कसरी गर्ने स्वास्थ्य बीमा ? कसरी पाइन्छ दाबी भुक्तानी ?

  २०७६ चैत ३० गते १८:५६     सहदेव तिवारी

बिमितले आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदा आर्थिक सुरक्षण मिलोस भनेर बीमा गर्ने गर्छन् । जस्तोसुकै आर्थिक अवस्था भएका व्यक्तिहरु पनि स्वास्थ्य बीमामा सहभागी हुन भन्ने हिसाबले सामूहिक स्वास्थ्य बीमाका योजनाहरु अहिले उपलब्ध छन् ।

अहिले गरेको बीमाले भविष्यमा आउँने स्वास्थ्य जोखिम तथा दुःखमा साथ दिन्छ ।

बैक, अस्पताल, राजदुतावासहरु, गैरसरकारी संस्थाहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु जस्ता निकायले आफ्ना कर्मचारीहरुको अहिले सामूहिक बीमा गर्दै आएका छन् ।

स्वास्थ्य बीमाको सन्दर्भमा बीमा शुल्कको अनुपातमा दाबी निकै धेरै आउँने गर्छ । यसको अर्थ भनेको स्वास्थ बीमा नाफाको लागि मात्र होइन, सेवामा समेत समर्पित छ भन्ने बुझ्न सक्छौं ।

एउटा व्यवसायको बीमा गर्दा त्यसमा अर्को बीमा सेवा थप गर्ने (एकोमोडेट) प्रकृतिका स्वास्थ बीमा अघि बढिरहेको छ । उदाहरणको लागि होटलको बीमा गर्ने क्रममा होटलमा काम गर्ने कर्मचारीहरुको समेत स्वास्थ बीमा गर्न सकिन्छ ।

ट्राभल मेडीकल इन्स्योरेन्स गराउँने बिमितहरु प्रायः धेरै हुने गर्छन् । विदेश जाने क्रममा इन्स्योरेन्स नभई सम्बन्धित देशले भिसा दिदैनन् । एक महिनाका लागि घुम्न जादा पनि स्वास्थ्य बीमा गर्नुपर्छ । यो बीमा एक प्रकारले अनिवार्य जस्तै छ भन्न सकिन्छ ।

के हो स्वास्थ्य बीमा ?

सरकारले अहिले लघु बीमा संचालन गरिरहेको छ । ४ सदस्य भएको परिवारले २५ सय बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक बराबरको बीमा गर्न मिल्ने व्यवस्था छ ।

सस्तोमा १२ सय ५० रुपैयाँ बीमा शुल्क वार्षिक रुपमा बुझाउँनु पर्छ भने महङ्गोमा ३७ हजार ५ सय बीमा शुल्क बुझाउँनु पर्ने बीमा योजना स्वास्थ्य बीमामा छन् । सबैभन्दा सस्तो बीमा शुल्क बुझाउँदा ५० हजार रुपैयाँ बीमांक तोकिएको छ भने सबैभन्दा महङ्गो बीमा शुल्क बुझाउँदा बिमांक रकम १० लाख रुपैयाँसम्म तोकिएको छ ।

यस्तै, अन्य पोलिसी मार्फत बिमितलाई स्वास्थ्य जोखिम परेको अवस्थामा बीमा सुरक्षा दिनु नै स्वास्थ्य बीमा अन्तर्गत पर्छ ।

बीमा कम्पनीहरुले अस्पतालसँग सम्झौता गरेर बिमितलाई उपचार छुट तत्काल प्रदान गर्नेदेखि भर्ना भइसकेपछि बिमितलाई बिल हेरेर दाबी भुक्तानी गराइरहेका छन् ।

साथै, अस्पतालमा भर्ना भएको बिमितले कम्तिमा २० घण्टासम्म अस्पतालमा बिताएको हुनुपर्छ ।

दाबी भुक्तानीको अवस्था

अहिले बीमाको दाबी भुक्तानी लिन निकै सहज छ ।

यसमा २ किसिमले बिमितलाई सहज बनाइएको छ । एउटा भनेको बीमा कम्पनीहरुले नै विभिन्न अस्पतालहरुसँग समन्वय गरेका हुन्छन् । त्यस्तो अवस्थामा बिमितले तोकिएको प्रतिशतमा सम्बन्धित अस्पतालमा छुट पाउँन सक्छन् ।

अर्को भनेको बिमितले उपचार गराउँदा आफ्नो खल्तीबाट पैसा तिर्ने र उपचारपछि इन्स्योरेन्स कम्पनीबाट दाबी भुक्तानी लिने भन्ने हो ।

भुक्तानी दाबी गर्ने अवस्था

सामान्यतः बीमा कम्पनीहरुले आवश्यक कागजात पूरा भएको अवस्थामा दाबी भुक्तानी सहजै गर्दै आएका छन् ।

स्वास्थ्य बीमामा पनि केही कागजात भने आवश्यक पर्छ ।

डाक्टरको प्रेस्कृप्सन लेखिएको पत्रले स्वस्थ्य बीमाको दाबी भुक्तानी मजबुद बनाउँने गर्छ । यस्तै, सोही उपचारकै क्रममा डाक्टरले तोकेको टेष्टहरु उल्लेख गर्नु आवश्यक हुन्छ ।

कुनैपनि बिमितले बीमा कम्पनीमा स्वास्थ्य खर्चका ओरिजिनल बिल पेश गर्नु पर्छ । मुख्यतः यी कुरामा मात्रै ध्यान पुर्याउदा पनि स्वास्थ्य बीमाको दाबी भुक्तानी लिन झण्झट व्यहोर्नु पर्ने अवस्था आउँदैन ।

दाबी भुक्तानी नपाइने अवस्था

पहिलो कुरा त बीमालेखले नसमेटेको कुरामा बीमाको दाबी भुक्तानी पाइदैन । यस्तै, डाक्टरले नलेखेको भिटामिन वा फलफुलको मूल्य बीमाले भुक्तान गर्दैन । डेन्टल बिमितको हकमा कस्मेटिक रुपमा प्रयोगरिने ब्रासेस, क्राउनको पैसा बीमाले दिदैन । यति कुरा बुझेको अवस्थामा स्वास्थ्य बीमा गर्न र त्यसबाट दाबी भुक्तानी लिन समस्या हुँदैन ।

(प्रिमियर इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिवारीसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.