कोरोना परिवेश: चुनौतीलाई यसरी बदलौं अवसरमा

  २०७६ चैत २७ गते १२:३०     सुशीला मानन्धर

आज कोरोना भाइरस महामारीको चपेटामा जसरी हामी परेका छौं, त्यसलाई सहज रुपमा लिन सकिने अवस्था भने अवश्य छैन ।

जुनसुकै घट्नाको पनि राम्रा नराम्रा दुबै पक्ष हुन्छन् चाहे त्यो सानो होस् या विश्वलाई नै हल्लाउन सक्ने बिकराल परिस्थिती । कोरोनाको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ विश्वका धेरै देशले गरेको लकडाउनका कारण धरासायी बन्दै गएको आर्थिक स्थिती, करोडौंको संख्यामा बेरोजगारहरु बढ्नु, मानवको मस्तिष्कमा नराम्रोसँग डरले जरा गाड्नु लगायतलाई यसको नराम्रो पक्षका रुपमा लिन सकिन्छ भने परिवारका सदस्य लगायत आफन्त तथा चिनेजानेका सबैसँग व्यवहारिक तथा भावनात्मक रुपमा सम्बन्ध बलियो बनाउने अवसर प्राप्त हुनु र त्यसैगरी मनपरेको विषयमा पढ्ने, सिक्ने अवसर प्राप्त हुनु लगायतलाई चाहिँ यसको राम्रो पक्षका रुपमा लिन सकिन्छ ।

कोराना नामक विषय अथवा घट्ना जस्तोसुकै भयावह भएता पनि हामिले आफुलाई मानसिक रुपमा सवल बनाइरहनु पर्ने हुन्छ । भनिन्छ नि, रुखको हाँगामा बसेको चरालाई हाँगा भाँचिने डर हुँदैन कारण हो उसले हाँगालाई भन्दा पनि आफ्नो पखेटालाई पूर्ण विश्वास गरेको हुन्छ । ठिक त्यसैगरी तपाईं हामीले पनि आफू माथि पूर्ण विश्वास राख्दै माथि बताइएका राम्रा पक्षतर्फ मात्र आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्ने हो भने अहिलेको विकराल अवस्थामा पनि तपाईंमा भएको उर्जा घट्न पाउने छैन ।

यस लेखमार्फत् केही उपायहरुका बारेमा चर्चा गर्न गइरहेको छु जसको प्रयोगबाट तपाईं कोरोना भाइरसका कारण देखिएका चुनौतीलाई अवसरको रुपमा बदल्नमा सफल हुनुहुनेछ ।

आफूलाई व्यस्त राख्ने

अहिलेको त्रासमय अवस्थामा आफ्नो मनलाई सवल बनाउन एकदम जरुरी छ । होइन भने डिप्रेसन, उच्च रक्तचाप, मुटुको रोग, मधुमेह जस्ता रोगहरु लाग्न सक्ने वा बढ्न सक्ने संभावना प्रवल रहन्छ । मानसिक रुपमा सवल भइरहनका लागि सवैभन्दा राम्रो उपाय हो आफूलाई व्यस्त राख्नु । तपाईं पनि आफूलाई घरभित्रै विभिन्न किसिमका काममा व्यस्त बनाइरहनुहोस् । घर सफा गर्ने, कोठाका सामान तथा लुगाफाटाहरु मिलाउने, गमला तथा बगैंचाका फूलहरुको हेरचाहमा समय दिने लगायतका कामबाट तपाईं आफूलाई व्यस्त राख्न सक्नुहुन्छ ।

ध्यान, योग अथवा व्यायाम गर्ने

अहिलेको फुर्सदको समयलाई भरपूर सदुपयोग गर्दै ध्यान, योग अथवा व्यायाम गर्ने बानी बसाउनुहोस् र साथै परिवारलाई पनि यसका लागि आग्रह गर्नुहोस् । महिलाहरुको सवालमा भन्नुपर्दा चाहिँ उनिहरुले रुपलाई जति ध्यान दिन्छन् शरीरलाई चाहिँ त्यति माया गर्ने गरेको पाइँदैन । सुन्नमा जति नमिठो लागे पनि यो सत्य हो कि शरीर स्वस्थ नभैकन रुपमा मात्र चमक पटक्कै आउँदैन । त्यसैगरी आज कोरोना भाइरसले स्वास्थ्यमा निम्त्याएको संकटबाट पनि हामिले स्वास्थ्य प्रती दायित्वको बोध गरिसकेको अवस्था छ ।

आफ्ना रहर तथा इच्छा पूरा गर्ने

हाम्रो समाजमा प्रायःजसो महिला दिदीबहिनीहरुले (केहि पुरुषहरुले पनि) विभिन्न किमिका सामाजिक मर्यादामा बस्नुपर्ने कारणबाट आफू भित्र पलाएका रहर वा धोकोलाई मनभित्रै दबाउनुपर्ने बाध्यता छ । तर अहिले भने घर भित्रनै बसिरहनु पर्ने भएकोले र बाहिरका कोहि पनि घरभित्र नआउने भएकाले यो समयलाई सदुपयोग गर्दै आफुलाई मनपर्ने संगीत सुन्ने, मनोरञ्जनात्मक फिल्म हेर्ने, ज्ञानबद्र्धक पुस्तकहरु पढ्ने, खुलेर नाच्ने, उपयोगी कुराहरु इन्टरनेटबाट सिक्ने, परिवारसँगै बसेर रमाउने लगायतका कामहरु गर्न सक्नुहुन्छ ।

पर्याप्त मात्रामा घाम ताप्ने

लामो समय लक डाउनमा बस्नुपर्दा हामीले आफ्नो शरीरलाई नजिकबाट नियाल्ने मौका पाएका छौं । यो वेलामा आफ्ना शारीरिक कमी कमजोरीलाई मनन गरी के कस्ता पोषण तत्व बढि या कमी भएको छ इन्टरनेटको सहायताबाट सो आँकलन गर्दै आहार तालिका बनाई अवलम्वन गर्न सकिन्छ । पानी प्रशस्त पिउनाले शरीरलाई फाइदा त पुग्छ नै त्यसैगरी पर्याप्त मात्रामा घाममा बस्ने गर्नाले पनि शरीरले भिटामिन डि प्राप्त गर्न सक्छ ।

व्यवसाय वा जागिरमा प्रयोग हुने कुरा सिक्ने

व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा वा जागीर खाइरहेको अवस्थामा दिनभरी हामिलाई भ्याइनभ्याइ भै रहेको हुन्छ । समय अभावका कारण व्यवसाय वृद्धि गर्न वा आफूलाई योग्य बनाउनका लागि चाहिने कतिपय नयाँ कामहरु सिक्न सकिँदैन । तर अहिलेको समयमा चाहिँ हामी ढुक्क भएर आफ्ना व्यवसायिक उपयोगीमूलक कृयाकलापहरु सिक्न सक्छौं । घरघरमा इन्टरनेट जोडिएको अवस्था छ । यसलाई सहि उपयोग गर्ने बेला पनि यहि नै हो ।

भावानात्मक सम्बन्धलाई प्रगाढ बनाउने

यो समयमा श्रीमान-श्रीमती दुवैले घर व्यवहार सम्बन्धी काम मिलेर गर्ने, बच्चाहरुको पढाई लेखाइमा ध्यान दिने र त्यसैगरी राम्रो अभिभावकत्व निभाउन भरपूर प्रयास गर्ने तर्फ ध्यान दिनुहोस् । साना नानीहरुलाई परिचारिकाले जस्तो हेरचाह गर्ने, असल साथी झैं बनेर उनीहरुको रुची तथा आवश्यकताका कुरामा ध्यान दिने गर्नुहोस् । यदि आफ्ना सन्तान अलि ठूला उमेरका छन् भने एउटा सच्चा प्रेमी झैं उनीहरुसँग मनका कुरा सुन्ने सुनाउने वातावरण सृजना गर्नुहोस् । त्यसैगरी यदी घरमा ज्येष्ठ नागरिकहरु हुनुहुन्छ भने उहाँहरुको कुरा सुन्ने, उहाँहरुको भोगाइलाई मनन गर्दै जीवनमा पाठ सिक्ने लगायतका काम गर्ने गर्नुहोस् ।

माथि बताइएका उपायहरुका अलावा व्यस्तताका कारण नजिक हुन नसकेका साथीभाई, नातागोता, व्यवसायिक सम्पर्कका ब्यक्तिहरु लगायतसँग सामाजिक सञ्जाल मार्फत् सम्पर्क कायम राखी सम्बन्धलाई अझ दिगो बनाउने प्रयास गर्नुभयो भने पनि तपाईं हाल कोरोना संक्रमणका कारण देखिएको चुनौतीलाई सहि रुपमा अवसरमा बदल्नमा सफल हुनुुहुन्छ ।

(लेखिका अर्लि चाइल्ड डेभलपमेन्टकी प्रशिक्षक हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.