पाँचथरका स्थानीय तहमा खाद्यान्न मौज्दात राखिने

  २०७६ चैत २८ गते ११:२४     विकासन्युज

काठमाडौं । पाँचथर जिल्लाको सर्वपक्षीय बैठकले सबै स्थानीय तहमा खाद्यान्नको मौज्दात राख्ने निर्णय गरेको छ । जिल्लाका आठवटै स्थानीय तहले स्थानीय तहभित्र खाद्यान्न उपलब्धताको अवस्थाको अध्ययन गरी अपुग हुने स्थानमा सरकारीस्तरबाटै खाद्यान्न खरिद गरी मौज्दात राखिने भएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न लकडाउन लम्बिएको अवस्थामा खाद्यान्नको अभाव हुनसक्ने भएकाले मौज्दात राख्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी अधिकारी विनोदकुमार दाहालले जानकारी दिए ।

बैठकले सबै प्रकारका राहत वितरण गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहहरुले वडाबाट राहत वितरण गर्ने तथा राहत दिन चाहने गैरसरकारी क्षेत्रले स्थानीय तहको माध्यमबाट राहत वितरण गर्ने निर्णय गरिएको जिसअ दाहालले जानकारी दिए ।

प्रदेशसभा सदस्य सीता थेवेको उपस्थितिमा सम्पन्न बैठकमा जिल्लास्थित सरकारी निकाय, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा रेडक्रसका प्रतिनिधि सहभागी थिए ।

खाद्य बैंक पनि

पाँचथर उद्योग वाणिज्य सङ्घले लकडाउन प्रभावितलाई राहत दिन स्थापना गरेको खाद्य बैंकमा सात हजार किलो खाद्यान्न र रु तीन लाख ५३ हजार नगद सङ्कलन भएको छ ।

खाद्य बैंकमा सात हजार १५५ किलो चामल, २७० किलो नुन, २०० लिटर खानेतेल र २४५ किलो दाल सङ्कलन भएको छ । सङ्कलित खाद्य सामग्रीको कूल बजार मूल्य रु पाँच लाख २० हजार रहेको छ ।

यस्तै रु तीन लाख ५३ हजार ८२० नगद जम्मा भएको सङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.