नेपालमा यी पाँच कारणले कम देखियाे कोरोना भाइरसकाे सङ्क्रमण

  २०७६ चैत २७ गते १३:४०     विकासन्युज

काठमाडाैं । हालसम्म नेपालमा ९ जना व्यक्तिमा मात्र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा राखेर उपचार गरिदैँछ।

बुधवार साँझसम्मको विवरण अनुसार सङ्क्रमणको आशंकामा थप १ सय ३४ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ। नेपालमा भेटिएका सङ्क्रमितमध्ये ८ जना विदेशबाट आएका छन् भने एकजना विदेशबाट आएका व्यक्तिकी आफन्त रहेकी छन्।

नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूका लागि बन्देज नलगाएको कारण देखाउँदै कतिपयले नेपालमा थप सङ्क्रमित हुनसक्ने बताउने गरेका छन्। त्यस्तो अनुमानलाई खण्डन गर्नेहरूले चाहिँ नेपालमा हालसम्म कुनै पनि एक स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिसहरू बिरामी भएको वा मृत्यु भएको नदेखिनुले त्यस्तो अनुमानलाई झूटो सावित गरिदिएको बताउछन्।

विज्ञहरूले चाहिँ नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनु वा कम फैलिनुमा विभिन्न कारणहरूले भूमिका खेलेको हुनसक्ने बताएका छन्।

विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरू यस्ता छन्:

१. परीक्षण नै नहुनु

कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।उनीहरूका भनाइमा जति थोरै परीक्षण भएको छ त्यसैका आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिदैँन।

स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल २ हजार ३ सय ६६ नमुनाको परीक्षण गरिएको छ। त्यसमध्ये २ हजार ३ सय ५७ नमुनामा सङ्क्रमण देखिएको छैन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व प्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनु पर्ने बताउँछन्।

उनी भन्छन्, “यो कुरा त हामीले सुरुदेखि नै भनिरहेका छौँ। विशेषगरी ज्यानुअरीदेखि नेपालमा धेरै पर्यटकहरू आए त्यसबेला नै नेपालमा धेरैमा सङ्क्रमण भएको पनि हुनसक्छ।” त्यस्तो सङ्क्रमण समयक्रममा आफैँ ठीक भएर गएको हुन सक्ने उनको भनाइ छ।

‘नेपाल जर्नल अफ इपिडिमियोलोजी’मा हालै प्रकाशित एउटा लेखमा पनि नेपालमा परीक्षण नै कम भएको उल्लेख गरिएको छ।

परीक्षण

नेपाली र विदेशी गरी ६ जना चिकित्सकहरू मिलेर लेखेको उक्त लेखमा “परीक्षणको अभावमा थोरै मानिसहरूको मात्र सङ्क्रमण पत्ता लागेको हुनसक्ने उल्लेख छ। यसरी कम परीक्षण हुनुमा परीक्षणक काठमाण्डू केन्द्रित हुनु, किटको अभाव र चिकित्सकहरूले नमुना लिन नमान्नुलगायतका कारणहरू रहेको केही सरकारी चिकित्सकहरूले बताए।

तर सरकारले केही दिनअघिदेखि काठमाण्डू बाहिर पनि परीक्षण सेवा विस्तार गरेको छ भने तीव्र रूपमा परीक्षण गर्ने जनाएको छ। कतिपय चिकित्सकहरूले को अनुभवअनुसार उपत्यका बाहिर सेवा विस्तार गरिए पनि लक्षण देखिएकाहरूको थुकको नमुना लिन धेरै चिकित्सकहरू तत्पर देखिएका छैनन्।

त्यसको उदाहरण दिँदै आफ्नो नाम सार्वजनिक गर्न नचाहने एकजना चिकित्सकले भने, “सुदूरपश्चिममा भेटिएका सङ्क्रमितहरूको स्वाब लिनका लागि त्यहाँका चिकित्सकले नमानेपछि नेपाली सेनाका चिकित्सक पठाएर लिइएको थियो। अझै पनि चिकित्सकहरू नमुना लिन तत्पर छैनन्। त्यसैले नमुना सङ्कलन र परीक्षण बढाउने भनेर मात्र हुँदैन।”

२. नेपालीको जीवनशैली

कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुनसक्ने तर्क गर्ने गरेका छन् । तर, उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिदैँन।

कोरोनाभाइरस

उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलने सञ्जालहरू भत्किएको हुनसक्ने उल्लेख गरेका छन्।

उनले भने, “हामीले धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलनबाट रोकेको हुनसक्छ।”

उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नेपालमा नदेखिएको स्मरण गर्दै अन्यत्रको हेरी भारतमा पनि सङ्क्रमणको फैलावट दर कम भएको बताए। पुनले भने, “हाम्रो खानपान र जीवनशैलीले कोरोनाभाइरस फैलने साङ्गलोलाई कतै न कतै चुडाँइरहेको छ भन्ने एउटा दरिलो तर्क हो।

३. नेपालीको प्रतिरक्षा प्रणाली बलियो‘ हुनु

विज्ञहरू नेपालीहरूमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरसको फैलावट कम भएको हुनसक्ने बताउँछन्। परीक्षण कम भएको अवस्थामा पनि नेपालमा कोरोनाभाइरससँग मिल्दोजुल्दो सङ्क्रमण एउटै टोल वा गाउँमा फैलिएको खबर अहिलेसम्म नआएको कुराले त्यसलाई पुष्टि गर्ने उनीहरूको तर्क छ।

उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुनसक्छन्।

डा. मरासिनी भन्छन्, “कतिपय रोगसँग लड्ने क्षमता जाति अनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।”

“अर्को उदाहरण हेर्ने हो भने थाइल्यान्डमा दादुरालाई खासै ठूलो रोगै मानिदैन। त्यहाँका मानिसहरूले त्यसलाई पचाएको जस्तो देखिन्छ। तर हाम्रोमै दादुरा निकै घातक पनि भएको छ।” डा. पुन चाहिँ हाल नेपालमा भेटिएका ९ जना सङ्क्रमितमा एकदमै सामान्य खालका लक्षणहरू मात्र देखिनुलाई त्यसको गतिलो प्रमाण मान्छन्।

उनी भन्छन्, “नेपालमा देखिएका ९ जनामै किन माइल्ड (कम) लक्षणहरू मात्र देखियो त? अहिले टेकुमै हामीले उपचार गरिरहेका बिरामीहरूलाई पनि हामीले राख्नैपर्ने भएकाले मात्र राखेका हौँ। अन्य रोग लागेको थियो भने उहाँहरूलाई घरै पठाइसक्थ्यौँ। कसैमा पनि कुनै गम्भीर लक्षण नै देखिएको छैन।”

तर यसमा नेपालीहरूको प्रतिरक्षा प्रणालीले कति भूमिका खेलेको छ भन्ने चाहिँ अनुसन्धानकै विषय भएको उनले बताए।पुनका अनुसार नेपालीका लागि कोरोनाभाइरस नौलो पनि होइन। किनकी कोरोनाभाइरस एउटा प्रजाति हो र अहिलेको भाइरस सातौँ नम्बरको हो।

सातमध्ये मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मेर्स) अर्थात् मेर्स-सीओभी पनि कोरोनाभाइरसकै कारण लाग्ने गर्छ। पुन उक्त भाइरस मध्यपूर्वमा मात्र धेरै फैलिएकाले त्यहाँ काम गर्ने धेरै नेपालीमार्फत् उक्त भाइरस नेपाल आएको हुनसक्ने ठान्छन्। तर त्यसको परीक्षण नगरिँदा नेपालमा नभेटिएको र नेपालीले उक्त भाइरसलाई पचाएको हुनसक्ने उनको अनुमान छ।

त्यस्तै सार्सका बेलामा पनि नेपालमा नआएको देखिएको छ। त्यसबेला पनि परीक्षण कम हुँदा नदेखिएको हुनसक्ने उनी बताउँछन्। त्यस बाहेकका ह्युमन कोरोनाभाइरस भनिने चारवटा कोरोनाभाइरस रहेका छन्।

पुनले भने “नेपालमा ह्युमन कोरोनाभाइरसहरू जन्मदेखि ६ महिनासम्मका शिशुहरूमध्ये ८ प्रतिशतमा देखिको एउटा अनुसन्धानले देखाएको थियो। त्यसले मलाई कतै हाम्रोमा एन्टीबडीको काम गर्‍यो कि जस्तो लाग्छ।”

४. बीसीजी खोपको प्रभाव

क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोना भाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।

नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ। त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

मरासिनी भन्छन्, “यो विषय त अहिले सबैतिर चर्चामा आयो। खासगरी युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरू पनि लगाउन चलन कम छ। नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौँ। त्यसको प्रभाव पनि हुनसक्छ।”

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु

विशेषगरि कम विकसित देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन मद्दत गर्ने खालका शहरी पूर्वाधारकै कमी हुनसक्ने पनि चिकित्सकहरूको तर्क छ।

कोरोनाभाइरस

विकसित देशहरूमा जमिनमुनी सब वे र मेट्रो रेललगायतका यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि बनेका छन्। “नियमित सफा राखिए पनि त्यस्ता संरचनामा मानिसहरूको भिडभाड भइरहने गर्छ। त्यहाँ कृत्रिम रूपमा तापक्रम त मिलाइएको हुन्छ तर घामको प्रकाश कहिल्यै पर्दैन।

भाइरस त्यस्ता स्थानमा लामो समय टिक्छ भन्ने त प्रमाणित भइसकेकै कुरा हो। नेपालमा भने त्यस्ता संरचना नै छैनन्,” मरासिनी भन्छन्। नेपालमा प्राय: यातायातका साधनहरूमा भिडभाड भए पनि घामको प्रकाशमै हिड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नचढ्ने गरेकाले सङ्क्रमण कम गर्दा सङ्क्रमण कम भएको हुनसक्ने उनको तर्क छ।

त्यस्तै ठूला ठूला लिफ्टलगायतका पूर्वाधारहरूमा कोचिएर मानिसहरू बस्ने तथा एक जनाले छोएको स्थानमा अर्कोले छुने क्रियाकलाप हुने गर्छन्। तर नेपालमा काठमाण्डू भित्र केही स्थानमा बाहेक अन्यत्र यस्ता पूर्वाधार नै नभएकाले पनि सङ्क्रमणको फैलावटको साङ्लो चुडाएको हुनसक्ने उनले बताए।

उनले भने, “त्यति मात्र होइन युरोप अमेरिका तिर हेर्दा चिटिक्क तर पानीको खासै प्रयोग नहुने खालका शौचालयहरू पनि प्रयोगमा हुने गर्छन्। त्यसले पनि सङ्क्रमण फैलाउन भूमिका खेलेको हुनसक्छ। हाम्रोमा त चिटिक्क नभए पनि शौचालयमा पानी अनिवार्य चाहिन्छ।”

सङ्क्रमण फैलाउन भाइरसलाई कति बेरसम्म बचाएर राख्न सक्ने खालका पूर्वाधार छन् भन्नेले पनि भूमिका खेल्ने उनको दाबी छ। बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.