कोरोनाको बिरामीलाई सेवा दिन नेपाल एम्बुलेन्स र सीसीएमसीबीच सम्झौता

  २०७६ चैत २५ गते १८:१३     विकासन्युज

काठमाडौं । कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितको उपस्थितिमा भएको हो ।

सीसीएमसीका संयोजक सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पश्चात नासले कोभिड १९ का बिरामीहरु उपत्यकाभित्र ओसारपसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ । यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स संचालन गरिनेछ जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ । साथै कोभिड १९ सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायहरुले हाल संचालनमा भएको १०२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

नासका अध्यक्ष रञ्जीत आचार्यले भने, ‘विश्वभरि फैलिरहेको कोराना भाइरसको महामारीले सबैलाई त्रसित बनाएको छ । यस्तो विपदको घडिमा नेपाल सरकारलाई सहयोग गर्न पाउँदा नेपाल एम्बुलेन्स सेवा आभारी छौं । नासले यसैपनि कोभिड१९ को पुर्व तयारी गरेर स्वास्थ्यकर्मीलाई आवश्यक कोभिड१९ सम्बन्धित तालिम दिई सेवा पुर्याइ नै रहेको थियो, अब झन आधिकारिकता प्राप्त भयो । जस्तो सुकै विपदमा पनि आकस्मिक सेवा सहितको २४ सैतै घण्टा सेवा प्रदान गर्दै आइरहेको र यो कोभिड १९ रोकथाम र यस सम्बन्धि विरामीहरुको सेवाका लागि हामी नेपाल सरकारलाई सहयोग गरि सहकार्य गर्न सदैव तयार छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.