देश लकडाउनमा: कुलमानलाई भने भ्याइनभ्याई

  २०७६ चैत २१ गते १७:१८     सन्ताेष राेकाया

काठमाडौं । जब घरमा झ्याप्प बत्ति निभ्छ अनि राजधानीवासीले कुलमान घिसिङ गयो भन्छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारीको जिम्मेवारी सम्हालेपछि राजधानीको लोडसेडिङको अन्त्य गर्ने लोकप्रिय काम गरेर जनमानसको मन जित्न सफल भएको नाम हो कुलमान घिसिङ । उनी देशलाई विद्युतको आत्मनिर्भर बनाउनको लागि अहोरात्र खटिरहेका छन् ।

लोडसेडिङको मारमा खेपेर दिक्दार महसुस भएका आम नागरिकहरु अहिले घिसिङको जयजयकार गर्छन् । घिसिङको हरेक गतिविधि र कामप्रति सबैको चासो बढ्दै गएको छ । उनी अहिले एक सेलिब्रेटीका नाममा पनि परिचित छन् ।

देश अहिले लकडाउनमा छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गइरहेको बेला सरकारले यसको जोखिम कम गर्न लकडाउनको घोषणा गरेको छ ।

सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन गरेसँगै सबै कर्मचारी फुर्सदिला बनेका छन् । तर, कुलमान घिसिङलाई भने यो लकडाउनले झन बढी व्यस्त बनाएको छ ।

फेरिएन दैनिकी

लक डाउनको समयमा कुलमानको दैनिकी कसरी बित्छ ? खाने–पिउने तालिका के छ ? कुन बेला उठ्छन्, कुनबेला सुत्छन् ? घरपरिवार र अफिसलाई कसरी समय दिन्छन् ? याे सबैको चासो र जिज्ञासाको विषय हो । किनभने जनताले उनलाई एक आइडलका रुपमा बुझ्छन् ।

देशमा भइरहेको लकडाउनले कुलमान घिसिङको दैनिकीलाई खासै फरक नपारेको उनी बताउँछन् । किनभने उनी आफ्नो नियमित कार्य पहिले जस्तै गरिरहन्छन् । उनको पहिले जस्तै अफिस जाने र घर आउने काम रोकिएको छैन । अहिले पनि आफु दिनभर कार्यलयमै व्यस्त हुने उनी बताउँछन् ।

विकासन्यूजसँगको टेलिफोन वार्तामा उनी भन्छन, ‘कामको चापले गर्दा धेरैजसो समय कार्यालयमा बित्छ, लकडाउनको समयमा घरपरिवारसँग घुम्ने भन्ने कूरा पनि भएन, तर पहिलेकोभन्दा परिवारलाई अलि बढी समय दिने गरेको छु ।’

कुलमानको एकदिन

कुलमान बिहानै पाँच बजे उठ्छन् । एक लिटर मनतातो पानी पिउँछन्, बाथरुम जान्छन्, फ्रेस हुन्छन् । शरीर हल्का भएपछि व्यायाम गर्छन् । केही आसनको योगाभ्यास गर्छन् । लकडाउन हुनुभन्दा पहिले योगाभ्यास अलि कम गर्थे । अहिले अलि बढी गर्ने गरेको उनी बताउँछन् । त्यसपछि नुहाउँछन् । कालो चिया पिउँदै आज दिउसो के गर्ने भनेर बिहानै टाइमटेवल बनाउँछन् ।

देशमा लकडाउन भएको बेला कोही पुस्तक पढ्ने, कोही घर परिवारसँग टाइमपास गरेका भिडियोहरु पछिल्लो समय सामाजिक सञ्जालमा आइरहेका छन् । तर, उनी भने पहिले जसरी नै काम गरिरहेको बताउँछन् । बिहान दश नबज्दै अफिस पुग्छन् । बेलुका पाँच बज्दा पनि उनी कार्यालयकै काममा व्यस्त हुन्छन् । जबसम्म उनी आफुले गर्न लागेको काम सकाउँदैनन् त्यतिसम्म आफ्नो सिटबाट हलचल गर्दैनन् ।

बरु उनलाई आजभोली भेट्न आउने मान्छेको कमि भएको छ । त्यो समयमा अफिसमा बसेर नीति नियमका काम बनाउने तथा टुङ्ग्याउने गरेको उनी बताउँछन् । दिनभरको कामको धपेडी र थकानसँगै उनी १० बजे नै सुति हाल्छन् । लकडाउनले आफ्नो दैनिकीमा असर नपारेको उनी बताउँछन् ।

कर्मचारी अनलाइनबाटै काम गर्दै

कुलमान घिसिङ एक असल व्यवस्थापक भनेर पनि चिनिन्छन् । अहिले कोरोनाको त्रास र सरकारले लकडाउन घोषणा गरेसँगै प्राधिकरणका कर्मचारीहरुले  घरमा बसी अनलाइनबाटै काम गरिरहेको उनी बताउँछन् ।

‘अफिसमा आवश्यक काम पर्यो भने जो आवश्य छ उसैलाई बोलाइन्छ, नभए उनीहरु अहिले घरबाटै काम गरिरहेका छन्, कुनै ठाउँ लाइन गयो वा तार काटियो भने नो लाइटका साथीहरु हुनुहुन्छ,’ उनले भने ।

सबै कर्मचारीहरु मिलेर देशभरको विद्युत आपुर्ति सहज बनाउने काममा जुटिरहेकाे उनको भनाइ छ । सबैलाई अफिस आउन बाध्यात्मक नभएको उनले बताए । प्राधिकरणले यस अघि गर्ने काम कुनै पनि नरोकिएको उनले बताए । पहिले जुन–जुन ठाउँमा काम भइरहेको थियो त्यो नियमित नै भइरहेको उनको भनाइ छ ।

आफुले पनि सबै कर्मचारीहरुसँग समन्वय गरेर आफुले पहिले गर्न नभ्याएका कामहरु गरिरहेको उनले बताए । बिहान बेलुका पढ्नेदेखि परिवारलाई समय दिने र अफिसको काम नरोकिने तरिकारले सेडुअल मिलाएर निरन्तर काम गरिरको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.