टेलिकमले परिमार्जन गर्यो विभिन्न सेवाहरु, कसरी प्रयोग गर्ने ?

  २०७६ चैत १८ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवाहरुमार्फत महशुल भुक्तानी तथा टपअप गर्ने व्यवस्थामा परिमार्जन गरेको छ । कम्पनीले हाल जारी रहेको लकडाउनको परिस्थितिमा ग्राहकहरुलाई सञ्चार सम्पर्कमा रहिरहन सजिलो होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरेको हो ।

(क) मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा (केआईओएसके) मेसिन

यस अन्तर्गत कम्पनीका आधिकारिक एमपीओएस सेवा प्रदायकहरु (जस्तैः स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

(ख) विभिन्न भुक्तानी सेवाका एपहरु

यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तैः इसेवा, खल्ती, आईएमईपे आदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहज रुपमा गर्न सकिन्छ ।

(ग) विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवाहरु

यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङको सुविधा लिई सोही बैंकको वेभपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहज रुपमा गर्न सकिन्छ ।

(घ) विभिन्न बैंकका भिसा/मास्टर्ड कार्डहरु

चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ । सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति कार्ड होल्डरको नाम र सीभीभी (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी ओके गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल/इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ ।

माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।

यसका लागि मोबाइलबाट *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको एसकोड (सेक्युरिटी कोड) प्राप्त गर्न एसकोड टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxxxxx मा रु. २०० ट्रान्सफर गर्न *422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्दछ । यूएसएसडी कोडको अलावा नेपाल टेलिकमको मोबाइल एपबाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ ।

कम्पनीका सेवाहरुको महशुल भुक्तानीका विकल्पहरु र व्यालेन्स ट्रान्सफरमा गरिएको परिमार्जनबाट कोरोना भाइरसको कारणले सिर्जित हालको विषम परिस्थितिमा पनि कम्पनीका ग्राहकवर्गलाई सञ्चारको सुविधा उपयोग गर्न सहज हुने कम्पनीको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.