२ ट्रिलियन डलरको प्याकेज ल्याएको छ ।

यो राहत प्याकेज नागरिकको खानपिनका साथै उद्योग व्यवसायलाई सहयोग गर्न, स्वास्थ्य सामग्री उत्पादन लगायतका कार्यमा खर्च हुने अमेरिकाले बताएको छ ।

चीन

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोना संक्रमणले अर्थतन्त्रमा ठूलो असर पारेको छ । आफ्नो अर्थतन्त्रलाइ जोगाउन चीनले अहिलेसम्म पटक पटक गरि ४ सय ७३ अर्ब डलरको राहत प्याकेज ल्याइसकेको छ । व्यवसायका बिभिन्न क्षेत्रहरुलाई समेट्दै अरु थप राहात तथा सहुलियतपूर्ण ऋण दिने तयारी चीनले गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख छन् ।

सर्वप्रथम कोरोना भाइरस देखिएको चीनले संक्रमण सुरु भए लगत्तै ३ सय ९४ अर्ब डलरको राहत प्याकेज ल्याएको थियो । पिपुल्स बैंक अफ चाइनाले संकटको मारमा परेका कम्पनीहरुलाई राहत दिनका लागि ७९ अर्ब डलर छुट्याएको छ । साथै उसले ऋण लिएका कम्पनीहरुको व्याज दरमा समेत व्यापक कटौती गरेको छ । चिनियाँ बैंकहरुले किस्ताको साँवा व्याज स्थगित गरी किस्ता पछि तिर्ने व्यवस्था गरेका छन् ।

भारत

भारत सरकारले गरिब तथा कमजोर आर्थिक अवस्था भएकाहरुका लागि १ लाख ७० हजार करोड भारु (२२.५ बिलियन अमेरिकी डलर) को राहत प्याकेजको घोषणा गरेको छ । भारतले उक्त रकम दैनिक ज्याला मजदूरी गर्ने र लकडाउनको प्रत्यक्ष प्रभाव पारेका गरिबहरूलाई सहयोग गर्न सो रकम खर्च गर्ने बताएको छ ।

भारतले उक्त रकमले ८० करोड जनताका लागि आगामी ३ महिनासम्म निःशुल्क खाद्यान्न वितरण गर्ने जनाएको छ । साथै स्वास्थ्यकर्मीको बीमा, स्वास्थ्य सामग्री उत्पादन, विभिन्न व्यावसायिक कर छूट लगायतमा खर्च गर्ने बताएको छ ।

इटाली

कोरोना संक्रमणबाट ठूलो मात्रामा आर्थिक तथा मानवीय क्षति व्यहोरेको इटालीले ४९ अर्ब डलरको राहत प्याकेज ल्याएको छ । उसले कम्पनी तथा कामदारहरुलाई सहयोग गर्न यो राहत प्याकेज ल्याएको जनाएको छ ।

त्यस्तै इटालीले स्वास्थ्य, रोजगारी, कर तथा कर्जा भुक्तानीलाई लक्षित गरेर थप वित्तीय क्षेत्रमा ३४० अर्ब यूरो खर्च गर्ने घोषणासमेत गरेको छ ।

स्पेन

कोरोनाको संक्रमणबाट धेरै आर्थिक तथा मानवीय क्षति व्यहोरेको मध्यको देश स्पेनले २ सय १९ अर्ब डलरको राहतको तयारी गरेको छ । यस्तै, १ सय अर्ब डलरको कम्पनी लोनको ग्यारेन्टी तथा १७ अर्ब डलरको प्रत्यक्ष सहायता उपलब्ध गराउने भएको छ । निजी लगानीलाई सहयोग गर्नका लागि थप ८३ अर्ब यूरो सहयोग गर्ने समेत स्पेनका प्रधानमन्त्री पेद्रो सान्जले घोषण गरेका छन् ।

जापान

जापान सरकारले ४ अर्ब डलरको प्याकेज घोषणा गरेको छ । यो प्याकेज साना र मध्यमस्तरका कम्पनीहरुका लागि लक्षित छ । सरकारले कोरोना भाइरस संक्रमणका कारण प्रभावित साना उद्योग तथा फर्महरुलाई बिनाव्याज नै ऋण उपलब्ध गराउने भएको छ ।

अष्ट्रेलिया

अष्ट्रेलियाको स्कट मोरिसन सरकारले पनि विभिन्न चरणमा गरी ७२ अर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकेको छ । अष्ट्रेलियाको केन्द्रीय बैंकले पनि बजारमा प्रत्यक्ष हस्तक्षेप गर्दै संकटकालिन अवस्थामा ब्याजदर कटौती तथा केही सहज बनाउने औजारहरु प्रयोग गर्ने घोषणा गरिसकेको छ ।

अष्ट्रेलियाको केन्द्रीय सरकारले सरकारले १७.६ अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ । त्यसमध्ये २.४ अर्ब डलरको हेल्थ प्याकेज रहेको छ ।

यसैगरी भिक्टोरिया र क्यापिटल टेरिटोरी बाहेक अन्य सबै राज्यहरुले पनि ४ अर्ब डलरको स्वास्थ्य र आर्थिक सहायताका आफ्ना आफ्ना छुट्टा छुट्टै प्याकेज समेत ल्याएका छन् ।

बेलायत

प्रजातन्त्रको जननी मानिने बेलायतले कामदार वर्गका लागि सबैभन्दा ठूलो राहत प्याकेज ल्याएको छ । उसले रोजगारी गुमाएकाहरुलाई मासिक २५ सय पाउण्डसम्म तलब दिने, कामदारको ८० प्रतिशतसम्म तलब सरकारले अनुदान स्वरुप उपलब्ध गराउने सो रकममा कर नलाग्ने तथा उक्त रकम राज्य र कामदार सुरक्षा कोष मिलेर व्यवस्था गर्ने तयारी गरेको छ । आगामी जुन महिनासम्म कुनै पनि व्यापार व्यवसायले तिर्नुपर्ने करिब ३० अर्ब पाउण्ड बराबरको भ्याट मिनाहा गरिदिएको घोषणा समेत गरेको छ ।

यस्तै, बेलायत सरकारले ४ सय अर्ब डलर बराबरको बेलआउट फण्ड ल्याएको छ, जुन कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत हुन आउँछ । सरकारले व्यापारलाई सघाउने, साना ब्यवसायी तथा हस्पिटालिटी सेक्टरलाई २५ हजार पाउण्ड बराबरको नगद अनुदान उपलब्ध गराउने बताएको छ ।

फ्रान्स

कोरोना भाइरस संक्रमणका कारण देशमा आएको विषम आर्थिक परिस्थितिको सामना गर्नको लागि फ्रान्स सरकारले साना व्यापार तथा कामदारहरुलाई राहतका लागि ४५ अर्ब युरो सहायता प्याकेज घोषणा गरेको छ ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा गरिएको करिब १ प्रतिशतको कमीको पूर्वानुमानका लागि र कर्मचारीलाई तलव स्वरुप सो रकम खर्च गरिने फ्रान्स सरकारले बताएको छ ।

न्यूजिल्याण्ड

न्यूजिल्याण्ड सरकारले पनि १२.१ अर्ब डलरको कोरोना रेस्क्यू प्याकेज ल्याएको छ ।

सरकारले यसबाट प्रभावित सबै क्षेत्रहरु र व्यापार व्यवसायका लागि समेत अनुदान दिनका लागि ५.१ अर्ब डलरको राहत ल्याएको छ । यस्तै, व्यवसायमा कर कटौती तथा क्यास फ्लोलाई ध्यानमा राखी थप २.८ अर्ब डलरको प्याकेज ल्याएको छ ।

जर्मनी

जर्मनीको सरकारले पनि ६ सय ८ अर्ब डलरको प्रारम्भिक राहत प्याकेज सार्वजनिक गरेको छ । यसैगरी, जर्मनीले व्यापार व्यवसायलाई असिमित कर्जा उपलब्ध गराउने जनाएको छ । आवश्यकताको आधारमा सामाजिकस्तरमा थप राहात प्याकेज ल्याउने समेत जर्मनीको सरारले घोषणा गरेको छ ।

(अन्तराष्ट्रिय विभिन्न संचार माध्यमको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.