सरकार भन्छः उद्योग चलाउछौं, उद्योगी भन्छन्ः उत्पादन मात्रै गरेर के गर्ने ?

  २०७६ चैत ३० गते १७:४७     राजाराम न्याैपाने

काठमाडौं । कोरोना भाइरसका कारण देश लकडाउन भएको पनि २० दिन भइसक्यो । लकडाउनको कारणले आएको संकटमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति सहज बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्राथमिकता प्रदान गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन लागिएकाे सरकारकाे भनाइ छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पहिलो चरणमा दैनिक उपभोग्य खाद्यवस्तु उत्पादन गर्ने उद्योगहरू सञ्चालन भइरहको बताए ।

दाेस्रो चरणमा कोरोना भाइरसको संक्रमणको परिस्थिति हेरेर विकास निर्माणका लागि आवश्यक कच्चापदार्थ उत्पादन गर्ने उद्योगहरू सञ्चालन हुन्छन्, त्यसपछि अन्य किसीमको उद्योगहरू सञ्चालन गर्दै जाने तयारी भइरहेको भट्टकाे भनाइ छ ।

तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे कोरोना रोकथाम तथा समन्वय समितिकामा उद्योग सञ्चालन गर्ने बारे छलफल भइरहेको बताए । सरकारले उद्याेग संचालनकाे गृहकार्य गरेकाेमा खुसी व्यक्त गरे ।

उद्योगी पशुपति मुरारकाले सरकारले उद्योग सञ्चालन गर्ने तयारी गरेकाे खुसी व्यक्त गर्दै उत्पादित बस्तु बजारमा विक्री गर्न सक्ने परिस्थितिकाे निर्माण हुनुपर्ने बताए ।

‘म आफै उद्योग सञ्चालन गर्नका लागि पास लिन गएको थिए, तर जिल्ला प्रशासनले उद्योग भित्रै भएको कच्चा पदार्थकाे प्रयोग गरेर उद्योग सञ्चालन गर्नुस् भनेर फर्काइदियो, सरकारले माथिल्लो निकायमा मात्रै कुरा गरेर हुदैन, माथिल्लाे तहकाे निर्णय कार्यान्वयन गर्ने तहसम्म पुग्नुपर्छ, यसमा केही समस्या छ,’ नेपाल उद्याेग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत रहेका मुरारकाले भने ।

सरकारले उद्योग सञ्चालन गर भनेर मात्रै नहुने भन्दै उनले उत्पादन गरेको बस्तुले बजार पाउने परिस्थिति निर्माण हुनुपर्ने बताए । विकास निर्माणको काम भयो भने मात्रै उद्योगले उत्पादन गरेको बस्तुहरुले बजार पाउने उनकाे भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले सरकारले मजदुरहरुलाई काममा जाने वातावारण सिर्जन गर्नुपर्ने बताए । उद्योगले उत्पादन गरेको बस्तु बिक्री हुने वातावरण भएमा मात्रै उद्योगीले उद्योग सञ्चालन गर्ने अध्यक्ष माेरकाे भनाइ छ ।

‘उद्योगले उत्पादन गरेको बस्तु भन्डारण गरेर राख्ने ठाउँ सिमित मात्रै छ, उद्योग सञ्चालन गर्दै गर्दा विकामसका काम पनि अगाडी बढे मात्रै उद्योग सञ्चालनको औचित्य रहन्छ, सरकारले उद्योग सञ्चालन गर्नका लागि उद्योगीहरुसगँ छलफल गरेर कसरी अगाडी बढ्नु पर्छ,’ अध्यक्ष मोरले भने ।

केही दिन अगाडी मन्त्रालयले गरिरहेको कामको जानकारी दिंदै मन्त्री भट्टले खाद्यान्न उद्योग ४१ प्रतिशत, तेलहन उद्योग ६३ प्रतिशत, खानेपानी उद्योग ९० प्रतिशत, दुग्ध उद्योग ५० प्रतिशत, पशुपन्छीको दाना उद्योग ३३ प्रतिशत, औषधि उद्योग ७३ प्रतिशत र इंटा उद्योग ४८ प्रतिशत क्षमतामा चलेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.