लकडाउनमा अलपत्र ६ सय मजदूरको उद्धार

  २०७६ चैत १५ गते २०:१८     विकासन्युज

कास्की । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको ‘लकडाउन’का कारणले अलपत्र ६०० को हाराहारीमा मजदूरको उद्धार गरिएको छ ।

अस्थायी बसोबास भएको स्थानमा खाद्यान्न सकिएपछि मजदूर भोकभोकै बस्नुपर्ने अवस्था आएको र आफूहरुलाई घरसम्म पुग्ने व्यवस्था मिलाउन मजदूरबाट आग्रह गरिएको थियो । दाङ, तुलसीपुर, रोल्पा, सल्यान, चितवन, पर्सालगायतका जिल्लाका मजदूरलाई पहिलो चरणमा आज जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सार्वजनिक बसको व्यवस्था गरी आ–आफ्नो घरमा पुग्ने व्यवस्था मिलाइएको नेपाल निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले बताए ।

“प्रशासनले अनुमति दिएपछि दिउँसो र साँझ गरी ६ सयको सङ्ख्यामा मजदूरलाई उनीहरुको घरमा पुग्ने व्यवस्था गरियो”, अध्यक्ष श्रेष्ठले भने । जिल्लामा अझै ठूलो सङ्ख्यामा मजदूर अलपत्र परेको बताइन्छ । मजदूर रहेको स्थानबाट पोखरासम्म आउनसमेत कठिनाइ रहेकाले गाडी पठाएर ल्याउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख एवं डिभिजनल ईन्जिनियर शोभियत खड्काले देशका विभिन्न भागबाट जिल्लामा आफ्नो कार्यालय मातहतका निर्माण योजनामा सङ्लग्न भएका र हाल अलपत्र परेका कामदारलाई जिल्ला प्रशासनको सहयोगमा ‘रेस्कुय’ गरी सम्वन्धित ठाउँमा पुर्याइएको जानकारी दिए ।

आफ्नो कार्यालयअन्तर्गतका ठूला योजनामा कार्यरत ६ सय ६१ मजदूर प्रभावित भएको उनको भनाइ छ । तीनै तहका सरकारअन्तर्गतका जिल्लामा सडक, खानेपानी, नदी तटबन्ध, सिँचाई, भवनलगायतका पूर्वाधार योजनामा १० हजारको सङ्ख्यामा मजदूर कार्यरत रहेका र त्यसमा दुई हजार ५ सय विदेशी रहेका बताइन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.