टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

  २०७६ चैत २० गते १५:४२     विकासन्युज

मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष मार्चमा ६८ हजार ७ सय २७ थान कार बिक्री गरेको टाटाले गत महिना ११ हजार १२ थान मात्र कार बिक्री गरेको थियो ।

व्यावसायिक प्रयोजनाका सवारी साधनको बिक्रीमा पनि ९० प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५० हजार ९ सय १७ थान सवारी साधन बिक्री गरेकामा यस वर्षको मार्च महिनामा ५ हजार ३  सय ३६ थान मात्र बिक्री भएको छ ।

टाटा मोटर्सका अनुसार सवारी साधनको विदेश निर्यातमा पनि ६८ प्रतिशतले कमी आएको छ । गत वर्ष मार्च महिनामा ५ हजार ६ सय १९ थान सवारी साधन निर्यात भएकामा यस वर्ष मार्चमा १ हजार ७ सय ८७ थान मात्र निकासी भएको छ ।

टाटा मोटर्सका यात्रुबाहक सवारी साधनको व्यवसायसम्बन्धी इकाईका प्रमुख मयन्क पारिकले कोरोनाभाइरसको प्रकोपका साथै भारतमा गरिएको बन्दाबन्दी (लकडाउन) ले सवारी साधनको बिक्रीमा ठूलो असर परेको बताए ।

उनले टाटाका नयाँ उत्पादनप्रति उपभोक्ताले चासो देखाइरहेको र कोरानाका कारण भएको लकडाउन खुल्नासाथ बिक्रीमा सुधार हुने अपेक्षा गरिएको जानकारी दिए । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.