बैंंकर गौतमको लकडाउन दिनचर्याः अफिसको धेरै काम घरबाटै, फुर्सदमा उपन्यास पढ्ने

  २०७६ चैत २१ गते ११:१६     विकासन्युज

काठमाडौं । सामान्य अवस्थामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको दिनचर्या तनाव र व्यस्ततामै बित्छ । विहान ९ बजेसम्ममा बैंकमा पुगिसकेका सीईओहरु बेलुका छिटोमा पनि ८ बजेपछि मात्रै बैंकबाट बाहिरिन्छन् ।

यो बीचमा भेटघाट, छलफल र बैंकिङ व्यवसायकै बारेमा उनीहरुको ध्यान केन्द्रीत भएको हुन्छ । कुन ऋण उठेन, कुन फाइल तत्काल अघि बढाएर कर्जा प्रवाह गरिहाल्ने, कुन क्षेत्रमा लगानी बढाउने, कुन क्षेत्र अब बुम हुन सक्छ, सरकार र नेपाल राष्ट्र बैंकले ल्याएको कुन नीति नियमले के कस्तो असर पर्छ भन्ने जस्ता विषय नै बैंकरको अगाडि धेरै आइरहेका हुन्छन् ।

तर, कोरोना भाइरस (कोभिड १९) को विश्वभर संक्रमण विस्तार भएपछि अधिकांश देशले लकडाउन गरेर सर्वसाधारणलाई घर बाहिर निस्कन प्रतिबन्द लगाइरहेका छन् । नेपाल सरकारले पनि देशभर लकडाउन गरेर सर्वसाधारणलाई आआफ्नै वासस्थानमा रहन भनेको छ ।

यसरी लकडाउन घोषणा गरिएपनि अत्यावश्यक सेवा भने रोकिएको छैन । अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था र निकाय संचालनमै छन् । तर यस्तो सेवा प्रदान गर्नेहरु पनि सिमित कर्मचारीको भरमा अत्यावश्यक कामको लागि मात्रै कार्यालय संचालन गरिरहेका छन् ।

बैंकिङ सेवा अत्यावश्यकभित्र परेपनि सेवा प्रवाह सहज छैन । सरकारले घोषणा गरेको लकडाउन र महामारी संक्रमणको सन्त्रासका कारण बैंकका कर्मचारी कार्यालयमा आउन जान अप्ठेरो छ । यस्तै, बैंकका शाखा खुलेपनि सेवाग्राही सेवा लिन जान पाएका छैनन् । त्यसैले बैंकिङ क्षेत्रमा पनि लकडाउनको प्रत्यक्ष असर परेको छ ।

बैंकका सीईओहरु पनि यो बेला कार्यालय कम गइरहेका छन् । अतिआवश्यक काम पर्यो भने मात्रै कार्यालय जाने गरेको सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतम बताउँछन् ।

‘अतिआश्यक काम पर्यो भने मात्रै कार्यालय जाने गरेको छु, नत्र घरबाटै अनलाइन माध्यमबाट समन्वय गरी सेवा प्रवाहमा ध्यान दिइरहेको छु, समय तोकेर शाखाहरु खुलेका छन्, कतै केही समस्या भयो वा समन्वय गर्नुपर्ने अवस्था आएमा सहजीकरण गर्ने काम भइरहेको छ,’ सीईओ गौतमले विकासन्युजसँग भने ।

त्यसो भए घरमा उनी कसरी समय विताइरहेका छन् त ? हामीले सीईओ गौतमसँग यसबारेमा जान्ने प्रयास गरेका थियौं ।

उनले घर बसेका बेलामा अन्य समय हेर्न नभ्याइने प्रकृतिको बैंकको काम गर्ने गरेको बताए । यस्तो काम भनेको खासगरी बैंकको नीतिनिर्माण तहको काम हो ।

लकडाउनको समयमा घरमा बस्दा केही फुर्सद भने उनले बताए । काम नपरेको बेलामा घरको काम गर्ने र गर्न नभ्याइएका व्यक्तिगत कामहरु पनि गर्ने गरेकोको उनले बताए ।

मदनमणि माट्सापको उपन्यास, ब्रम्हाण्ड सम्बन्धी अध्ययनमा रुची

उनले फुर्सदको समयमा अध्ययन गर्नको लागि लकडाउन हुने अनुमानका आधारमा केही पुस्तक किनेर ल्याएका थिए । अहिले ती पुस्तकको अध्ययनमा पनि उनको समय वित्ने गरेको छ ।

‘लकडाउन हुन्छ कि लागेको थियो, त्यसैले केही साताअघि आफ्नो रुचीअनुसारका केही पुस्तक किनेको थिएँ, अहिले ती पुस्तकको अध्ययन पनि गर्दैछु,’ उनले भने ।

उनले निकै पहिला मदनमणि माट्साप (मदनमणि दिक्षित) को उपन्यास माधवी पढेका थिए । गौतमलाई मदनमणि माट्सापको अर्काे उपन्यास पढ्ने रहर लागेको भएपनि समयका कारण भ्याइरहेका थिएनन् । अहिले मौका जुरेको छ ।

‘मदमणि माट्सापको भूमिशुक्त उपन्यास पढ्दैछु, पहिलादेखि नै यो उपन्यास पढ्ने रहर भएपनि अहिले मौका मिलेको छ,’ उनले भने ।

यस्तै, उनी अहिले डटी सेक्रेट अफ रिभर्स, फाइभ बिलियन इयर्स अफ सोलिचुट्स जस्ता पुस्तक पनि पढिरहेका छन् । पुस्तक अध्ययन बाहेक उनी अहिले कसमस पोसिबल वल्र्डस डकुमेन्ट्री पनि हेर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.