एफएनसीसीआईले श्रमिकलाई वितरण गर्यो ४ हजार प्याकेट राहत सामग्री

  २०७६ चैत २३ गते १७:०९     विकासन्युज


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले लकडाउनबाट प्रभावित श्रमिक/कामदारहरुलाई पहिलो चरणमा चार हजार प्याकेट राहत सामग्री वितरण गरेको छ । महासंघले कोरोना भाइरस(कोरोना १९) संक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका समयमा बिहान बेलुका हातमुख जोर्न समस्या भएका श्रमिकहरूको सहयोगार्थ सो मात्राको सामग्री सहयोग गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले आज काठमाडौंमा एक कार्यक्रमबीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गरेका हुन् । राहत सामग्रीमा प्रतिप्याकेट १० केजी चामल, १ केजी दाल रहेको छ ।

उक्त राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका वडा नम्वर ३१, मध्यपुर थिमि वडा नम्वर ३ र ६, काठमाडौं महानगरपालिका वडा नम्वर १६, उत्पिडित सुकुम्वासी वस्ती, वडा नम्वर ११ थापाथली, अन्तराष्ट्रिय आप्रवासी समुदाय, डोलेश्वर महादेव समिति, कामनपा वार्ड नम्वर १ र २०, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी समेतको टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम सबै, नवजिवन चिल्ड्रेन होम हात्तिवन ललितपुर लगायतका संघ संस्था मार्फत वितरण गर्ने गरी सो अवसरमा हस्तान्तरण गरियो ।

राहत सामग्री वितरण कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू जय सिवाकोटी, आकाश अधिकारी, रविन श्रेष्ठ र नेपाल विज्ञापन संघका पदाधिकारीहरूको सहभागिता थियो । बाँचौ र बचाऔं अभियानमा महासंघद्वारा कोरोना भाइरस विरुद्ध सहयोग अभियान २०२० संचालन गरी राहत सामग्री संकलन कार्य जारी गरिएको छ ।

महासंघले यस अघि ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ५० लाख नगद सहयोग गर्नुका साथै बाँकी १ करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू सहित जम्मा १ करोड ५० लाख बराबरको सहयोग गर्ने घोषणा गरेको थियो ।

सोही सहयोग अन्तर्गतनै महासंघले केही समय अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) हस्तान्तरण गरेको थियो भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ ।

महासंघले संस्थागत सामाजिक उत्तर्दायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.