बैतडीमा ४ सय २५ को थ्रोट स्वाब सङ्कलन

  २०७६ चैत २८ गते ११:२०     विकासन्युज

काठमाडौं । क्वारेन्टाइनमा बसेका बैतडीका ४२५ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । बिहीबार पुर्चौंडीको हाट, नकाली र गहताड तथा पञ्चेश्वरको कुलाउ गरी चार ठाउँमा टोली पुगेर स्वाब सङ्कलन गरेको हो ।

स्वाब सङ्कलन गरिएका नागरिकको स्वाबको काठमाडौँमा परीक्षण हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पुर्चौंडी नगरपालिकाको हाटमा १५९, नकालीमा ७१ र गहताडमा ११३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको हो ।

यस्तै पञ्चेश्वरको कुलाउमा ८२ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । उहाँका अनुसार पञ्चेश्वरमा मेलौली नगरपालिकाको क्वारेन्टाइनमा बसेका चार र शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १२ गरी ८२ जनाको पञ्चेश्वरमा स्वाब सङ्कलन गरिएको हो ।

कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली बैतडी आइपुगेको हो । स्वाब सङ्कलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो ।

जिल्लाका अन्य स्थानीय तहमा क्वारेन्टाइनमा बसेका नागरिकको पनि थ्रोट स्वाब दोस्रो चरणमा सङ्कलन गरिने स्वास्थ्य प्रमुख भट्टले बताए । उनीहरुको स्वाब कहिले सङ्कलन गर्ने भन्ने विषयमा टुङ्गो नलागेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अहिले क्वारेन्टाइनमा बसेका चार स्थानीय तहका नागरिकको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।

उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर गरिने र नेगेटिभ आएपछि २१ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख भट्टले बताए । बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.