माक्सकाे लागत ८ रुपैयाँ, बिक्री ७ रुपैयाँमा, उपभाेक्ताकाे हातमा सित्तैमा

  २०७६ चैत २० गते २०:५५     विकासन्युज

 

काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ ।

‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको पत्तै हुँदैन’ विकासन्युजसँगको कुराकानीमा पहिलो वाक्य हो उनको ।

घर–फ्याक्ट्री आवतजावत नियमित छ उनको । पछिल्लो समय उनी माक्स उत्पादन र वितरण कार्यमा व्यस्त छन् ।

‘बधाई छ तपाईलाई संकटको बेलामा पनि राम्रो व्यवसाय थाल्नु भयो । नाफा पनि राम्रो भएको होला’ विकासन्युज प्रतिनिधिले उनको तारिफ गरे ।

तर दीपकले आधा स्वीकार गरे, आधा अस्वीकार ।

‘बधाई दिनुभयो । धन्यवाद । तर नाफा लिएर व्यापार गरिरहेको छैन । घाटा खाएर समाज सेवा गरिरहेको छु’ उनले जवाफ दिए ।

किन र कसरी ? प्रश्न स्वभाविक भयो ।

‘हामीले शुरुमा निःशुल्क वितरण गर्ने प्रयोजनको लागि निम्बस ग्रुपबाट प्रति माक्स ७ रुपैयाँमा किनेर वितरण थालेको थियौं । पछि भारतबाट हामीले माक्स बनाउने मेसिन ल्यायौ । शुरूमा त्यसकाे पनि लागत प्रति माक्स ७ रुपैयाँ आयो । हामीले लागत मूल्यमा नै बेच्ने निर्णय गर्यौ’–उनले भने ।

‘माक्स मेसिनले बनाउँछ । त्यसको लागत ५ रुपैयाँ २५ पैसा पर्छ । माक्सको इलास्टिकको जोडिको ७५ पैसा पर्छ । इलास्टिक मान्छेले सीउनु पर्छ । प्रतिमाक्स सिलाउने खर्च शुरूमा  १ रुपैयाँ मात्र थियाे । हामीले ७ रुपैयाँ मूल्य तय गर्यौं’ उनले प्रष्ट्याउदै भने–तर पछि कामदारले १ रुपैयाँमा काम मानेनन् । माक्समा इलास्टिक लगाउने मान्छे नै नपाएपछि प्रतिपिस २ रुपैयाँ दिएर काम लगाएको छु । अहिले लागत प्रतिपिस ८ रुपैयाँ परेको छ । तर घाटा नै खाएर भएपनि ७ रुपैयाँमा बेचिरहेको छु ।’

घाटा कहिलेसम्म खाने त ? प्रश्न फेरी उठ्यो ।

‘आईएमएस ग्रुपले संस्थागत सामाजिक उत्तरदाहित्व सम्झेर काम गरिरहेकाे छ । यो हाम्रो नियमित विजनेश पनि होइन । जब बजारमा सर्बसाधारणले सहज रुपमा र सरल मुल्यमा माक्स पाउन थाल्छन्, हामी उत्पादन बन्द गछौं’ उनले भने ।

अहिले माक्स उत्पादन गरिरहेको मेसिन एक गार्मेन्ट व्यवसायीसँगको साझेदारीमा राखिएको उनले बताए । अवस्था सामान्य भएपछि उक्त उद्योगले कपडा उत्पादन थाल्ने उनको भनाई छ । उक्त उद्योग लगाउन र ५ टन कच्चा पदार्थ किन्दा करिब १ करोड रुपैयाँ लगानी भएको उनले बताए ।

उनकाे कम्पनीले हाल दैनिक ५० हजार पिस माक्स उत्पादन गरिरहेकाे छ । माक्स बनाउन प्रयोग हुने फेब्रिक बाँकी भएपनि त्यसको इलास्टिक (कानमा बाँध्ने डोरी) सकिन लागेकोले उत्पादन नै राेकिने हाे कि भन्ने उनकाे चिन्ता छ

उपभोक्तालाई सित्तैमा

८ रुपैयाँ लागत, ७ रुपैयाँमा बिक्री, उपभोक्तालाई सित्तैमा । सुन्दा अपत्यारिलो लाग्छ तर दीपककाे माक्स उत्पादन र बिक्री चक्र यसरी नै चलिरहेकाे देखिन्छ । प्रतिपिस ८ रूपैयाँ लागत भएकाे माक्स आफूले प्रति पिस ७ रुपैयाँ बेचिरहेकाे र उपभाेग गर्नेले सित्तैमा पाईरहेको उनले बताए ।

‘हामीले ७ रुपैयाँमा बेचेको माक्स बजारमा बिक्री भईरहेको छैन’ उनले प्रष्ट्याउदै भने –‘सरकारी अस्पताल, स्वास्थ्य सेवा विभाग, प्रहरीलाई गरी करिव १ लाख पिस सित्तैमा वितरण गर्यौ । बाँकी सबै निजी अस्पताल, बैंक, नगरपालिका, गाउँपालिका वा सामाजिक संस्थालाई बेचिरहेका छौं । अस्पताल र बैंकहरुले आफ्ना कर्मचारी निःशुल्क वितरण गरेका छन् । नगरपालिका, गाउँपालिकाले आफ्ना कर्मचारीलाई र स्थानीयलाई निःशुल्क वितरण गर्न लगेका छन् । र, अरू माक्स सामाजिक कार्य गर्ने संस्थाहरुले लगेका छन् ।’

आईएमएसमा माक्स किन्न अडर गर्ने संघ संस्थाको चाप उच्च छ । कारण पनि उनले खुलाए । ‘एउटा संस्थाले हजार पिस माक्स सित्तैमा बाँढ्दा उसको खर्च ७ हजार रुपैयाँ मात्र हो । थोरै खर्च गरेर धेरै जनालाई सहयोग गर्न पाएकोमा संघ संस्थाका प्रतिनिधिले माक्स वितरणालाई प्राथमिकता दिएका छन् ।  ‘हामीसँग किनेर उपभोक्तालाई बेच्छु भन्नेलाई हामी बेच्दैनौ । फ्रिमा बाँड्नेको माग हुँदासम्म मात्र उत्पादन गर्छौं’ उनले भने ।

अहिले दैनिक १० लाख माक्स उत्पादन गरे पनि बिक्ने उनले बताए । तर आफूहरुले दैनिक ५० हजार पिस मात्र उत्पादत तथा बिक्री वितरण गरिरहेको उनको भनाई छ । कम्पनीको उत्पादन क्षमता दैनिक ७० हजार पिस भए पनि हाल दैनिक ५० हजार पिस मात्र उत्पादन हुने गरेकाे उनले बताए ।

उत्पादन कार्यमा आइएमएस ग्रुपले लगानी गरेको छ भने वितरणको काममा नेपाल चेम्बर अफ कमर्शले समन्वय गरेको उनले बताए । अनलाईन बिक्रेता सस्तो डिलसँग सामान किनेर सेलपेबाट भुक्तानी गर्नेलाई १० वटासम्म माक्स सित्तैमा दिइने पनि उनले बताए ।

लकडाउन तपाईलाई लागेको रहेनछ, लेखकले विट मार्दै भने ।

छैन । उनले दैनिकी पुरै सुनाए ।

‘विहान उठेर एक्सरसाइज गर्छु । नुवाइधुवाई गर्छु । हलुका ब्रेकफाष्ट लिन्छु  त्यसपछि दिउँसो के के गर्ने प्लान बनाउँछु ।  खाना खाएर सबैभन्दा पहिला ललितपुरस्थित लुभुमा रहेको फ्याक्ट्रीमा जान्छु । संक्रमणको जोखिम नहोस भनेर अहिले ड्राइभर राखेकाे छैन, आफै ड्राइभ गर्छु । एक टिप सामान लिएर अफिसमा झर्छु । दिनभर अफिसको काम गर्छु । साँझ घर फर्कन्छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.