चैतन्य जागृति महिला समूहले ४० श्रमिक परिवारलाई वितरण गर्याे राहत

  २०७७ वैशाख ५ गते १७:०६     विकासन्युज

ललितपुर । चैतन्य जागृति महिला समूहले ललितपुरको हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण गरेको छ। आर्थिक अवस्था कमजोर रहेका श्रमिक र मजदुर परिवारलाई महिला समूहले राहत वितरण गरेको हो।

चैतन्य जागृति महिला समूहकी सदस्य एवम् सामाजिक अभियन्ता रेशमा बानुको नेतृत्वमा हरिसिद्धिका ४० घरका एक सदस्यभन्दा धेरै परिवार सदस्यलाई राहत वितरण गरिएको हो।

सामाजिक अभियन्ता एवम् चैतन्य जागृति महिला समूहकी सदस्य रेशमा बानुले आर्थिक अवस्था कमजोर रहेका परिवारबाट आफूलाई राहत नपाएको गुनासो आएपछि राहत वितरण गरेको बताइन्।

‘केही परिवारले राहत पाएको र केही परिवारले नपाएको जानकारी आयो, त्यसपछि महिला दिदीबहिनीहरूसँग सल्लाह गरेर राहत वितरण गरिएको हो,’ बानुले भनिन्, ‘भोकै बस्नुपर्ने अवस्था आउनु भएन भनेर नै हामीले राहत वितरणको पहल गरेका हौँ।’

सरकारको तर्फबाट कम्तिमा लकडाउनको अवधिभर पुग्ने राहत सामग्री वितरण गर्नु पहल हुनुपर्नेमा सामाजिक अभियन्ता बानुको जोड छ।

‘सरकारले, राज्यले चाहेमा गर्न नसक्ने कार्य केही हुँदैन, सरकारले अगुवाइ गर्ने तथा सामाजिक र आर्थिकले सरकारलाई सहयोग गर्ने हो भने कुनै पनि नेपालीले भोको हुनुपर्दैन,’ बानुले भनिन्।

४ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई २५ किलोको एक बोरा चामल, दुई किलो दाल, एक किलो चना, एक लिटर तेल, दुई किलो चिउरा वितरण गरिएको समूहकी सदस्य पुनम थपलियाले जानकारी दिइन्।

ललितपुरको हरिसिद्धि श्रमिक र मजदुरहरू धेरै भएको इलाका हो। ललितपुर वडा नम्बर २८ ले राहत स्वरूप पाँच किलोग्राम चामल तथा अन्य केही सामग्री वितरण गरेको थियो।

तर, श्रमिकहरूले सरकारी राहत अपर्याप्त रहेको गुनासो आएको र यसलाई सम्बोधन गर्न मानवअधिकारकर्मी तुलसीदास थापाले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.