गभर्नर नियुक्तिमा सरकारकाे सानदार निर्णय

  २०७६ चैत २४ गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेकोमा बैंकरले खुसी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण विभागमा लामो समय विताएका पूर्व डेपुटी गभर्नर अधिकारीले केन्द्रीय बैंक बुझेको र अहिलेको संकट समाधानको लागि उपयुक्त विकल्प दिन सक्ने भन्दै बैंकरले खुसी व्यक्त गरेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले अधिकारीको नेतृत्वमा राष्ट्र बैंकले अहिलेको समस्या समाधान गर्न सक्ने र बैंकिङ क्षेत्रलाई अझ परिष्कृत र भरोसायोग्य बनाउन सक्ने भन्दै खुसी व्यक्त गरे ।

‘सिफारिस समितिले गभर्नरका लागि सिफारिस गरेका सबै जना योग्य र काबिल व्यक्तित्व हुनुहुन्थ्यो, राष्ट्र बैंकको नियमन र सुपरीवेक्षण विभागमा बसेर लामो समय काम गरिसक्नु भएका पूर्व डेपुटी गभर्नरलाई नै गभर्नरको रुपमा पाउँदा हाम्रो कुरा सहजै सुनुवाइ हुने र हाम्रा समस्या समाधान गर्न सहज हुने अपेक्षा गरेका छौं,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले भने ।


नेपाल राष्ट्र बैंकको १७औं गभर्नरमा महाप्रसाद अधिकारी


एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले पनि अधिकारीले गभर्नरको रुपमा अहिलेका समस्या समाधान गर्न प्रभावकारी काम अघि बढाउन सक्ने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर कार्यकारी निर्देशक समेत भइसकेका पूर्व डेपुटी गभर्नर तथा राष्ट्र बैंकबाट बाहिर आएपछि लगानी बोर्ड जस्तो महत्वपूर्ण निकायमा बसेर लगानी प्रबर्धन गर्न प्रभावकारी काम गरेको अनुभवले उनलाई गभर्नरको जिम्मेवारी वहन गर्न अझ सहज हुने प्रमुख कार्यकारी अधिकृत केसीको अपेक्षा छ ।

‘लामो समय राष्ट्र बैंकमा काम गर्नुभएका अधिकारीले डेपुटी गभर्नरको रुपमा नीति निर्माणको तहमा बसेर पनि काम गर्नुभएको छ, राष्ट्र बैंकबाट बाहिर आएपछि लगानी बोर्डमा बसेर राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानीकर्तासँग नजिक सम्बन्ध बनाएर काम गर्नुभएको छ, यी दुबै अनुभवले उहाँलाई जिम्मेवारी वहन गर्न अझ सहज भएको छ, नेपालको बैंकिङ क्षेत्रका लागि उहाँको नेतृत्वमा राम्रो र प्रभावकारी काम हुने अपेक्षा गरेको छु,’ प्रमुख कार्यकारी अधिकृत केसीले भने ।

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल राष्ट्र बैंकले पहिलो पटक चार्टर्ड एकाउन्टेन्टलाई गभर्नरको रुपमा पाएकोमा खुशी व्यक्त गरे । ‘हामी सीएहरुको लागि धेरै खुशीको कुरा हो । पहिलो पटक गभर्नरमा चार्टड एकाउन्टेन्ट पायौ’ ढुंगानाले भने–‘डुपुटी गभर्नरबाट अवकास पाउनु भएको मान्छे, अनुभवी हुनुहुन्छ । वित्तीय क्षेत्रको साथै अर्थतन्त्र पनि बुझ्नु भएको छ । उहाँको नेतृत्वमा राष्ट्र बैंकले राम्रो काम गर्ने विश्वास गर्न सकिन्छ ।’


विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’


सिटिजन्सन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पनि नयाँ गभर्नरको नियुक्ती बैकिङ क्षेत्र उत्साहित भएको बताए । ‘उहाँ उर्जाशिल व्यक्ति हुनुहुन्छ । विषय राम्रोसँग बुझेको मान्छे हुनुहुन्छ । उहाँलाई गभर्नरमा नियुक्त गरेर सरकारले शानदार निर्णय गरेको छ । यसले बैंकिङ क्षेत्रमा उर्जा थपेको छ’ पोखरेलले भने ।

माछापुच्छे बैंकमा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नजरमा महाप्रसाद अधिकारी सबैभन्दा उत्तम व्यक्ति हुन् । ‘सरकारले एकदमै सहि निर्णय गर्यो । आजको दिनमा उहाँ नै सबैभन्दा सक्षम मान्छे हुनुहुन्छ’ कोइरालाले भने–‘बैकिङ पनि बुझेको, राष्ट्र बैंक बुझेको, राष्ट्रिय अर्थतन्त्र पनि बुझेको, विश्व अर्थतन्त्र पनि बुझेको र अहिलेको परिवेश पनि बुझेकोले मैले उहाँ गभर्नरको लागि ठिक मान्छे भनेको हुँ ।’

अर्थमन्त्रीसँग विचार मिल्ने, सत्तारुढ दलकाे पनि विश्वासमा लिएर काम गर्न सक्ने खुबी भएकोले महाप्रसादको कार्यकाल सफल हुने ज्योति विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउँछन् । ‘उहाँलाई बैकिङ बुझ्न, राष्ट्र बैंक बुझ्न समय चाहिदैन । उहाँ कुशल प्रशासक पनि हुनुहन्छ’ ज्ञवालीले भने–‘एउटा व्यक्तिले सबै काम गर्न सक्दैन । तर गभर्नरको लागि उहाँ सबैभन्दा उपयुक्त पात्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.