सरकार भन्छ, ‘ठूला आयोजनाको काम सुरु गर, साइटमा न कामदार छन्, न सामग्री, नत पास नै’

  २०७७ वैशाख ३ गते १६:१७     सन्ताेष राेकाया

काठमाडौं  । यतिखेर देश लकडाउनमा छ । सर्वसाधारणहरु घरभित्रै छन् । उनीहरुले आफ्ना दैनिक गतिविधीहरु गर्न पाएका छैनन् । यसको प्रत्यक्ष प्रभाव र असर देशको अर्थतन्त्रमा परेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) सँग लड्नका लागि पनि लकडाउन अपरिहार्य छ । त्यसैले पनि अन्य देशहरु जस्तै नेपाल सरकारले यो उपाय अवलम्बन गरेको हो ।

केही दिन अगाडि मात्रै लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनाहरु पनि प्रभावित बने भनेर सरकारले ती ठूला आयोजनाहरुको काम सुचारु गर्न अनुमति दियो ।

झण्डै दुई साता बन्द आयोजनाले निर्माण कार्य सुचारु गर्नका लागि अनुमति पनि पाए । उनीहरुलाई पनि काम समयमै सक्नु पर्ने दवाव पनि उतिकै  छ । सरकारले काम सुरु गर्न अनुमति दिँदा दिदै पनि ती ठूला आयोजनाहरु भने अझै पनि काम सुरु गर्ने अवस्थामा छैनन् ।

ती आयोजनाहरुलाई अहिले काम पुनः शुरु गर्न चौतर्फि समस्या परेको छ । हिजो लकडाउनको कारण घर फर्किसकेका कामदारहरु अहिले निर्माणाधीन आयोजना स्थलमा आउन सक्ने अवस्था छैन । नत ती आयोजनाहरुलाई निरन्तरता दिनको लागि निर्माण सामग्री नै छ ।

ती धेरै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरु मध्ये केही आयोजनाको निर्माण कार्य मात्र आंशिक रुपमा सुरु भएको छ । जलविद्युतमा कार्यरत मजदुरमध्ये केही घर गइसकेको अवस्थामै आयोजनाले निर्माण सुरु गरेका छन् ।

विमानस्थलहरुको काम निरन्तर रुपमा अगाडि बढाउनका लागि सामग्रीको अभाव छ । धेरै परियाेजनाका त कामदार पनि घर फर्किसकेका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिएका अपरियोजनाहरुमा तामाकोशी जलविद्युत, पोखरा विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अहिले नियमित भइरहेको भएपनि पहिलेको जस्तो तीव्र रुपमा भने छैन ।

ती आयोजनाहरुमा काम सुरक्षित रुपमा त भइरहेको छ । तर, निर्माण सामग्रीको अभावका कारण समयमै काम नसकिने होकी भन्ने पनि प्रश्न खडा भएको छ ।

आयोजनास्थलमा कामदार रहेका, तर बाहिरबाट कोही पनि नयाँ मानिस नगएका परियोजनाहरू भने सुचारु भएकै छन् । उनीहरु पहिल्यैदेखि एकान्त (आइसोलेसन)मा रहेर काम गरिरहेकै छन् । 

विमानस्थलसँग सम्बिन्धित आयोजनाहरु 

लकडाउनले विमानस्थलहरुर्लाइ पनि निकै असर परेको छ । विमानस्थल निर्माण गर्नका लागि धेरै सामग्रीहरु विदेशबाट आयात गरिन्छ । अहिले नेपाल र धेरै सामान आयात गर्नु पर्ने देशहरु लकडाउनमा रहँदा सामग्री आयात गर्न समस्या भइरहेको बताइएको छ ।

निर्माण सामग्री आपुर्तिका लागि आवतजावत ठप्प भएकोले धेरै समस्या भएको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता रुद्रसिँह तामाङले आयोजना स्थलमा सामान अभावको कारण निर्माण कार्य नियमित रुपमा नभएको बताए ।

‘काम रोकिएको पनि छैन, तीव्र रुपमा भएको पनि छैन,अहिले सामानकै अभाव भएकोले लकडाउन अवधिभर काम नियमित गराउन असम्भव छ, उनले भने ।

‘गौतमबुद्ध विमानस्थलका सामानहरु कोही स्पेनमा कोही बेलायतमा र कोही क्यानडामा छन्, त्यहाँबाट सामान ल्याउन अहिले सम्भव छैन, काम कसरी नियमित गर्न सकिन्छ ?,’उनले भने ।

आयोजनाहरुको मुख्य काम नै नभएको उनले बताए । ‘काम गर्ने त भन्छन्, तर अहिलेको अवस्थामा त्यो सम्भव छैन,’ उनले भने ।

लकडाउनले सुरुका केही दिन समस्या आए पनि अहिले सरकारी निकायले समेत सहयोग गरेकाले निर्माण कार्यलाई निरन्तरता दिइएको नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयले समेत सहयोग गरेको अधिकारीले बताए ।

सरकारले आयोजनाको काम नरोक्ने भने पनि सामग्री ल्याउन सहजीकरण हुन नसकेकाले द्रुतगतिमा कार्य गर्न नसकिएको उनको भनाइ छ । यस्तै, पोखरा विमानस्थलमा यतिवेला साढे ३ सय कामदार भित्रै बसेर काम गरिरहेको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

‘आयोजनामा कसैलाई पनि भित्र जान दिएका छैन, भित्रै खाने–बस्नेलाई मात्रै काम लगाएका छौँ,’ मुनकर्मीले भने । सिमेन्ट अभाव भए पनि होङ्सी सिमेन्ट ल्याउनका लागि सिडिओ कार्यलयसँग समन्वय भइरहेको उनले बताए ।

मेलम्ची खानेपानी 

राष्ट्रिय गौरवका आयोजनाहरु मध्येको एक प्रमुख परियोजना मेलम्ची खानेपानी जलविद्युत आयोजना हो । लकडाउनको अवधिमा ठूला आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिन सरकारले निर्देशन दिए पनि समन्वय अभावले केही मात्र सुचारु हुन सकेका छन्  ।

लकडाउनले मेलम्ची खानेपानीलाई पनि धेरै असर परेको छ । आगामी असारमा सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको मेलम्ची खानेपानी आयोजना अहिले आंशिक रूपमा चलिरहेको छ । योसँगै यो असारमा सम्पन्न हुने वा नहुने पनि दुविधा उब्जिएको छ ।

आयोजना प्रमुख तिरेशप्रसाद खत्रीका अनुसार लकडाउनअघि ४ सयजनाले काम गरिरहेकामा अहिले ६० जनाको हाराहारीमा मात्र छन् । घर फर्केका कामदार नफर्केसम्म आयोजनाको काम पूर्ण क्षमतामा हुने सम्भावना नभएको उनको भनाइ छ । उनले द्दर फर्किसकेको कामदारलाई बोलाउन पनि पासको व्यवस्था नभएको उताए । पास पाउन पनि समस्या भएको उनको भनाइ  छ । 

सडक विभागसँग सम्बन्धित आयोजना 

देशमा भइरहेको लकडाउनले सडक विभागसँग सम्बन्धित आयोजनाहरुलाई पनि निकै प्रभाव परेको छ । छिमेकी देश चीन र भारत जोड्ने तीन महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजनामा पनि आंशिक रूपमा काम सुरु भएको छ ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोसी करिडोरको संखुवासभा, कालीगण्डकी करिडोरको मुस्ताङ र कर्णाली करिडोरका केही ठाउँमा काम सुरु गरिएको बताए ।

यी करिडोर निर्माणको काम अत्यन्तै विकट क्षेत्रमा छ । त्यसैले पनि तिनीहरुको काम गर्न सम्भव छन । उनले ती आयोजनाहरुको काम पूर्ण रूमा सुरु गर्न एक साता लाग्ने बताए ।

तर, कामदार आउनुपर्ने र निर्माण सामग्रीलगायतको व्यवस्थापनमा सहज हुनुपर्ने उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका निर्देशक शिवप्रसाद नेपालको भनाइ छ  । उनका अनुसार  सामग्रीको आपुर्ति गर्न एकदमै कठिन छ ।

शर्माले सबै आयोजनाहरुको काम सुरु गर्न थालिएको बताए । तत्काल निर्माण थाल्नुपर्ने पुल, नदी नियन्त्रणलगायतका आयोजनाहरुको भने सुतिच तयार पारेरकोरोनासम्बन्धी उच्चस्तरीय समितिमा पठाउने र आवश्यक सहजीकरण गर्ने तयारी भइरहेकामे उनको भनाइ छ ।

उनले करिब ५० भन्दा बढी आयोजनामा काम भइरहेको बताए । जसमा करिब ३ हजार कामदारहरुले नियमित काम गरिरेहका छन् । 

जलविद्युत क्षेत्र 

लकडाउनले जलविद्युत क्षेत्रमा पनि ठूलो समस्या निम्त्याएको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले अहिले आयोजना स्थलमा उच्च सर्तकता पनाएर काम भइरहेको बताए । तर, धेरै कामदारहरु घर फर्किसकेकोले र निर्माण सामग्रीको पनि अभाव भएकोले कामलाई नियमित अगाडि बढाउन समस्या भइरहेको बताए ।

‘अब बर्खायाम नजिकिँदै छ, निर्माण भइसकेका संरचनाहरुलाई सुरक्षित राख्न पनि चुनौती छ,  निर्माण सामग्री साइटमा पुर्याउन पनि त्यतिकै चुनौती छ, उनले भने ।

निर्माणको सामग्री ढुवानीका लागि गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम भइरहेको उनको भनाइ  छ ।  विभिन्न जिल्लाहरु भएर सामान ढुवानी गर्नु पर्ने भएकोले लकडाउनको

‘लकडाउनको समयमा घर फर्किसकेका कामदारको व्यवस्थापन फेरी साइटमा ल्याउन सक्ने अवस्था सम्भव छैन, अहिले साइटमा उपलब्ध कामदारलाई परिचालन गरेर काम भइरहेको छ, यसले पनि काम समयमै सकिने होइन कि भन्ने चुनौती पनि छ’ उनले भने ।

राष्ट्रिय गौरवकै सूचीमा रहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पनि सुरु भएको छ । आयोजनाको बाँधलगायत संरचना परीक्षण चलिरहेको र पेनस्टक जडानको कामसमेत चलिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए ।

उनले आयोजना निर्माण स्थल एकान्तमा भएकोले पनि काम सहज भएको बताए । तर, केही सामग्रीहरुको भने अभाव रहेको उनको भनाइ छ । सो आयोजनामा हाल ५ सय कामदारले काम गरिरहेका उनले बताए ।

सरकारले ठूला आयोजनाहरु सुरु गर्न अनुमति दिएपनि साइटमा कामदार नहुँदा, निर्माण सामग्री नहुँदा र जाने कादारलाई पनि पासको व्यवस्था नभएकोले निर्माणाधीन आयोजनाहरुको काममा निरन्तरता दिन समस्या भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.