लकडाउनमा कार घरमै थन्कियो ? यस्ता सावधानी अपनाउँदा बिग्रिन पाउँदैन

  २०७६ चैत २३ गते १५:५१     विकासन्युज

सरकारले अहिले लगातार १५ दिनसम्म गरेको लकडाउनका कारण हामी आफ्नो घरमै बस्न बाध्य छौं । लकडाउन फेरी लम्बिन्छ या लम्बिँदैन भन्ने सन्दर्भमा अहिले नै केहि भन्न सकिने अवस्था पनि छैन ।

हामी घरमै बसेपछि हाम्रो कार पनि घरमै रहने भयो । यसरी कारलाई लामो समयसम्म नकुदाइकन घरमै राख्नुपर्दा त्यसमा विभिन्न किसिमका खराबीहरु देखा पर्न सक्दछन् । आज तपाईंलाई यस लेख मार्फत् कारलाई कण्डिसनमा राख्ने वारेमा केही सुझाव दिन खोजिएको छ ताकी भविष्यमा कार कुदाउनु पर्दा तपाईंले कुनैपनि किसिमको झन्झट बेहोर्नु नपरोस् ।

बाहिरी भागको सफाई गर्ने

कारको बाहिरी भागलाई राम्रोसँग सर्फ पानीले धुनुहोस् । यदि कारलाई सफा नगरीकनै राखिन्छ भने बाहिरी धुलोहरु कारको रंगसँग टाँसिन पुग्नेछन् । याद राख्नुहोस्, कारलाई धोइसकेपछि एउटा सुक्खा कपडाले राम्रोसँग पुछ्नु पर्ने हुन्छ ।

इन्टेरियरको सफाई गर्ने

हामी अक्सर कारमा चाउचाउ, चक्लेट, बिस्कुट लगायतका कुराहरु राख्ने गर्दछौं । यसरी राखिएका कुराहरु पोखिएका वा छरिएका पनि हुन सक्छन् । छरिएका चिजहरु कुनाकाप्चामा पसेर कारका एसोसरिजहरु जाम हुन सक्छन् । त्यसैले लामो समय सम्म कारलाई थन्क्याएर राख्नुपरेको खण्डमा कारको इन्टेरियरको सफाइमा ध्यान पुर्याउनु राम्रो हो ।

ग्यारेजमा पार्क गर्नें वा कभरको प्रयोग गर्ने

आफ्नो कारलाई हावाहुरी र धुलोबाट जोगाउन जरुरी हुन्छ । त्यसैगरी अहिलेको विदामा केटाकेटीहरु पनि घरमै खेल्ने कुद्ने भएको हुनाले कारमा कोर्न पनि सक्छन् । यी सम्पूर्ण समस्याबाट जोगाउनका लागि आफ्नो कारलाई ग्यारेजमा पार्क गर्ने गर्नुहोस् । यदी घरमा ग्यारेज छैन भनेपनि कार कभरको प्रयोग गरेर यस्ता समस्याहरुबाट मुक्ति पाउन सकिन्छ ।

ह्याण्ड ब्रेक नलगाउने

भिरालो बाटो वा भिरालो जमीन बाहेकका अवस्थामा लामो समयसम्म कार पार्क गर्नुपरेको खण्डमा ह्याण्ड ब्रेकको प्रयोग नगर्नुहोस् । यदि गरिन्छ भने ब्रेक प्याड वा ब्रेक शू लक हुने सम्भावना रहन्छ ।

ब्याट्रीलाई सुरक्षित राख्ने

लामो समयसम्म कार प्रयोग नगरिँदा ब्याट्रीमा समस्या आउन सक्छ । त्यसैले बढिमा पनि ४ देखि ५ दिनमा कारको इञ्जिन १५ मिनेटसम्मका लागि अन राख्नुहोस् । यसरी इञ्जिन अन भइरहँदा कारको ढोकाहरु खुला राख्न नबिर्सिनुहोस् । यसका साथै इञ्जिन अन भएकै वेलामा कारका लाइटहरु, एसी, वाइपरलगायत चिजहरु पनि चेक गर्नुहोस् ।

ग्रिप र राइड क्वालिटीमा ध्यान दिने

यदि कारलाई एउटै स्थानमा लामो समयसम्म राखिन्छ भने टायरमा फ्ल्याट स्पट विकसित हुन सक्छन् । यसले कारको ग्रिप र राइड क्वालिटीमा नकारात्मक असर गर्दछ । यस्तो समस्याबाट बच्नका लागि केहि दिनको अन्तरालमा कारलाई थोरै अघि पछि लैजाने गर्नुपर्दछ ताकि टायरको अवस्थामा परिवर्तन आओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.