तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

  २०७६ चैत २४ गते ११:२२     विकासन्युज

काठमाडौं । कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ । “बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?”, फार्मका सञ्चालक मनोज सिंह चिन्तित हुँदै भने ।

स्थानीय बोलीचालीमा अनारस भनिने भुइँकटहर स्वास्थ्य र स्वाद दुवै दृष्टिले राम्रो मानिन्छ । तीन बिघा लिजको समेत पाँच बिघा जग्गामा सिंहले विगत चार वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आएका छन् । फार्ममा उत्पादित भुइँकटहर यसअघि काठमाडौंको कालीमाटी तरकारी बजारमा लगेर बिक्री गरिँदै आएको थियो । अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्रसमेत बिक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक सिंहले बताए ।

हाल उनको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन् । बाँकी ५० हजार बोटमा जेठमा पाक्ने गरी चिचिला हुर्किरहेका छन् । चैत वैशाखमा रसिलो र गुलियो भुइँकटहरले बजारमा राम्रो भाउ पाउने गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन् ।

सिंहले भुइँकटहर खेतीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट १८ लाख रुपैयाँ र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ कर्जा लिएको बताए । “उत्पादन बजारमा बिक्री गर्ने ‘पिक सिजन’मा लकडाउनले चौपट गर्यो, यसपाली भुइँकटहर खेतीमा २२ लाख रुपैयाँ जति घाटा होला जस्तो छ”, उनले भने । यस वर्षको चैत वैशाखमा भुइँकटहर प्रतिगोटा स्थानीय बजारमा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म र काठमाडौमा ७० रुपैयाँसम्ममा बिक्री हुने उनको अपेक्षा थियो । तर अहिले फार्ममा आउने जोकोहीलाई ठूलो घाटा सहेर प्रति गोटा २५ रुपैयाँ मै बिक्री गरिरहेको जानकारी दिए । फार्ममै आएर फाट्टफुट्ट किन्ने थोरै रहेका छन् ।

लकडाउनले पु¥याएको क्षतिबारेमा गुनासो सुनाउने र मर्म बुझिदिने कुनै निकाय नपाएको उनको गुनासो छ । “भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई समस्या सुनाएको थिएँ”, फार्म सञ्चालक सिंहले भने, “उहाँले काठमाडौँ लैजाने भए गाडीको पास बनाइदिन्छु भन्नुभएको छ ।” कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि हाल झापामा दर्जनौं स्थानमा क्वारेन्टाइन स्थापना गरिएका छन् । राहत सामग्रीको रूपमा चामल र दाल वितरण कार्य भइरहेको छ ।

फार्म सञ्चालक सिंहले क्वारेन्टाइनमा बस्नेहरुका लागि र राहत बाँड्नका लागि भुइँकटहर किनिदिने व्यवस्था हुने हो भने आफूले ठूलो राहत पाउने अपेक्षा राखेका छन् । भुइँकटहर रोग प्रतिरोधी क्षमता बढाउने फल भएको हुँदा यसको सेवन स्वास्थ्यवर्धक हुने उनको जिकिर छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.