मास्क, स्यानीटाइजर, पीपीइ र टेष्टिङ बुथ बन्न थाले नेपालमा, तर कच्चा पदार्थ र श्रमिककाे अभाव

  २०७६ चैत २२ गते १५:१५     विकासन्युज

 

काठमाडौं । काेराेना संक्रमणले महामारीकाे रूप लिएसँगै नेपालमा मास्क, स्यानीटाइजर, पीपीइ लगायत स्वास्थ्य सामाग्रीकाे उत्पादनकाे लागि निजी क्षेत्रले सकारात्मक प्रयास थालेका छन् । तर, कच्चा पदार्थ र जनशक्तिकाे अभावमा यी बस्तुहरूकाे उत्पादन कठिन भएकाे उनीहरूले बताएका छन् ।

पछिल्लाे समय स्टील, सिमेन्ट लगायत उत्पादनशील उद्योगकाे क्षेत्रमा सफलता चुम्दै आएकाे शंकर ग्रुपले विश्वभर संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्ने भरपर्दाे विकल्पको रुपमा रहेको मास्क उत्पादन गर्ने उद्योग स्थापना गरेकाे छ । तर उद्योग स्थापना गरिए पनि कच्चा पदार्थ र कामदारको अभावमा उत्पादन सुरु गर्न नसकिएको शंकर ग्रुपका प्रबन्ध निर्देशक सुलभ अग्रवालले जानकारी दिए ।

‘विश्व बजारमा नै मास्कको अभाव भएको देखियो, संक्रमणबाट बच्च परपर्दाे विकल्पको रुपमा रहेको मास्क उत्पादन गर्नको लागि उद्योग स्थापना पनि गर्यौं, तर विश्व बजारमा आवश्यक कच्चा पदार्थ पनि पाइएन, काम गर्ने कर्मचारी पनि पाइएन, त्यसैले उद्योग संचालमा ल्याउनै सकेनौं,’ प्रबन्ध निर्देशक अग्रवालले विकासन्युजसँग भने ।

आफूहरुले दैनिक १ लाख पिस मास्क उत्पादन गर्ने क्षमताको उद्योग स्थापना गरेकाे उनले बताए । विश्वका अधिकांश देशमा भएका लकडाउनका कारण ढुवानीमा समस्या भएको तथा विश्वभर उच्चमाग रहेका कारण मास्क उत्पादनको लागि चाहिने कच्चा पदार्थ पाउन पनि नसकिएकाे उनले सुनाए ।

त्यस्तै, आइएमएस ग्रुपले पनि मास्क उत्पादन शुरू गरेकाे छ । दैनिक ७५ हजार  पिस मास्क उत्पादन क्षमताकाे उद्याेग लगाए पनि जनशक्तिकाे अभागले दैनिक ५० हजार पिसभन्दा कम उत्पादन भइरहेकाे ग्रुपका अध्यक्ष दीपक मल्हाेत्राले बताए । मास्क उत्पादनमा प्रयाेग हुने फेव्रिक शुरूमै ५ टन ल्याएकाेले अहिले अभाव नभएकाे तर स्लास्टिक किन्न नपाएकाेले उत्पादन बन्द हुने अवस्था आएकाे उनले बताए ।

 

नेपाली उद्याेगहरूले साधारण प्रकृतिकाे मास्क उत्पादन गर्न थालेपनि मेडिकाल मास्क उत्पादन हुन नसकेकाे जानकारहरू बताउँछन् ।

विश्वभर काेराेना महामारी फैलिएपछि र नेपाली बजारमा उपभाेक्ताले किन्न नपाउने अवस्था देखिएपछि नेपाली व्यवसायीहरूले मास्क, स्यानीटाइजर, पीपीइका सामान उत्पादन गर्ने उद्याेग खुल्न थालेकाे औषाधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए ।  स्यानीटाइजर उत्पादन गर्नका लागि पहिलाे पटक उद्याेगिहरूले अनुमति मागेकाे र चैत महिनामा मात्र ९ वटा उद्याेगलाई अनुमति प्रदान गरिएकाे उनले जानकारी दिए ।

मास्क र पीपीइका सामाग्री उत्पादन गर्ने बारेमा पनि व्यावसायीहरूले अनुमति माग्न आएकाे तर यसकाे लागि औषाधि व्यवस्था विभागकाे अनुमति नचाहिने जानकारी दिएपछि उनहरू फर्किएकाे बताए ।

उता महाविर पुनकाे अगुवाइमा स्थापना भएकाे राष्ट्रिष आविस्कार केन्द्रले पीपीइ उत्पादन थालेकाे छ ।अहिलेसम्म आविष्कार केन्द्रले ७५० पीपीइ बनाइसकेकाे पुनले बताए । तर महाविर पुनकाे लागि पनि दक्ष जनशक्ति कच्चा पदार्थकाे अभाव भएकाे छ ।

‘कच्चा पदार्थ पनि पाउँदैन । जनशक्ति पनि पाउँदैन । घरघरमा गएर अनुराेध गरेर काम गर्ने केही मान्छे ल्याएर काम गरिरहेका छाैं’ पुनले विकासन्युजसँग भने ।

उनले दक्षिण काेरियामा काेराेना जाँचकाे लागि विकास गरिएकाे प्लास्टिक बुथकाे  फाेटाेसहित ट्वीट गर्दै लेखेका छन्, ‘फोटोमा देखाए जस्तो चिज बनाउने साहस भएको कोहि ईन्जिनियरहरु हुनु हुन्छ? मेरो सम्पर्क  ९८४१५९२३६१ हो । यस्तो चिज बनाउन राष्ट्रिय आविष्कार केन्द्रले पूर्ण सहयोग गर्नेछ। दक्षिण कोरियामा यस्तो बुथ बनाएर कोरोनाको बिरामीहरुलाई जाच्ने गरेको रहेछ । खासै गाह्रो देखिएन यस्तो चिज बनाउन । लौ त ।

ट्वीट गरिएपछि केही इन्जिनियरहरू सम्पर्कमा आएकाे र काम पनि शुरू भएकाे उनले बताए । ‘दक्षिण काेरियामा काेराेना जाँचकाे लागि विकास गरिएकाे प्लास्टिक बुथ बनाउने कार्यमा सफलता मिलिरहेकाे छ । हामीले काम शुरू गरेकाे छाैं । त्यस्ताे बुथ बनाउन सकिन्छ । केही दिन पर्खनुहाेस्’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.