कोरोनाले प्रभावित : ‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौं’

  २०७६ चैत २२ गते १४:०१     विकासन्युज

काठमाडौं । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण काम ठप्प भएपछि हातमुख जोर्न समस्यामा परेका विपन्न परिवारलाई जिल्लाका स्थानीय सरकारले सहयोग गर्न शुरु गरेका हो ।

यसैक्रममा जिल्लाको बन्दीपुर गाउँपालिकाले छ वटै वडाका विपन्न परिवारको तथ्याङ्क सङ्कलन गरी खाद्यान्न वितरण शुरु गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार स्थायी र अस्थायी रुपमा बसोबास गरिरहेका असहाय, अपाङ्ग तथा मजदूरका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

गाउँपालिकाले विभिन्न वडाका ५१७ परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाको वडा नं. मा १८५, वडा नं ४ मा १४८ र वडा नं. ५ मा १८४ गरी कुल ५ सय १७ परिवारलाई प्रतिपरिवार ३० किलो चामल वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । बाँकी तीन वटा वडाको तथ्याङ्क सङ्कलन भइरहेको छ । “हामी जनताको नजिकका सरकार हौं, जनतालाई भोकै मर्न दिँदैनौं”, अध्यक्ष थापाले भन्नुभयो, “छाक टार्न समस्यामा परेका जनताको जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो ।”

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले दैनिक ज्यालादारी गरेर गुजारा टार्ने मजदूर परिवारको विवरण निकालेर खाद्यान्न सामग्री वितरण शुरु गरिएको जानकारी दिए । छाक टार्न मुस्किल मजदूरलाई खाद्यान्न सहयोग गर्न वडाले राहत कोष खडा गरेको छ । उक्त राहत कोषमार्फत् वडाका २३० मजदूर परिवारलाई प्रतिपरिवार ३० किलो चामल, दुई किलो दाल, एक पोका नुन, एक लिटर खाने तेललगायत सहयोग गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाका अन्य वडामा पनि विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । खाद्यान्न वितरणका लागि नगरपालिकाले मापदण्ड बनाएको छ । दुई जनासम्मको परिवारलाई १० केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन वितरण गरिने भएको छ । चार जनासम्मको परिवारलाई १५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन तथा चार जनाभन्दा बढी सदस्य रहेका परिवारलाई २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन वितरण गरिने सुवेदीले बताए।

त्यस्तै आँबुखैरेनी गाउँपालिकाले पनि वडा नं. ५ बाट खाद्यान्न वितरण शुरु गरेको छ । उक्त वडाका १२० जनालाई चामल, दाल, नुन, खाने तेललगायतका सामग्री वितरण गरिएको र अन्य वडामा पनि वितरणको तयारी थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।

व्यास नगरपालिकाले पनि ज्यालादारी मजदूर र विपन्न परिवारलाई खाद्यान्न वितरणका लागि तथ्याङ्क सङ्कलन सम्पन्न गरेको छ । प्रत्येक वडा कार्यालयमार्फत् प्राप्त भएको करिब तीन हजार ५०० जनालाई खाद्यान्न वितरण गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जनाएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–५ मा रहेका सामुदायिक वनले गाउँपालिकाको राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त वडामा रहेको दश वटा सामुदायिक वनले ५०/५० हजार रुपैयाँ उठाएर राहत कोषमा सहयोग गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम अन्त्य गर्न सरकारले गरेको लकडाउनबाट सिर्जित समस्याबाट पीडित भएका नागरिकलाई राहत उपलब्ध गराउन राहत कोषमा रकम सहयोग गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ देवघाटका अध्यक्ष भोजराज नैनावस्तीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.