इन्टरनेटका वार्षिक ग्राहकले कसरी पाउँछन् २५ प्रतिशत छुट ?

  २०७७ वैशाख ४ गते १३:५४     नबिन पाेखरेल

काठमाडौं । सरकारले लागू गरेको लकडाउनको समयमा दूरसंचार सेवामा २५ प्रतिशत छुट पाइने घोषणा गरेको छ । यो छुट इन्टरनेट सेवामा पनि लागू हुने सरकारको भनाइ छ ।

पहिला नै वार्षिक शुल्क तिरेर ग्राहक बनेका इन्टरनेटका उपभोक्ताले कसरी छुट पाउने भन्ने यकिन छैन । वार्षिक ग्राहकले पनि इन्टरनेटमा छुट पाउने गरी गृहकार्य अघि बढेको नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले जानकारी दिएको छ ।

सरकारले नै निर्देशन गरेको कुरा भएकाले सबै सेवा प्रदायहरुले सो विषयलाई पूर्ण पालना गर्ने एनटीए बताउँछ ।

‘सेवा प्रदायकले जसरी भएपनि २५ प्रतिशत छुट दिनुपर्छ, पहिला नै पैसा तिरेर वार्षिक ग्राहक बनेका उपभोक्ताले पनि लकडाउन अवधि जति हुन्छ, सो समयमा पाउने छुट पछि थप गरेर इन्टरनेट दिन भनेका छौं, त्यसको प्रभावकारी कार्यान्वयनको लागि प्राधिकरणले आवश्यक व्यवस्था मिलाउँछ,’ प्रािधकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने ।

मोवाईल प्रयोगर्ताका हकमा सरकारले निर्देशन कार्यान्वयन भएर उपभोक्ताले छुट पाइरहेको प्राधिकरणको भनाइ छ । एनटीसी तथा एनसेलका ग्राहकहरुले छुट पाईरहेको भएपनि फिक्स डाटाका होम युजरको सन्दर्भमा भने केही समस्या देखापरेको छ ।

इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुको छाता संस्थाले इन्टरनेट सेवामा २५ प्रतिशत छुट दिन समस्या भएको प्राधिकरणसँग गुनासो गरेका छन् । यस्तै, सरकारले लकडाउन अवधिभर रकम सकिए पनि इन्टरनेट सेवा बन्द नगर्न दिएको निर्देशन कार्यान्वयनमा कठिनाइ भएको उनीहरुको भनाइ छ ।

छुट दिएर के पाउँछन् सेवा प्रदायकले ?

उपभोक्तालाई २५ प्रतिशत छुट दिँदा सो बराबरको आफूहरुले कर छुट पाउनु पर्ने सेवा प्रदायकको दाबी छ । तर, करमा छुट दिन सकिने व्यवस्था सरकारले गरेको छैन ।

अहिलेको असामान्य परिस्थिति भएकोले यस्तो बेलामा कसले के पाउँने वा गुमाउने भन्दापनि आवश्यकता अनुसार काम गर्नुपर्ने प्राधिकरणको भनाइ छ । सेवा प्रदायकले राष्ट्रको लागि केही योगदान गर्ने यो उपयुक्त अवसर भएकोले सोही अनुसार व्यवहार गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

पैसा नतिरे सेवा काटिने

सेवा प्रदायकले पैसा नतिरेको अवस्थामा सेवा सुचारु गर्न नसकिने बताएका छन् । अहिले सित्तैमा सेवा दिदाँ पछि पैसा उठाउन गाह्रो हुने उनीहरुको भनाइ छ । प्राधिकरण भने मन्त्रिपरिषदले गरेको निर्णय स्वीकार गर्नु सबै सेवा प्रदायकको कर्तव्य भएको बताउँछन् । प्राधिकरणले यस्तो बताए पनि सेवा प्रदायकले पैसा तिर्नुपर्ने अवधी पूरा भएपछि इन्टरनेट काट्न थालेका छन् ।

३५ प्रतिशत उपभोग बढ्यो

लकडाउनको समय सुरु भएयता इन्टरनेट प्रयोगकर्ताको भोलुममा वृद्धि भएको छ । एनटीएले दिएको जानकारी अनुसार डाटाको ट्राफिक डोमेस्टितर्फ करिब ३५ तथा अन्र्तराष्ट्रिय तर्फ २५ प्रतिशतको हाराहारीमा बढ्न पुगेको हो ।

अहिले नयाँ प्रयोगकर्ता वा ग्राहक संख्यामा थप भएर भन्दा पनि डाटाको ट्राफिक बढेको अवस्था छ । यसको मतलब संंख्या बढ्नु भन्दापनि एक व्यक्तिले धेरै भोलुमको डाटा चलाउनु हो । पहिलेदेखि नै ईन्टरनेट चलाउँदै आएका ग्राहकले बढी खपत गर्न सुरु गरे लगत्तै पछिल्लो समय भोलुम ह्वात्तै बढ्न पुगेको हो ।

यसको साथ साथै लकडाउनकै कारण ग्राहक संख्यामा पनि केही हेरफेर भएको हुनसक्ने एनटीएको अनुमान छ ।

छुट दिन प्राधिकरणको निर्देशन

सरकारले दूरसंचार सेवामा ग्राहकलाई २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । सरकारको सो निर्णय कार्यान्वयन गर्न प्राधिकरणले सबै सेवा प्रदायकलाई निर्देशन दिइसकेको छ ।

पैसा नतिरे पनि इन्टरनेट नकाट्नु

प्राधिकरणले आइएसपीहरुलाई पैसा सकिएको कारण देखाएर इन्टरनेट नकाट्न आग्रह गरेको छ । दूरसंचार सेवा अत्यावश्यकभित्र पर्ने र लकडाउनको कारण इन्टरनेटको भुक्तानी गर्न अप्ठेरो परेको हुन सक्ने भन्दै प्राधिकरणले सेवा नरोक्न आग्रह गरेको हो ।

‘अहिलेको बेला भनेको संवेलनशील भएकाले इन्टरनेट चलाउने तथा दूरसंचार सेवाका ग्राकहरुलाई मिल्नेसम्म सहज बनाउँनु पर्छ, अन्य बेलामा भन्दापनि प्रयोगकर्ताहरु बढीरहेको अवस्था छ, सोही कारण हामीले सबै सेवा प्रदायकहरुलाई आफ्नो सेवा अत्यावश्यक सेवा भित्र पर्ने भएका सोही अनुसार काम गर्न भनेका छौं,’ प्राधिकरणका प्रवक्ता अर्यालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.