३८ लाख ग्राहकलाई २० प्रतिशत विद्युत महसुल छुट, जतिसक्यो धेरै बिजुली प्रयोग गर्न आग्रह

  २०७६ चैत १४ गते १७:५०     विकासन्युज

काठमाडाैं । सरकारले ३८ लाख घरायसी ग्राहकलाई एक सय ५० युनिटसम्म विद्युत् प्रयोगमा २० प्रतिशत छुट दिने भएको छ । उनीहरुले चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनुको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बताए ।

लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाइ छ ।
उनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा शिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने बताए ।

‘एकातिर विद्युतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ, यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा शिफ्ट गर्ने उपयुक्त अवसर हो,’ उनले भने ।

सबै उपभोक्ता एकैपटक ग्यासको विकल्पमा इलेक्ट्रिक कुकिङमा जान असम्भव भए पनि काठमाण्डौ सहित शहरी क्षेत्रबाट त्यसको सुरुवात गर्न सकिने उनको विश्वास छ ।

३८ लाख ग्राहकलाई एक सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान हुन्छ । गएको आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.