लकडाउनकाे असर : कृषि उत्पादनले बजार पाएन

  २०७६ चैत २० गते १८:२०     विकासन्युज

काठमाडौं । कोरोनो भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ ।
रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन अण्डा उत्पादन भइरहेको छ । तर बजारमा बिक्री गर्न नपाउँदा समस्या परेको सञ्चालक भुवन अर्याल बताए । “अण्डा उत्पादन भइरहेको छ, बिक्री गर्न पाइएको छैन, १२० कार्टुन अण्डा मौज्दात छ तर बिक्री नहुँदा व्यवसाय धान्नै मुस्किल परेको छ” उनले भने । उनको फार्ममा हाल तीन हजार लेयर्स जातको कुखुरा छ ।

दाना मात्रै दैनिक छ बोरा खुवाउन पर्छ तर अण्डा बेच्न नपाउँदा ठूलो समस्या परेको हुँदा बिहान साँझको समय तालिका बनाएर बिक्री गर्ने वातावरण नगरपालिकाले मिलाइदिन उनले आग्रह गरे । लकडाउनको अवस्थामा कृषकलाई दाना आयात गर्न कठिनाइ परेको छ । सवारीसाधन आवतजावतमा रोक लगाएपछि दाना आयात गर्न नपाउँदा पशुपालक तथा कुखुरापालक कृषकलाई व्यवसाय धान्नै गाह्रो परेको छ ।

रामपुर–८ रानीबासका हरिप्रसाद आचार्यको फार्ममा दैनिक सात पेटी अण्डा उत्पादन हुन्छ । लकडाउनले गर्दा फार्ममा रहेको ६० पेटी अण्डा बिक्री गर्न नपाएको उनको गुनासो छ । भैँसीपालक कृषक नरनारायण अर्यालले पनि लकडाउनको शुरुका चार दिन दूध दुहेर भैँसीलाई नै खुवाउन बाध्य भएको जनाए । दूध बिक्री गर्न बजार जान नपाएपछि करिब ६०० लिटर दूध दुहेर भैँसीलाई नै खुवाएको उनले बताए । “शुरुका चार दिन धेरै समस्या भयो, दूध दुहेर भैँसीलाई खुवाउनुपर्ने स्थिती पनि आयो, अहिले दिनको एक पटक मात्रै बिहानै ६ नबज्दै डेरी पसलमा लगेर दिने गरेको छु” अर्यालले भने ।

उनको फार्ममा हाल ५९ वटा उन्नत जातका भैँसी छन् । उनले दैनिक १६० लिटर दूध बिक्री गर्छन। लकडाउनले भैंसीलाई दानापानी खुवाउन कम गर्नुपरेको उनको गुनासो छ । रामपुर ६ तालपोखराका तरकारी उत्पादक कृषक नारायणप्रसाद भण्डारीले उत्पादन गरेका काक्रो रातको समयमा व्यापारीलाई घरमै बोलाएर बिक्री गरेको जनाए ।

लकडाउनले गर्दा कृषकहरुलाई उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या परेको छ । बिहान साँझ समय तोकेर उत्पादन भएका वस्तु बिक्री गर्ने वातावरण मिलाउन कृषकको अनुरोध छ । गाईलाई खुवाउन दाना र घाँसको अभाव भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ को तातोपानीधाममा एक महिना अघिबाट मात्र सञ्चालनमा आएको गौशालामा हाल १३५ गाई छन् । गाईलाई खुवाउन दाना घाँसको अभाव परेपछि स्थानीयसँग घाँसपात दाना जुटाइदिन आग्रह गरिएको गौशाला संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

रामपुर नगरपालिकाभित्र छाडा छाडिएका र हेयका रुपमा लिइएका गाईलाई संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको हो । अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी २०/२० लाख रकम नगरपालिकाले गौशाला निर्माणमा सहयोग गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.