कञ्चनपुरमा र्यापिड टेष्ट विधिबाट परीक्षण शुरु

  २०७६ चैत २८ गते ११:३४     विकासन्युज

कञ्चनपुर। कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० जना भारतबाट फर्केका व्यक्तिको र्यापिड टेस्ट गरिएको हो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै पाँच स्वास्थ्यकर्मी र होम क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पनि र्यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको सुपरभाइजर जोशीले बताए ।

यस्तै बेलडाँडी गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड टेष्ट गरिएको छ । र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बताए।

वेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेका क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको समेत र्यापिड टेष्ट गरिएको छ । कञ्चनपुरमा भारतबाट फर्केका २३२ जना क्वारेन्टाइनमा छन् ।

सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँँच गर्ने निर्णय गरेको थियो । तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेष्ट विधिबाट परीक्षण गर्न शुरु गरेको हो ।

नेपालमा देखिएका नौ जना कोरोना सङ्क्रमितमध्ये कैलालीमा तीन, कञ्चनपुरमा एक र बाग्लुङमा दुई जना रहेका छन । कैलालीका तीन र कञ्चनपुरका एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.