कोरोना संक्रमण नियन्त्रणमा अमेरिकाले जस्तै हेलचेक्र्याई गर्दैछ नेपाल

  २०७६ चैत २४ गते १५:०५     प्रकाश वाग्ले

काठमाडौं । नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको आज ३ महिना १३ दिन पुगेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोेनाको संक्रमण पुष्टि भएको छ भने १ जना उपचारपछि निको भएर घर फर्किसेका छन् । यस्तै, ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म कोरोना संक्रमणको कारण नेपालमा मृत्यु भएको पुष्टि भने भएको छैन । यो समाचार तयार पार्दासम्मको विश्वब्यापी तथ्यांक हेर्ने हो भने अवस्था भयावह छ ।

संराभर करिब १३ लाख संक्रमित भएका छन् भने करिब ७० हजारको मृत्यु भैसकेको छ । र यो संख्या भने तीब्र गतिमा बढिरहेको छ । विश्वव्यापी आँकडालाइ आधार मानेर हेर्ने हो भने नेपालमा संक्रमणको अवस्था हालसम्म सामान्य नै देखिन्छ ।

तर यथार्थमा भने परिस्थिति ठिक विपरित रहेको छ । कोरोनाको संक्रमण चरणलाइ हेर्नेहो भने नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

कसरी फैलिन्छ त कोरोना संक्रमण ?

कोरोना संक्रमणको फैलाबट सुरुवाती चरणमा अत्यन्त सुस्त देखिए पनि तेस्रो चरणपछि एक्कासी बिस्फोट हुनेगेको देखिन्छ । कोरोना संक्रमणको चरणहरु तथा संक्रमणले कसरी लिन्छ त माहामारिको रुप ? संयुक्त राज्य अमेरिकाको उदाहरण हेरौँ ।

२० जनवरीमा अमेरिकामा कोरोनाको पहिलो संक्रमण देखापरेको थियो । उक्त व्यीक्त १५ जनवरीमा चीनको उहानबाट अमेरिकामा गएका थिए । संक्रमण पुष्टि भएको दोस्रो दिन अर्थात २२ जनवरीमा ट्रम्प प्रशासनले अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा गर्यो र चीनबाट आउने सम्पूर्ण यात्रीहरुलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगायो ।

अमेरिकी प्रशासन संक्रमण नियन्त्रणका लागि केही सजग पनि देखियो । यो संक्रमणको पहिलो चरण थियो, जसमा संक्रमित क्षेत्रबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिएको थिथो ।

यो समयमा चीनबाहेक अन्य देशहरुबाट भने अमेरिका प्रवेशमा कुनै प्रतिवन्ध थिएन । सुरुआती दिनमा अमेरिकाले कोरोना संक्रमणको परीक्षणमा समेत खासै ध्यान दिएन, जसबाट विदेशबाट संक्रमित भएर आउने मानिसहरुले उनीहरुको सम्पर्कमा आउने अमेरिकीहरुमा संक्रमण सारे । यसबाट विदेश नगएका तर विदेशबाट आएका मानिसँग सम्पर्कमा रहेका मानिसहरुमा भित्रभित्रै संक्रमण फैलिन थाल्यो । यो संक्रमणको दोस्रो चरण थियो, जसमा संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पर्कमा आएका मानिसमा मात्र संक्रमण देखिन्छ ।

पहिलो संक्रमण देखापरेको १ महिना ६ दिनपछि अथार्त २६ फेब्रुअरीमा क्यालिफोर्नियामा यस्तो व्यक्तीमा संक्रमणको पुष्टि भयो जो न विदेश गएको थियो न विदेशवाट आएको कोहि व्यक्तिसँग सम्पर्कमा नै थियो । र, उसले कुनै संक्रमित व्यक्तिलाई भेटेको पनि थिएन । यो समयसम्मपनि अमेरिकामा परप्क्षणको मात्रालाइ खासै बढाइएको थिएन ।

यो संक्रमणको तेस्रो चरण हो । यो चरणमा संक्रमणको स्रोत पत्ता लगाउन अत्यन्त कठिन हुन्छ तथा संक्रमण सामुदायिकस्तरमा फैलिसकेको हुन्छ ।

हाल अमेरिका संक्रमणको चौथो चरण अर्थात माहामारीको चरणमा छ । जाहाँ गत बिहीवार तथा सुक्रबार (२४ घण्टामा) १५ सयभन्दा धेरै मानिसको मृत्यु भयो । जुन एउटा देशमा एकैदिनमा मृत्यु भएको हालसम्मकै उच्च सङ्ख्या हो । अमेरिका हाल संक्रमणको मामलामा प्रथम स्थानमा छ जुन लगभग साँढे तीन लाखको संख्यामा रहेको छ । यो संख्या क्रमशः दोस्रोे, तेस्रो र चौथो स्थानमा रहेको स्पेन, इटाली र जर्मनी तीनवटै देशका संक्रमित सङ्ख्याको योग भन्दापनि बढि हो ।

कहाँ चुक्यो अमेरिका ?

पहिलाे असफलता

अमेरिकाको पहिलो असफलता भनेको उसले संक्रमितको प्रवेशमा रोक लगाउन नसक्नु नै हो । जब अमेरिकामा कोरोनाको पहिलो संक्रमण देखियो त्यसपछि उसले विदेशयात्रा र आवागमनमा कडाइका साथै धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने थियो, जुन हुन सकेन ।

दोस्रो असफलता

अमेरिकाको दोस्रो गल्ती भनेको संक्रमितको पहिचान तथा सुरुवाती फैलावट नियन्त्रण हुन नसक्नु नै हो । कोरोना संक्रमणको सामुदायस्तरमा फैलावट सुरु भएको संकेत पाउनासाथ पूर्ण लकडाउन गरेर थप फैलावट नियन्त्रण तथा तेस्रो चरणको प्रवेशबाट रोक्न सकिन्थ्यो तर त्यस्तो भएन । मार्चको तेस्रो हप्तासम्म खास कुनै पनि कडाइ गरिएन, जसबाट संक्रमण तेस्रोबाट चौथो चरणमा प्रवेश गर्यो ।

तेस्रो असफलता

अमेरिकाको तेस्रो गल्ती तथा असफलता भनेको उसले लकडाउनको पूर्ण कार्यान्वयन गर्न गराउन सकेन । अमेरिकी नागरिकले लकडाउनलाई छुट्टीको रुपमा लिए ।

स्कुल क्याम्पसहरु बन्द गरियो, कार्यालयहरु बन्द भए । तर, मानिसहरुले यो समयलाई बिदाको समयको रुपमा लिए । छुट्टी मनाउन कोही समुन्द्री किनारमा गए, कोही पिकनिक तथा पार्टीमा रमाउन थाले, जसबाट सामाजिक दुरी (सोसल डिस्ट्यान्स) कायम हुन सकेन र संक्रमण झन तिब्रदरमा फैलियो ।

सरकारले घोषण गरेको प्रतिबन्धको कारण सडक तथा सुपरमार्केटहरुमा भिड लाग्यो, जसबाट तिब्ररुपमा फैलिरहेको संक्रमणमा आगोमा घिउ थप्ने काम भयो ।

चौथो असफलता

अमेरिकाको चौथो गल्ती तथा असफता भनेको उसले पर्याप्त मात्रामा सुरक्षा उपकरणहरुको जोहो गर्न सकेन । पूर्वतयारीमा चुक्यो ।

संक्रमणको फैलावट नियन्त्रणमा चुकेको अमेरिका संक्रमणको उपचारमा समेत चुकेको छ । विषेश गरी मेडिकल उपकरणको सप्लाइ तथा वितरणमा भने व्यापक समस्या उत्पन्न भयो । आपतकालिन समयको लागि भनेर राखिएको उपकरणहरु बेकामको रहेको भन्ने स्वास्थ्यकर्मीहरुबाट आयो ।

संक्रमितको उपचारका क्रममा प्रयोग हुने पीपीइ, मास्क, पन्जा, प्रोटेक्टिभ गगल्स, जुत्तालगायतका उपकरणको अभावमा स्वास्थ्यकर्मीहरु असुरक्षित रुपमा नै उपचारमा संलग्न भए, जसबाट स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुन पुगे ।

केही व्यापारीहरुसँग सामग्रीहरु भएपनि १० गुणासम्म मुल्यबृद्धी भयो फलस्वरुप सम्पूर्ण उपचार क्षेत्र नै अस्तव्यस्त भयो । यसैकार पनि संक्रमणले झन भयाभह रुप धारण गर्यो तथा स्वास्थ्यकर्मीहरुको अभाव हुनथाल्यो ।

पाँचौँ असफलता

अमेरिकाको पाँचौं गल्ती वा असफलता भनेको सरकारको नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नहुनु पनि हो ।

मुल्यबृद्धी नियन्त्रणका लागि सरकारबाट निर्देशनहरु जारी गरियो, हिँडडुलमा प्रतिबन्ध, जमघट, भेला, पार्टीमा बन्देज, सामाजिक दुरी कायम गर्ने, यथाशिघ्र स्वास्थ्य उपकरणको व्यवस्था गर्नेलगायतका निर्देशनहरु सरकारबाट जारी गरियो, जुन व्यवहारमा लागू भएन, कागजमा मात्रै सिमित भयो ।

फलस्वरुप अमेरिका संक्रमणको यस्तो दुस्चक्रका फस्यो कि आगामी इस्टरसम्ममा पुरानै रुपमा फर्किने घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि १ देखि २ लाखको बीचमा मृत्युदरलाई सिमित गर्नसके कोरोना बिरुद्धको लडाइमा अमेरिकाको जित भएको मानिने घोषणा गरे ।

अब नेपाललाई अमेरिकासँग तुलना गरेर हेरौं

अमेरिकाले जस्तै नेपालले पनि सुरुवाती चरणमा संक्रमण नियन्त्रणमा खासै चासो दिएको देखिदैन । चीन बाहिर दक्षिण कोरिया, इरानलगायतका देशहरुमा संक्रमण देखियो । यति मात्रै होइन, नेपालले आफ्नो देशको तीनतिरको सिमाना साझा गर्ने तथा खुल्ला सिमाना रहेको छिमेकी देश भारतमा समेत संक्रमण देखापरिसकेको थियो । त्यति बेलासम्ममा नेपालले सिमानाका तथा अन्तर्राष्ट्रिय उडानमा समेत पूर्णरुपमा रोक लगाएर संक्रमण भित्रिनबाट रोक्न सकिन्थ्यो, जुन गरिएन ।

उल्टो हाम्रो सरकारका मन्त्रीहरु तथा उच्चपदस्त अधिकारीहरु नेपाललाई कोरोना मुक्त देश घोषणा गदै विदेश भ्रमणमा निस्किए । नेपालीमा कोरोनाको प्रतिरोधी क्षमता धेरै छ । नेपालमा कोरोनाको संक्रमण फैलिदैन भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनसमेत पछिपरेनन् ।

विदेशबाट फकिर्नेहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने व्यबस्था गर्नुपर्ने थियो । तर त्यसो गरिएन । अझ स्वास्थ्य मन्त्रीले त संक्रमणले माहामारीको रुप धारण सबै नागरिक आफ्नै क्वारेन्टाइनमा बस्नुपर्ने विवादास्पद अभिव्यक्ति दिन भ्याए ।

विदेशवाट फर्किएका मानिसहरु १४ दिनसम्म एकान्तबास (सेल्फ क्वरेन्टाइन ) मा बस्नेछु भनेर सपथनामा त भरे, तर पालना भने गरेनन् । भेटघाट, जमघट, विवाह, पार्टी, घुमफिर लगायतमा व्यस्त रहे । जसवाट संक्रमण दोस्रो चरणमा पुग्यो ।

राज्यले पनि एकान्तबासको सपथनामा भर्न लगाएर आफ्नो जिम्मेवारी पुरा भएको ठान्यो । पालना गरे नगरेको विषयमा कुनै चासोनै राखेन । राज्यसंयन्त्र कतिसम्म गैरजिम्मेवार भयो भने विदेशवाट कति मानिस नेपाल फर्किए तथा थाक ठेगाना कहाँ हो भन्ने बारेमा पनि सरकारले यकित तथ्यांक राखेन ।

नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको पनि साँढे तीन महिना वितेको छ । आजसम्म अत्यावश्यक मेडिकल उपकरणको समेत जोहो गर्न राज्यले सकेको छैन । उपकरण खरिदमा हिनामिना भएको तथा उक्त प्रक्रियामा तलुकदार कार्यालयदेखि प्रधानमन्त्री सचिवालयका अधिकारीसम्म विवादमा ताएिका छन् ।

मेडिकल उपकरण खरिद प्रक्रिया नै रद्द भएको छ भने अब उपकरण खरिदको जिम्मा नेपाली सेनालाइ दिने चर्चा चलेको छ । अहिले रद्द भएको मेडिकल खरिद प्रकरणमा विवादमा तानिएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नै सेनाले गर्ने भनिएको खरिद प्रक्रियाको पनि नेतृत्व गर्ने भएका छन् ।

हाम्रो सरकार कोरोना नियन्त्रणको लागि विगत १४ दिनदेखि देशभर लकडाउन घोषणा गरेर तथा अन्य काम गरेर बसेको छ । यो बीचमा बृहत रुपमा परीक्षण तथा संक्रमितको पहिचान तथा उपचारमा विशेष पहल गर्नुपर्ने भएपनि त्यतातिर सरकारको ध्यान गएको देखिएको छैन ।

अमेरिका तथा नेपालको घटनाक्रम हेर्दा कोरोना संक्रमणको नियन्त्रणमा नेपाल पनि अमेरिकी पथमा नै अघि बढेको देखिन्छ । कागजी निर्णयमा सिमित सरकार, नियम नमान्ने जनता, परीक्षण तथा संक्रमितको पहिचानमा देखिएको उदासिनता, मेडिकल उपकरणको अभाव, पर्याप्त अस्पताल तथा उपकरणकोे कमी, जस्ता तथ्यले कोरोनाको वैश्विक महामारीलाई नेपालले पनि निम्ता दिए जस्तो आभाश मिलेको छ ।

अमेरिका तथा नेपालमा फरकचै के छ भने अमेरिकन पथमा हुदाहुदै पनि नेपाल संक्रमणमा अमेरिकाभन्दा डेढ महिना पछाडी छ । नेपालमा कोरोना संक्रमण भर्खर दोस्रो चरणमा प्रवेश गरेकोले युद्धस्तरमा काम गरेर नागरिक बचाउन सक्ने मौका सरकारलाई पर्याप्त छ भने हामी आफै पनि सजग भएर सम्भावित संक्रमणबाट जोगिन सक्ने अवसर छ ।

अन्तराष्ट्रिय संचारमाध्यमकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.