सुदूरपश्चिममा १८७ नमूना नेगेटिभ, सहजीकरणकाे लागि विश्व स्वास्थ्य सङ्गठन जाँदै

  २०७६ चैत २८ गते ११:४१     विकासन्युज

धनगढी।  कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ ।

यहाँ आयोजित ‘कोभिड—१९ मिडिया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिए । प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोनाको सङ्क्रमण भएको यस अघि नै पुष्टि भइसकेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिए ।

क्वारेन्टाइनमा बसेका कैलालीमा १७९ र कञ्चनपुरमा ५९ जनाको र्यापिड डाइग्नोसिस टेस्ट कीटमार्फत परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । बिहीबार नै डडेलधुरामा नेपाली सेना र स्वास्थ्य कार्यालयलगायतको टोलीले शङ्कास्पद १९७ बिरामीको नमूना सङ्कलन गरी लगेको छ ।

प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा बिहीबारसम्म ५६ बालबालिका, १७० महिला र दुई हजार २४० पुरुष गरी दुई हजार ४६६ बसेको, १७ विभिन्न अस्पतालको आइसोलेसनमा रहेको र ५७ जना सामान्य उपचारपछि फर्किएको जनाइएको छ ।

कोरोना सङ्क्रमण परीक्षणका लागि चाहिने कीटहरु प्रदेशका नौ वटै जिल्लामा पठाइसकिएकामा कैलाली र कञ्चनपुरमा उक्त कार्य शुरुसमेत भइसकेको कार्कीले जानकारी दिए ।

उपकरण सञ्चालनमा आउँदै

एकसाथ बढी सङ्ख्याका कोरोना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न प्रयोग गरिने ‘आरटिपिसिआर‘ नामको उपकरण जडानको कार्य पनि अघि बढाइएको छ । धनगढीमा रहेको पशु रोग निदान तथा अन्वेषण प्रयोगशालाको भवनमा उक्त उपकरण जडान गर्न लागिएको बताइएको छ ।

यो उपकरण सञ्चालनमा आएपछि दिनमा ९० देखि ९५ वटा शङ्कास्पद नमूनाको परीक्षण गर्न सकिने स्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताउनुभयो । सेती प्रादेशिक अस्पताल धनगढीमा केही दिनदेखि ‘पिसिआर‘ नामको उपकरणबाट कोरोनाका शङ्कास्पद नमूनाको स्वाब परीक्षण भइरहेको छ । यो प्रविधिबाट दैनिक थोरै सङ्ख्याका नमूनाको स्वाब मात्र परीक्षण गर्न सकिने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको टोली आउँदै

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को व्यवस्थापनका सहजीकरणकाे लागि  र क्षमता अभिवृद्धि गर्न डा भीमसिंह टिङ्करीको नेतृत्वमा रहेको टोली केही दिनमा धनगढी आइपुग्न लागेको जनाइएको छ ।

यसैगरी यस कार्यमा सहयोग गर्न र खासगरी कोभिड–१९ का ‘केस’ अनुसन्धानलगायतको कामका लागि दुई सदस्यीय विश्व स्वास्थ्य सङ्गठनको टोली पनि धनगढी आइपुग्न लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.