युएईमा सँगै बस्ने १२ मध्ये ७ नेपालीमा कोरोना संक्रमण पुष्टि

  २०७६ चैत २५ गते १६:३९     सुनिता पुडासैनी

काठमाडौं । विदेशी भूमी कोरोना भाइरस (कोभिड १९) को महामारी । सँगै बस्ने आफूसहित ७ जना साथीमा कोरोना पोजेटिभ देखिएपछि मनमा शंका उपशंका बोकेर सँगै बस्नुपर्ने वाध्यता ।

दुवईस्थित २ कोठामा सँगै बस्दै आएका १२ जना नेपालीमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तर, सँगै बसेका अन्य नेपाली भने त्रासमा छन् ।

यो घटना यूएई स्थिति अल अरेबिया ट्याक्सी एलएलसीमा कार्यरत नेपालीको हो । जो विगत तीन हप्तादेखि लकडाउनमा बसिरहेका छन् ।

उक्त कम्पनीमा अगाडी नै खाने र बस्ने खर्च श्रमिकले आफै गर्नुपर्ने थियो । सो नियम अनुसार आफ्नो सहजताका लागि लामो समयदेखि २ वटा कोठामा १२ जना नेपाली सँगै बस्दै आएका थिए ।

सबै जना सोही कम्पनीका ट्याक्सी चालक हुन् । ५ जनालाई संक्रमण भइसकेको छ भने २ जनालाई पनि मंगलबार संक्रमण पुष्टी भएको छ । एक जनालाई भने अस्पतालमा राखिएको सोही कम्पनीमा काम गर्ने धादिङका एक युवकले जानकारी दिए ।

‘त्रासपूर्ण स्थितिमा बस्न बाध्य छौं, दुई वटा कोठा हो, खानादेखि सबै सामाग्री एउटै प्रयोग गर्न विवश छौं, पछिल्लो समय ५ जनालाई कोरोना पुष्टी भएको थियो, अहिले म र अर्काे साथीलाई पनि कोरोना लागेको पुष्टि भयो बाँकी ५ जनाको रिपोट भोलि वा पर्सिमा आउँछ’ उनले भने ।

यो घटनाको बारेमा दुबईस्थिति नेपाली दूतावासमा सम्पर्क गर्दा दूताबासले खासै चासो नदेखाएको उनले बताए ।

स्वदेशमा रोजगारी नपाएर वार्षिक रुपमा लाखौंको संख्यामा नेपाली विदेशिन बाध्य छन् । सो कम्पनीमा कामकै क्रममा भेटिएका १२ जना नेपाली लामो समयदेखि सामूहिक रुपमा दुई वटा कोठामा बस्दै आएका थिए ।

एक हप्ता अगाडी ३ जनामा कोरोना पुष्टि भएसँगै अन्य दुईजनामा र आजमात्र (मंगलबार) दुइ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको उनले बताए ।

१२ जनामध्ये ७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टी भएकामध्ये झापाका एक जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य संक्रमित काठमाडौं, झापा, उदयपुर, मोरङका ती व्यक्तिहरु भने कोठामा नै छन् ।

सिन्धुपाल्चोक २ जना र मोरङ, सुनसरी, नवलपरासीका १/१ को भने कोरोनाको रिपोट आउन बाँकी रहेको छ ।

यो सारा अवस्था बारे दूतावासलाई जानकारी दिन फोन गर्दा तत्काल फोन नलागेको गुनासो गर्दै लामो समयपछि सम्पर्क भएर आफ्नो समस्या सुनाउँदा पनि सहयोगको आश्वासन मात्रै दिएको उनले बताए ।

के गर्दै छन् सम्बन्धित निकायहरु ?

कोरोना संक्रमितको संख्या बढेसँगै रोजगारीका लागि विदेश (प्रवास) मा रहेका नेपालीको अवस्था बारे प्रधानमन्त्री केपी शर्मा ओलीले चाँसो र सक्रियता बढाएका छन् । सोमबार बेलुका युएई सरकार प्रमुखसँग नेपालीको स्वास्थ्य अवस्था तथा उपचारको विषयमा प्रधानमन्त्री ओलीले कुरा गरेका छन् । यूएई सरकारले उपचार तथा स्वास्थ्य सेवाका लागि आफ्नो देशको नागरिकसरह उपचार गराउने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा जानकारी दिएका छन् ।

विदेशमा रहेका नेपालीको सहयोग तथा द्रुतको रुपमा काम गर्ने दूतावास भने खासै सक्रिए देखिएको छैन । पछिल्लो समय आफ्नो देशका नागरिकको स्थिति कस्तो छ भन्ने विषयमा सक्रियता बढाए पनि सम्बन्धित पीडितले राहत महसुस गर्न पाएका छैनन् ।

दुवईस्थित नेपाली दूतावासले अल अरेबिया ट्याक्सी एलएलसी कम्पनीको बारेमा सो देशको सरकारमा कुरा राखेको जानकारी दिएको छ । दूतावासले नेपालीको अवस्था र स्थितिको जानकारी लिन सक्दो पहल गरेको जनाएको छ ।

करिब ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । कोरोना भाइरसको संक्रमण प्रमुख रोजगार गन्तव्यमा नै व्यापक रुपमा फैलिएको छ । कोरोना संक्रमण फैलिएर रोजगारी कटौति जस्ता समस्या देखिएपनि विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिने बैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

अहिलेसम्म कोरोना संक्रमण विश्वका २ सय ८ देशमा फैलिएको छ । यस्तै, नेपालमा पनि कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

युएईमा कोरोना संक्रमितको नेपालीको संख्या १३ पुगेको छ । युएईमा एक नेपाली महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । युएईमा अहिलेसम्म २ हजार ७६ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.