लकडाउनको मौकामा चोरीतस्करी

  २०७६ चैत २८ गते १७:४८     विकासन्युज

दाङ। दाङ र आसपासका जिल्लामा लकडाउनको मौका छोपी वनमा चोरीतस्करीका घटना बढेका छन् । तस्करले जिल्लाका बजारदेखि टाढा रहेका वन क्षेत्रमा गएर काठ चोरी गरेका छन् ।

जिम्मेवार तहका व्यक्ति नै रुख फँडानीमा संलग्न रहेको पाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । यसपटक अधिकांश नयाँ ठाउँमा तस्करले काठ कटान गरेका छन् । कार्यालय प्रमुख दीपक ज्ञवालीले बन्दाबन्दी शुरुभएदेखि हालसम्म छ वनका वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुबाट सयौँ क्युफिट काठ, तीन ट्रयाक्टर तथा रुख काट्न प्रयोग गरिने औजार बरामद भएको छ । बरामद गरिएको काठ मुचुल्का तयार गरी सुरक्षितसाथ राखिएको प्रमुख ज्ञवालीले बताए।

चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउन अवधिमा बढेको काठ तस्करी, चोरी निकासी र वन्यजन्तु शिकारका घटना बढन नदिन विभिन्न समूह बनाएर वन गस्ती शुरु गरिएको कार्यालयले जनाएको छ ।

वन गस्ती शुरु

अर्घाखाँची– शीतगंगा नगरपालिका वडा नम्वर ११ खयरभट्टीमा काठ चोरी तस्करी बढेको छ । लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी कपिलवस्तुसँग सिमाना जोडिएको क्षेत्रमा तस्करले काठ चोरी गरेका हुन् ।

विश्वमा फैलिएको कोराना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको समयमा खयरभट्टीमा नेपाल सरकारको जनहितमा जारी निर्देशनलाई अवज्ञा गर्दै लुकिछिपी वन विनाश र तस्करी बढेको हो ।

लुकीछिपी काठको तस्करी बढेपछि वन कार्यालयले वन गस्ती शुरु गरेको छ । गस्ती गर्दा सालका ठूला सात रुख काटेर झण्डै रु डेढ लाख मूल्यको चोरी भएको भेटिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव शर्माले बताए । स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई राम्रोसंँग हेरविचार गर्नसमेत आग्रह गरिएको डिभिजन वन प्रमुख शर्माले बताए ।

नदीजन्य वस्तु पनि शिकार

जीतपुर–लकडाउनको मौका छोपी कपिलवस्तुको बाणगङ्गा नदीमा नदीजन्य वस्तुको चोरीतस्करी मौलाउँदै गएको छ । रातभर दर्जनाँै सवारी साधन र भ्याकु मेशिन प्रयोग गरेर डम्पिङ गरिएको करीब चार सय ट्रयाक्टर गिटीबालुवा बाणगङ्गा नगरपालिकाले बरामद गरेको छ ।

नगरका उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत चूरामणी पन्थी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशी, सञ्चारकर्मीसहितको टोलीले स्थलगत अध्ययन गर्दा चोरी गरेको पाइएको हो ।

बाणगङ्गा –८ वालापुरको नदी किनारमै रातभर थुपारिएको नदीजन्य पदार्थ जफत गरिएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले अभियुक्तलाई प्रहरीको जिम्मा लगाइएको बताए । उपप्रमुख अर्यालले यस्तो राष्ट्रिय संकटका बेला रातभर नदी उत्खनन गर्नेलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयसमक्ष जानकारी गराइएको बताए । सो क्षेत्र ठेक्का नलागेको क्षेत्र भएको पनि उहाँले प्रष्ट्याए ।

उक्त क्षेत्रमा करीब चार सय ट्रयाक्टर मिश्रण रातभरमा थुपारिएको थियो । केही दिनयता बाणगङ्गा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको बाणगङ्गा–५ मधौलियाका स्थानीयवासीले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.