यस कारण बन्द गर्याे काउन्सिलले यी १७ अनलाइन (सूचिसहित)

  २०७६ चैत १८ गते २०:०६     विकासन्युज

काठमाडाैं । प्रेस काउन्सिल नेपालले गलल सूचना सम्प्रेषण गर्ने १७ अनलाइन समाचार पाेर्टललाई बन्द गरेसँगै नेपाल अनलाइन पत्रकार संघले त्यसको विरोध जनाएको छ ।

विश्वभर फैलिरहेकाे कोरोना  भाइरस (कोभिड–१९) संक्रमणले सबैलाई  त्रसित बनाइरहेकाे बेला ती अनलाइनले गलत सूचना प्रचार प्रसार गरेकाे भन्दै काउन्सीलले तिनीहरूलाई  बन्द गरेकाे हाे । कोरोना महामारीको अवस्थामा गलत सूचना प्रवाह गर्ने एकाध सञ्चारमाध्यमहरुका कारण पनि मानिसमा भ्रम र आतंक सिर्जना भएकाे भन्दै  उनीहरूलाई बन्द गरेकाे काउन्सिलले जनाएकाे छ ।

काउन्सिलकाे सिफारिसमा नेपाल दुर सञ्चार प्राधिकरणले ती अनलाइनहरू देशैभर प्रकाशन-प्रशारण हुने गरी ‘ब्लक’ गरिदिएकाे हाे । यस्तै, आधाकारिता पुष्टि नभएका र हुन नसक्ने सूचनालाई समाचारको नाम दिएर विभिन्न शीर्षकमा नागरिकसम्म पुर्‍याएर भ्रम सिर्जना गरेको आरोपमा ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई काउन्सिलले स्पष्टिकरण सोधेको छ ।

प्रेस काउन्सिलले पहिलो चरणमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टिकरण मात्रै सोधेको छ । सम्बन्धित निकायमा दर्ता बिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने १७ अनलाइन सञ्चारमाध्यमहरुलाई भने बन्द (ब्लक) नै गरिएको काउन्सिलले जनाएको छ ।

यी हुन बन्द गरिएका अनलाइन 

नेपाली अनलाइनन्यूज डटकम :

 यो अनलाइनले चैत १० गते ‘वीरगञ्जमा एकजनामा देखियो कोरोना भाइरस’ शीर्षकको समाचार प्रकाशित गरेको कारण याे पनि बन्द भएकाे हाे ।

 कास्कीखबर डटकम:

कास्कीखबर डटकमलाई काउन्सिलले बन्द गरेको छ । यसले चैत ८ गते ‘धनुषाका जिल्लाका २ जना युवामा कोरोना भाइरस भेटियो, शेयर गरी नेपालीमाझ पुराइदिनुहोला’ शीर्षकको समाचार सम्प्रेषण गरेकाे थियाे ।

 पवित्र टिभी डटकम :

यो अनलाइनले फेब्रुअरी १९, मार्च १७, २४ र २७ तारिखमा ‘पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले फोन राख मु…! मा… चो…!! भनेपछि’, ‘सिराहामा ९ जना कोरोनाका बिरामी भेटिए, गाउँलेहरु आतंकित’, ‘कोरोना भाइरसको संक्रमण भइरहेकोले नेपालले चीनको बदनाम गर्‍यो’, ‘मलेसियामा लकडाउनको समयमा झन कोरोनाको डरलाग्दो रुप, १५१८ संक्रमितका साथै १४ जनाको मृत्यु’ शीर्षकमा समाचार छापेको थियाे ।

 भिजिटस्टार्ट डटकम:

यो अनलाइनले चैत ८ गते ‘नेपालमा कोरोना भाइरस लुकाउने कोसिस, इटालीको भन्दा भयावह अवस्था आउनसक्ने, डब्लुएचओ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियाे ।

न्युज ट्वेन्टीसेभेनमिडिया डटकम:

यो अनलाइनले ‘दुःखद् खबर ! वीरगञ्जमा सिरहामा एकजना विरामीमा कोरोना संक्रमणको लक्षण देखियो, गाउँ नै आतंकित, सबैलाई घरबाहिर ननिस्कन आग्रह’ शीर्षकको समाचार प्रकाशन गरेको थियाे ।

 मिडिया माइनेपाल डटकम:

यो अनलाइनले चैत ९ गते ‘वीरगञ्जमा एकजना कोरोना संक्रमित फेला परे’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियाे

 निगरानीखबर डटकम:

यो अनलाइनले मार्च ४ मा ‘दार्चुलामा भेटियो कोरोना भाइरस’ शीर्षकमा समाचार छापेको थियाे ।

सिआइएनेपाल डटकम :

यो अनलाइनले चैत १३ गते ‘डब्लुएचओको चेतावनी ः पहिलो चरणमै कोरोना संक्रमण रोक्न नसकिए नेपालमा महामारी’ शीर्षकको समाचार सामाग्री प्रस्तुत गरेको थियाे ।

हाम्रो अभियान डटकम :

मिति नै उल्लेख नगरेर यो अनलाइनले ‘पत्रकार सम्मेलनमा गएका पत्रकार कोरोना संक्रमित, छोरीमा समेत पोजिटिभ’ शीर्षकमा समाचार प्रकाशन गरेको थियाे ।

नेपालडीप डटकम:

यो अनलाइनले चैत ९ र १० गते ‘कोरोनाको मौका छोपी प्रहरी पत्रकार नै लुटपाटमा लागेपछि’, र ‘राजाको सक्रियताले प्रचण्ड चिन्तित, भने-भारतले राजालाई बुई बोक्यो’, र ‘मौसूफ नारायणहिटी सर्ने तयारी गर्नुहोस् : योगी आदित्यनाथ’, शीर्षकमा समाचार प्रकाशित गरेको थियाे ।

 बीबीसीई नेपाल डटकम:

यो अनलाइनले चैत १३ गते समाचार सम्प्रेषणका क्रममा ‘न्यूज २४ का दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमणको पुष्टि’, ‘प्रधानमन्त्री ओलीले नेपालमा चीनको प्रभाव रोक्न, यस्तो एक्सन, बेइजिङ आत्तियो !’, ‘खुशीको खबर जापानले कोरोना भाइरसको औषधि पत्ता लगायो, ३४० बिरामीमा प्रयोग गर्दा बिरामी निको भए, पढेर शेर गरौं !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

इन्यूज ट्वेन्टीफोर नेपाल डटकम :

यो अनलाइनले १९ मार्चमा ‘खुशीको खबर : कोरोनाबारे नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले !’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियाे ।

 ललितपुरखबर डटकम :

यो अनलाइनले चैत ११ गते ‘चितवनमा मृत यादवलाई कोरोना भएको रिपोर्ट’ शीर्षकमा समाचार छापेको थियाे ।

एचखबर डटकम :

यो अनलाइनले मिति नै उल्लेख नगरेर ‘थपिने भयो लकडाउनको अवधि, १८ गते नखुल्ने, सरकारको यस्तो निर्देशन, अब कहिले खुल्छ’, ‘खुशीको खबर सक्दो सेयर गर्नुस्, एक नेपालीले कोरोना भाइरसको औषधि पत्ता लगाएको दाबी’, ‘खुशीको खबर फ्रान्सबाट फर्केकी नेपाली युवती निको भएर डिस्चार्ज’ भन्ने समाचार प्रकाशित गरेको छ । यसमा शीर्षक एउटा, तस्बीर प्रधानमन्त्री केपी शर्मा ओलीको राखिएको थियाे । साथै यो अनलाइनले ‘विश्वकै सबैभन्दा सानो गौमाता, शेयर गरी पुण्य कमाउनुहोस्’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.