कामना सेवा विकास बैंकद्वारा विभिन्न ठाउँमा राहत वितरण, कहाँ कहाँ ?

  २०७६ चैत २३ गते १८:४६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई राहत वितरण गरेको छ । संस्थाले लकडाउनको परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटवलमा आश्रित उक्त बालबालिका असहाय व्यक्तिहरुलाई राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको हो ।

संस्थाका सञ्चालक भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गरेका थिए ।

यसैगरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनीहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप-महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसैगरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नंं. ७ लाई ६४ हजार रुपैयाँ बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

यसैगरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेका थिए ।

साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो ।

बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेको छ । लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यी जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.