बीमा कम्पनीका प्रमुखले नै पाएनन् पास, समिति भन्छः पहल गर्दैछौं

  २०७६ चैत १८ गते १७:३०     नबिन पाेखरेल

काठमाडौं । अत्यावश्यक सेवाभित्र परेको बीमा सेवा प्रदायक संस्थाका प्रमुखले नै लकडाउनको समयमा सवारी साधन चलाउने पास पाएका छैनन् ।

पास पाउँन नसक्दा आफ्ना महत्वपूर्ण काम अघि बढ्न समस्या भएको कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुका लागि पासको पहल गरेपनि अझै पाउन नसकिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विरेन्द्र बैद्यवारले अत्यावश्यक सेवामा पर्ने भएकाले आफूहरु सेवा रोक्न पनि नसक्ने र सरकारले प्रशासनले पास उपलब्ध नगराएको कारण सेवा सुचारु गर्न पनि नसकिने अवस्था पुगेको बताए ।

‘कम्पनीका प्रमुख, आईटी सम्बन्धित कर्मचारी तथा महत्वपूर्ण विभागका कर्मचारीको लागि सवारी पासको व्यवस्था हुनुपर्छ, अनलाईनबाट सेवा प्रदान गर्न पनि केही प्राविधिक समस्या आए समाधानको लागि यस्ता कर्मचारीले पास नपाउँदा समस्या भएको छ,’ प्रमुख कार्यकारी अधिकृत बैद्यवारले भने ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा समितिले पहल गरेको भएपनि अझै पास पाउन नसकिएको जानकारी दिए ।

‘बीमा समितिले सहजीकरणको प्रयास गरिरहेको छ, तर कहिले सिडीओ कार्यालय केहिले कहाँ जानु भनेर अनावश्यक दुःख दिने काम भएको छ, हामीले सहज रुपमा पास पाउन सकेका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।

सरकारी लगानी पनि रहेको राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले पनि आफूले पास नपाएको गुनासो गरे ।

‘अहिले मसँग पास छैन, हिजोसम्मको लागि त अर्कै पासले काम गरिरहेको थियो, लकडाउनको अवधि थप भएपछि मात्रै पास अभाव भएको हो, कसले पास दिने भन्ने यकिन नभएकोले पनि समस्या परेको छ,ङ पाठकले भने ।

अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले पास पाउँन कठिन भएको तथा राष्ट्र बैकले आफूहरुलाई समन्वय नगरेको बताए ।

सिडीओ कार्यालयले राष्ट्र बैंकमा गएर पास लिनु भन्छ, राष्ट्र बैंक बीमा कम्पनीहरुलाई पास दिने हाम्रो काम होइन, बीमा समितिमा जानु भन्छ, यस्तो हुँदा हामीलाई समस्या भएको छ,’ प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

बीमा समिति भन्छः पहल गर्दैछौं

बीमा समितिले अहिलेको परिस्थिति अन्य बेलाको भन्दा फरक रहेकोले परिस्थिति बुझेर संयम हुन आग्रह गरेको छ । तर, बीमा व्यवसाय पनि अत्यावश्यक सेवाभित्र पर्ने भएकोले पासको लागि आवश्यक पहल भइरहेको समितिका अध्यक्ष चिरन्जीवी चापागाँईंले बताए ।

‘बीमा सेवा पनि अत्यावश्यक सेवाभित्र परेकोले यो सेवा निर्वाध चलाउन आवश्यक समन्वय गरिरहेका छौं, अहिलेको परिस्थिति नै बेग्लै प्रकारको भएको कुरा सबैले बुझेकै छन्, तर पनि समितिको तर्फबाट गर्नुपर्ने आवश्यक पहल हामीले गरिरहेका छौं,’ अध्यक्ष चापागाँईंले भने ।

उनले पास नपाउँन्जेल घरबाटै काम गर्नुपर्ने तथा पाउँने वित्तीकै कम्पनीमा आएर सेवा सुचारु गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.