गभर्नरमा अधिकारीकाे पदबहाली, दुबै डेपुटीले गरे प्रशंशा

  २०७६ चैत २५ गते १५:४८     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले चैत २५ गते(आज) पद बहाली गरेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत २४ गतेको निर्णय अनुसार अधिकारी बैंकको रिक्त गभर्नर पदमा नियुक्त भएका हुन् ।

पदबहालीअघि उनले आजै सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंकको गभर्नरले प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ।

गभर्नर अधिकारीको पदबहालीपछि उनको स्वागतमा बैंक परिसरमा एक संक्षिप्त स्वागत कार्यक्रम आयोजना गरियो । उक्त अवसरमा गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने प्रतिबद्धता समेत जनाएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको धारणा गभर्नर अधिकारीले राखे । कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पुयाउँछ भन्ने कुराको कुनै निश्चितता नरहेको र आउने चनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने धारणा उनले राखे । नेपाल राष्ट्र बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गरेका छन् ।

कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको उल्लेख गर्दै गभर्नर अधिकारीको सफल कार्यकालको निम्ति शुभकामना दिए । त्यस्तै डेपुटी गभर्नर शिबराज श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको उल्लेख गर्दै शुभकामना दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका कार्यबाहक अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेशमराज रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशमबहादुर बल्छौडीले नवनियुक्त गभर्नर अधिकारीलाई सफल कार्यकालको निम्ति शुभकामना दिए।

काे हुन् अधिकारी ?

अधिकारी नेपाल राष्ट्र बैंकको सत्रौं गभर्नर हुन् । पूर्वी पहाडको खोटाङमा जन्मिएका अधिकारी वि.सं. २०४२ मा राष्ट्र बैंकको सेवा २०७६ साल चैत २५ गते, मंगलबार प्रवेश गरेका हुन्। उनी बैंकको उप-निर्देशक, निर्देशक, कार्यकारी निर्देशक हुँदै २०६७ पुसदेखि २०७२ पुससम्म बैंकको डेपुटी गभर्नरको जिम्मेवारीमा रहेका थिए भने गभर्नरमा नियुक्त
हुनुपूर्व उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । उनले सन् १९९३ मा भारतको मद्रासस्थित द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सीको अध्ययन पुरा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.