केहि महिनामै नेपाल भित्रिँदैछन् यी बाइक तथा स्कुटर, सम्भावित मूल्यसहित

  २०७६ चैत २२ गते ११:५०     विकासन्युज

काठमाडौं । विभिन्न मोटरसाइकल ब्राण्डहरुले हरेक वर्ष नेपाली बजारमा आफ्ना नयाँ मोडेलहरु भित्र्याउने गरेका छन् । यसरी भित्रिएका मोटरसाइकल मध्ये धेरैजसो भारतबाटै आएको पाइन्छ । अहिलेसम्मको ट्रेन्डलाई विचार गर्दा प्रायजसो मोटरसाइकल भारतमा लञ्च भएको २ देखि ३ महिना पछि मात्र नेपाल आइपुगेको देखिन्छ ।
यस वर्ष पनि भारतमा विभिन्न मोटरसाइकलहरु सार्वजनिक भएका छन् । ती मध्ये नेपाली बजारमा प्रवेश गर्न तम्तयार भएर बसेका केहि मोटरसाइकलका वारेमा चर्चा गर्नेछौं ।

रोयल इन्फिल्ड कन्टिनेन्टल जिटि ६५०


कन्टिनेन्टल जिटिलाई रोयल इन्फिल्डको एउटा अलग्गै टेस्ट भएको मोटरसाइकलको रुपमा लिने गरिएको छ । यो एउटा क्याफे रेसर मोटरसाइकल हो र यस मोटरसाइकलको सवल पक्षको रुपमा यसको इञ्जिनलाई लिइन्छ । यस मोटरसाइकलमा ६४९ सीसी प्यारालल–ट्वीन इञ्जिन दिइएको छ जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क प्रदान गर्दछ ।

यस मोटरसाइकलमा भएको डवल सिलिण्डर इञ्जिनले भाइब्रेसन विल्कुलै उत्पन्न गर्दैन भने यसमा दिइएको ओयल तथा एयर कुलिङ्ग टेक्नोलोजीले इञ्जिन तात्ने समस्यालाई पनि कम गर्दछ । त्यसैगरी ६–स्पिड गियरबक्स भएको यस मोटरसाइकलमा स्लिपर क्लच पनि समावेस गरिएको छ ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले कन्टिनेन्टल जिटि ६५० लाई छिट्टै नै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । लञ्च पश्चात् सो बाइकको नेपाली बजार मूल्य १३ लाख रुपैयाँ को हाराहारी पर्ने अनुमान गरिएको छ ।

टिभिएस आइक्युव


टिभिएसले केहि महिना अघि मात्र भारतमा ‘आइक्युव’ नामक इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो । सो स्कुटरमा ४.४ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले स्कुटरलाई ७८ केएमपीएचको उच्चतम् गति प्रदान गर्न सक्दछ । त्यसैगरी यसमा रहेको २.२५ किलोवाटआवर लिथियम–आयन ब्याट्रीले फुल चार्जमा ७५ किलोमिटरको यात्रा तय गर्न सक्दछ । टिभिएसले यस स्कुटरको खरिदमा ५ एम्पियरको एउटा चार्जर पनि प्रदान गर्नेछ जसमार्फत् यस स्कुटरलाई चार्ज गर्न सकिन्छ । आइक्युवमा ‘इकोनोमी’ र ‘पावर’ गरी दुइओटा राइडिङ्ग मोडहरु प्रदान गरिएका छन् ।

आइक्युवको मुल्य भारतमा १ लाख १५ हजार रुपैयाँ तोकिएको छ । भारतमा एक लाख रुपैयाँ पर्ने मोटरसाइकल अथवा स्कुटर नेपाल आइपुग्दा त्यसको मूल्य ३ लाख २५ हजार रुपैयाँको हाराहारी पर्न जान्छ । यो तथ्यका साथै इलेक्ट्रिक वाहनमा नेपाल सरकारले दिएको उल्लेखनीय भन्सार छुटलाई समेत आधार मान्ने हो भने आइक्युवको नेपाली बजारमूल्य २ लाख ५० हजार रुपैयाँ देखि ३ लाख रुपैयाँसम्म कायम हुने सम्भावना रहेको छ ।

बजाज चेतक

बजाजको ‘चेतक’ एउटा इलेक्ट्रिक स्कुटर हो जसमा ३ किलोवाटआवरको लिथियम–आयन ब्याट्री समावेश छ र जसलाई फुल चार्ज हुन ५ घण्टाको समय लाग्छ भने ८० प्रतिशत चार्ज हुन साढे ३ घण्टा र २५ प्रतिशत चार्ज हुन १ घण्टाको समय लाग्दछ । बजाजको दावी अनुसार यो ब्याट्रीको आयु ७० हजार किलोमिटर रहेको छ अर्थात् स्कुटरले ७० हजार किलोमिटरसम्मको यात्रा गर्दासम्म पनि यो ब्याट्री सकुशल नै रहिरहन्छ ।
यस स्कुटरले ४.०८ किलोवाट (५.४७ एचपी) को उच्चतम पावर र १६ एनएमको उच्चतम टर्क उत्पादन गर्दछ । चेतकमा ‘इको’ र ‘स्पोर्ट’ गरी दुई राइडिङ्ग मोडहरु दिइएका छन् । यस स्कुटरले इको मोडमा ९५ किलोमिटरको माइलेज प्रदान गर्दछ भने स्पोर्ट मोडमा चाहिँ ८५ किलोमिटरको माइलेज प्रदान गर्दछ ।

सो स्कुटरको सुरुवाती मूल्य भारतमा १ लाख रुपैयाँ तोकिएको छ । चेतक पनि एउटा इलेक्ट्रिक स्कुटर भएको हुनाले नेपाली बजारमा यसको मूल्य २ लाख ५० हजार रुपैयाँ देखि लिएर ३ लाख रुपैयाँ सम्म पर्न जाने सम्भावना प्रवल रहेको छ ।

केटिएम ३९० एडभेन्चर

केटिएमको ‘३९० एडभेन्चर’ एउटा एडभेन्चर टुरर मोटरसाइकल हो जसमा लामो दुरीको यात्रामा सहजै गुड्न सक्ने विशेषता रहेको छ । यसको अफरोड एवं अनरोड दुवै क्षमता गज्जबको रहेको छ । खासमा यो बाइक अनरोड एवं अफरोड दुवैका लागि राम्रो नै मानिन्छ । केटिएमले यस बाइकमा स्विचेवल ट्र्याक्सन कन्ट्रोल र बाइ–डाइरेक्स्नल क्विक सिफ्टर समावेश गरेको छ ।

यस मोटरसाइकलमा ३९० ड्युकमा समावेश भएकै ३७३.२ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन जडान गरिएको छ जसले ४४ एचपीको पावर र ३७ एनएमको टर्क उत्पादन गर्दछ । केटिएमको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले बताए अनुसार नेपालमा ३९० एडभेन्चरलाई भित्र्याउने कुरा चलिरहेको तर यति समय भित्र ल्याइसक्ने भनेर चाहिँ किटान गरिसकिएको छैन । कम्पनीले सो मोटरसाइकलको नेपाली बजार मूल्य वारे पनि केहि बताएको छैन ।

भारतमा यो मोटरसाइकल ३९० ड्युक भन्दा ५२ हजार रुपैयाँले महँगो रहेको छ । त्यसैगरी नेपालमा हाल ३९० ड्युकको मूल्य ८ लाख ३० हजार रुपैयाँ तोकिएको छ । यी दुई तथ्यलाई आधार मान्ने हो भने ३९० एडभेन्चर नेपाली बजारमा आइपुग्दा यसको मूल्य ९ लाख रुपैयाँ देखि लिएर १० लाख रुपैयाँ सम्म पर्न जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.