राष्ट्रपतिकाे सन्देशः ढुक्क रहनुस्, काेराेनासँगकाे लडाईँ जितिनेछ

  २०७६ चैत २१ गते २०:१४     विकासन्युज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले काेराेना भाइरस (काेभिड १९) सँगकाे लडाईँ जितिने बताएकी छन् । शुक्रबार साँझ विश्वव्यापी काेराेना महामारीका सन्दर्भमा देशवासीका नाममा सन्देश जारी गर्दै उनले  काेराेनासँगकाे लडाईँ जित्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यस लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको बताइन। त्यसैले सबैलाई ढुक्क भएर बस्न अनुराेध गरेकी छन् । उनले कोरोनाबाट संक्रमित भई उपचाररत सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।

उनले कोभिड–१९ कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन्।  जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी हुन्।

संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल  अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले  नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र  फैलन नपाएको  स्पष्ट पारिन।

लकडाउनले गर्दा हाम्रो दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए  पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन। ‘आआफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ’, सन्देशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.