इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्छ, अनावश्यक खपत नगरौंः एनटीए

  २०७६ चैत १९ गते १२:०१     नबिन पाेखरेल

काठमाडौं । इन्टरनेट सेवामा ग्राहकहरुको माग बढेको कारण इन्टरनेटको गति कम भएको नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले जनाएको छ ।

सरकारले घोषण गरेको लकडाउनको कारण धेरैले इन्टरनेट प्रयोग गर्दा गति कम भएको र अत्याधिक प्रयोगका कारण कुनैपनि बेला सेवा अवरुद्ध हुनसक्ने भएकाले अनावश्यक काममा इन्टरनेटको प्रयोग नगर्न एनटीएले प्रयोगकर्तालाई सुझाएको छ ।

अहिले इन्टरनेटको गतिलाई असर पार्ने अन्य केही कारण नभई प्रयोगकर्ताहरुबाट माग ह्वात्तै बढेका कारण इन्टरनेटको गतिमा असर पुगेको एनटीएका सूचना अधिकारी सन्दिप अधिकारी बताउँछन् ।

‘माग बढेकै कारण इन्टरनेटको गतिमा असर पुगेको हो, केही समयपछि यो समस्या आफै हटेर जान्छ तर तत्कालका लागि भने अनावश्यक प्रयोग गर्नु हुँदैन’, एनटीएका सूचना अधिकारी सन्दिप अधिकारीले विकासन्युजसँग भने ।

तत्काल समस्या समाधान हुँदैन

अनावश्यक हाई स्ट्रिमीङ्ग भिडियो नहेर्न तथा गेम नखेल्न एनटीएले सुझाएको छ । तत्कालका लागि व्याण्डविथको कमी भएकाले माग अनुसारको आपूर्ति गर्न गाह्रो भएको हो ।

अहिले कोरोना भाइसरको कारण सरकारले लकडाउन गरिरहेको अवस्थामा घरबाटै इन्टरनेट चलाउनेहरु बढेको एनटीएले बताएको छ । लकडाउनभन्दा बाहेकको अवस्थामा अन्य काममा व्यस्त हुने प्रयोगकर्ताहरु अहिले इन्टरनेट प्रयोगमा व्यस्त छन् । घरभित्र रहदा विभिन्न प्रकृतिका काममा इन्टरनेट चलाईने भएपनि एनटीएले आवश्यकतामा मात्रै चलाउँन अनुरोध गरेको छ ।

व्याण्डविथ नै कमी भएको र अत्याधिक प्रयोगकर्ता भएको कारण इन्टरनेटको गति कम भएकोले यसलाई बढाउने विकल्प नभएको एनटीएको भनाइ छ ।

नेट स्लो भए उपाए छैन

तत्कालका लागि नयाँ व्याण्डविथ राख्न सम्भव नभएको कारण देखाउँदै इन्टरनेट सेवा भन्ने बित्तीकै बलियो बनाउँन नसकिने एनटीएको तर्क छ । सेवा लिदै आएका ग्राहकहरुको हकमा सकेसम्म कुनै किसिमका अप्ठेरो आउँन नदिने अधिकारी बताउँछन् ।

विगत केही महिनादेखि विश्वमा देखिएको कोरोना भाइरसका कारण विश्वव्यापीमा रुपमा इन्टरनेट प्रयोग बढेको र नेपालमा पनि यही अवस्था रहेकोले कुनै पनि बेला सेवा नै अवरुद्ध हुन सक्ने एनटीएले जनाएको छ । सोही कारण प्रयोगकर्ताले सो कुरालाई बुझेर महत्वपूर्ण काममा मात्र इन्टरनेट प्रयोग गर्न अनुरोध गरेको छ ।

अहिले सेवा प्रदायकको दोष छैन

एनटीएले अहिले अन्य बेला जस्तो नभई विशेष समय भएकोले सबैले आफ्नो तर्फबाट सहयोगी भुमिकामा काम गर्न आवश्यक रहेको बताएको छ । विभिन्न सन्दर्भमा सेवा प्रदायकहरुलाई गुणस्तरको माग गर्दै आएपनि अहिले भने माग अनुसारको सेवा प्रदान गर्न सेवा प्रदायकहरु लागिपरेको एनटीएको दाबी छ ।

सबैजनाले मनोरञ्जन लगायतका गतिविधिका लागि इन्टरनेट प्रयोग गर्ने हो भने तत्कालको लागि धान्न गाह्रो हुन्छ । सोही कारण आफूले पाएको सेवाको सही सदुपयोग गर्नुपर्ने एनटीएको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.