एलसीमा अब ओरिजिनल कागजात नचाहिने, इमेलकै आधारमा भुक्तानी दिनुपर्ने

  २०७७ वैशाख ८ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैदेशिक व्यापारको भुक्तानीमा सहजीकरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेका कारण भुक्तानी प्रक्रिया सहज बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

अहिलेसम्म आरिजिन कागजात पेश गरेपछि मात्रै एलसीको भुक्तानी गरिदै आएकोमा लकडाउन अवधिभर इमेलबाट प्राप्त हुने कागजातको आधारमा पनि भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।

‘कोरोना भाइरस संक्रमणले विश्वव्यापी असर पारेको छ, यस्तो अवस्थामा पहिलाको जस्तै गरी ओरिजिनल कागजात भएपछि मात्रै एलसीको भुक्तानी गर्ने भन्ने प्रावधानले अन्तराष्ट्रिय व्यापारमा असर परेको महसुस गरिएको छ, यसलाई सहजीकरण गर्न इमेलबाट प्राप्त हुने प्रतिलिपी कागजातका आधारमा पनि भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो,’ कार्यकारी निर्देशक मिश्रले भने ।

इमेलबाट प्राप्त हुने प्रतिलिपी कागजातका आधारमा भुक्तानी गर्नको लागि राष्ट्र बैंकले ४ वटा आधार तोकेको छ । यस्ता आधारहरुमा रकम भुक्तानी गर्ने बैंकले प्रतितपत्र (एलसी) मा उल्लेख गरिए बमोजिमका कागजातहरुको स्क्यान प्रतिको आधिकारिक इमेलबाट एलसीको भुक्तानी दिने बैंकले उसको आधिकारिक इमेलमा प्राप्त गरेको हुनुपर्नेछ ।

यस्तै, ओरिजिनल कागजातहरु कुरियर मार्फत पठाइएको उल्लेख भएको भुक्तानी निर्देशन सहितको आधिकारिक स्वीफ्त सन्देश एलसी जारी गर्ने बैंकबाट भुक्तानी गर्ने बैंकले प्राप्त गरेको हुनुपर्नेछ । आधिकारिक कागजातहरु तथा सोअनुसारको सामान प्राप्त नभएमा र विदेशी विनियम अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी निवेदको रहत व्यहोराको प्रतिवद्धतापत्र भुक्तानी गर्ने बैंकले निवेदकसँग लिनुपर्ने भनिएको छ । यी प्रक्रियाहरु सहित भुक्तानी सम्बन्धी अन्य प्रावधान पालना हुने गरी भुक्तानी दिने बैंकले रकम दिन सक्ने व्यवस्था गरिएको छ । एलसी नखोलेको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.