नयाँ वर्षका दिन सुनसान पर्यटकीयस्थल

  २०७७ वैशाख १ गते १६:११     विकासन्युज

रुपन्देही । नयाँ वर्ष २०७७ को पहिलो दिन । यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकले खचाखच हुने पर्यटकीय स्थल सुनसान छन् । आज जिल्लाको बुद्ध जन्मस्थल लुम्बिनीसहितका पर्यटकीयस्थल खाली छन् । बुटवलको मणिमुकुन्द सेन उद्यान, हिलपार्क, पिसपार्कलगायत स्थल पनि सुनसान नै रहेका छन् ।
कोभिड—१९ को संक्रमणका कारण लकडाउ भएँपछि नयाँ वर्ष घरमै बसेर मनाइएको बुटवल १३ निवासी पुष्पा थापाले बताए । “बाहिर हिडौँ भने लकडाउन छ, त्यसैले घरमा परिवारसंँगै नयाँ वर्ष मनाउँदै छु ।”

हरेक नयाँ वर्षमा नयाँ ठाउँमा घुम्नेहरु पनि यस वर्ष कोरोना महामारीका कारण घरमै छन् । नयाँ वर्षमा अत्यन्तै भीड लाग्ने बुद्ध जन्मस्थल लुम्बिनी पनि आज सुनसान छ । कोरोना भाइरस संक्रमणका कारण लुम्बिनीमा कुनै पनि पर्यटक नदेखिएको व्यवसायी मञ्जु ढकाल बताए । “कोरोना संक्रमण शुरु भएसंँगै लुम्बिनीमा पर्यटक आउन छाडेका हुन्, अहिले त लकडाउनका कारण झन् आउने कुरै भएन,” उनले भने, “ लुम्बिनीमा रहेका बिहारका भिक्षुहरुबाहेक मायादेवी मन्दिरको दर्शन गर्नसमेत कोही पनि गएनन् ।”

नयाँ वर्षमा पर्यटकको भीडले गर्दा होटल तथा पसललाई व्यापार गर्नसमेत भ्याइनभ्याइ हुन्थ्यो । एक दिनमा पनि राम्रो व्यापार हुन्थ्यो तर कोरोना भाइरसका कारण यो नयाँ वर्षका दिन धेरै घाटा लागेको व्यवसायी ढकालको भनाइ छ । अधिकांशले सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाएका छन् । “ सबैभन्दा प्रमुख कुरा भनेकै स्वास्थ्य रहेछ । जीवन छ र पो सबै छ । कोरोना संक्रमण नियन्त्रण भए अर्को नयाँ वर्ष नयाँ ठाउँमा मनाउँला तर अहिले घरमै रहनु नै उत्तम हुन्छ”, बुटवल बेलबासकी गीता आचार्य भने । विश्व नै कोरोना संक्रमणसंग लडिरहेका बेला नयाँ वर्षको उत्साह त्यति नभएको बुटवल नहरपुरकी रचना पाण्डे बताए । “नयाँ वर्षको आगमनसंँगै रोग नियन्त्रण भए खुशीको कुरा त्यही हुने छ”, उनले भने ।

घरमा बसेर मनाइँदै

रामपुर –विसं २०७७ को पहिलो दिन आज रामपुरवासीले एकापसमा शुभकामना साटासाट गरी घरमै बसेर मनाइरहेका छन् । रामपुर नगरपालिकाका विभिन्न पर्यटकीयस्थल विगतका नयाँ वर्षका दिन भीडभाड लाग्ने गथ्र्यो । विशेष गरेर एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा नयाँ वर्षका दिन ठूलो सङ्ख्यामा पर्यटकको चहलपहल हुने यो क्षेत्र सुनसान छ ।

अहिले तालपोखरामा अनिश्चितकालसम्मका लागि प्रवेशमा रोक लगाइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताए । “अघिल्ला वर्षमा सम्हाली नसक्नु भीड लाग्थ्यो, तालपोखरामा डुङ्गा चढ्ने, पार्कमा घुम्नकै लागि टाढा टाढाबाट पर्यटकको उपस्थिति रहन्थ्यो भने अहिले तालपोखरा क्षेत्रको वातावरण शान्त र सुनसान छ”, उनले भने ।

भुजात सिद्धबाबाधाम, रामघाट, राम्चे भ्युटावर, सीताकुण्ड, तातोपानीधामलगायत क्षेत्रमा नयाँ वर्षका दिन भीड लाग्ने गथ्र्यो । यस वर्षको पहिलो दिन आज घरका सदस्यसँग बसेर नयाँ वर्षको शुभकामना आदानप्रदान भइरहेको रामपुरका दीपेन्द्रप्रसाद भट्टराई बताए । “नयाँ वर्षको पहिलो दिन सधैं अन्यत्र घुमफिर गरेर साथीभाइसँग रमाइलो गरेर मनाइन्थ्यो भने यस पटक नितान्त पारिवारिक वातावरणमा मनाइरहेका छौँ”, उनले भने । अधिकांशले सामाजिक संजाल तथा मोबाइलमार्फत कुराकानी, म्यासेज आदानप्रदान गरेर घरभित्रै बसेर नयाँ वर्षलाई स्वागत गरेका छन् । कालीगण्डकीका विभिन्न घाटमा वैशाखे सङ्क्रान्ति नुहाउनेको भीड पनि छैन ।

प्युठानका धार्मिकस्थलमा छैन रौनक

झिमरुक–प्युठानका धार्मिक तथा पर्यटकीयस्थल सुनसान छन् । पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा पनि लकडाउनको प्रभावमा पर्याे । स्वर्गद्वारीम चैत ८ गतेदेखि दर्शनार्थीलाई प्रवेशमा रोक लगाइएको छ । प्रत्येक नयाँ वर्षका दिन करीब सात हजारभन्दा बढी दर्शनार्थी पुग्ने स्वर्गद्वारीम् यस वर्ष लकडाउनका कारण खाली छ ।

स्वर्गद्वारीसंँगै पर्यटकीय तीर्थस्थल गौमुखी, मल्लरानी, भित्रीकोट, ऐरावती, स्नाथान, ओखरकोट, दिहाल्नाचौर, बुलबुलताल, रकगार्डेन, सारीको भूबनोट, लिस्ने लेकलगायत सुनसान छन् । नयाँ वर्षका दिन राँगा, बोका, कुखुरा बलि दिइने धार्मिकस्थल झाँक्री स्थानमा पनि प्रवेश निषेध गरिएको मल्लरानी ४ खंलगाका विजय श्रेष्ठले बताए । नयाँ वर्षको दिन लकडाउन अवज्ञा हुन नदिन विशेष सतर्कता अपनाइएको प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.