कोरोनाको कारण नेपालको २ खर्ब नोक्सान हुन सक्ने, एसएमईलाई विशेष छुट दिने तयारी

  २०७७ वैशाख ३ गते २१:३७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालको अर्थतन्त्रमा करिब २ खर्बको नोक्सान हुन सक्ने बताएका छन् । बुधबार बीबीसी नेपाली सेवाको विशेष कुराकानीमा बोल्दै उनले विश्वभर फैलिरहेको कोरोना भाइरसले सरकारले नेपालकाे अर्थतन्त्रमा २ खर्ब रूपैयाँ नोक्सान हुन सक्ने प्रक्षेपण गरेको बताएका हुन् ।

तर, यो भाइरसका कारण लकडाउन कति सम्म गर्नु पर्ने हो त्यसले नै नोक्सान सिर्जना गर्ने बताए । कोरोनाकै कारण विश्वको अर्थतन्त्र खुम्चिदै गएको बताउँदै उनले नेपालमा पनि रोजगारीको  अवसर र ज्याला पनि खुम्चदै जाने बताएका छन् ।

‘हामीले चैतमा देशको आर्थिक वृद्धिदर २ देखि ४ सम्म घट्ने अनुमान गरेका थियौं, अझै यो भाइरस बढ्दै गइरहेको छ, यति नै नोक्सान हुुन्छ भन्न सकिने अवस्था अब छैन,’ उनले भने ।

साथै, उनले कोरोनाको कारण राजश्वको आधार कमजोर हुने र खर्चको आवश्यकता बढ्ने भएकोले अर्को वर्षको लागि थप चुनौतिपूर्ण हुने बताएका छन् । ‘यो वर्ष कृषि, शिक्षालगायत सामाजिकमा क्षेत्रमा सामान्य वृद्धि हुन्छ,विभिन्न समस्याहरु बढ्दै जाँदा आर्थिक गतिविधी पनि घट्दै जान्छन्, यसले देशको अर्थतन्त्रलाई नराम्रो गरी असर पार्छ, उनले भने ।

कोरोना भाइरसले देशको पर्यटन, निर्माणको क्षेत्र थोक तथा खुद्रा व्यापार सबैभन्दा बढी प्रभावित हुुन सक्ने उनको भनाइ छ । देशमा सिमीत पूर्वाधार भएकोले पनि दातृ संघ संस्थाहरुलाई सहयोगको अपील गरेको उनले बताए । बजेट सपोर्टका लागि उनीहरुले व्याज र सावाँको समावधि थप गर्ने, केही सहज सर्त तथा विधिहरु राखेर ऋण उपलब्ध गराउनका लागि उनीहरू सहमत भएको उनको भनाइ छ ।

यस्तै, साना तथा मझौला व्यवसायीहरुको सहजका लागि केही छुट दिने कि भन्ने तयारी भइरहेको उनले बताए । विशेष गरेर  उनीहरुका लागि  विद्युत महसुल मिनाह गर्न सकिने जसले गर्दा उनीहरूलाई धेरै सहज हुने उनले बताए ।

अब देशमा वेरोजगारीको संख्या बढ्ने भएकोले सरकारले अबको बजेटमा कृषिजन्य क्षेत्रलाई बढी प्राथमिकता दिई विभिन्न योजनाहरु ल्याउने, शिक्षा र स्वास्थ्यका क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखि भौतिक पूर्वाधारहरुलाई जोखिमरहित र सहज बनाउने योजना ल्याउने उनको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.