चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

  २०७६ चैत १३ गते ११:१७     विकासन्युज

काठमाडौं । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको छ । कोरोना नियन्त्रण कार्यदल चितवनको बुधबार यहाँ सम्पन्न बैठकमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र अन्य अस्पतालमा समेत काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बस्ने घरधनीबाट फरक व्यवहार भएको भन्ने गुनासो आएको जानकारी गराइएको थियो ।

बैठकमा सहभागी कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार त्यस्तो पाइएमा स्थानीय प्रशासनले कडा कारवाही गर्ने बैठकले निर्णय गरेको छ । उनले भने, “कसैलाई समस्या परेमा मलाई फोन गर्न लगाउनुस् भनेर प्रमुख जिल्ला अधिकारीले भने। त्यस्ता घरधनीलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने छ ।” अभद्र व्यवहार भोगेका चिकित्सक, स्वास्थ्यकर्मीले कार्यदलका सदस्यलाई गुनासो गरेको बैठकमा जानकारी गराइएको थियो ।

बैठकले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई अहिले भएको सेवालाई यथावत राख्दै गुणस्तर सुधार गरी बहिरङ्ग सेवा र आइसोलेसनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । सो अस्पतालमा हाल १० श्ययाको सघन उपचारकक्ष, १० श्ययाको एचडीयु र ५० साधारण श्यया रहेको छ । कार्यदलका प्रवक्ता अधिकारीका अनुसार आवश्यकताअनुसार श्यया थप समेत गर्ने बैठकमा छलफल भएको थियो ।

कोरोना भाइरसको आशङ्का भई गम्भीर भएका बिरामीलाई जिल्लामा सञ्चालन भइरहेकामध्ये एक अस्पतालको सघन उपचारकक्षमा उपचार गर्ने विषयमा छलफल भएको थियो । अधिकांशले पहिलो चरणमा भरतपुर अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार गराउनुपर्ने र अस्पताल भरिएपछि चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र निजी अस्पतालका सघन उपचारकक्षमा उपचार गर्दा उपयुक्त हुने सुझाव दिएका थिए ।

भरतपुर अस्पतालमा रहेको २० श्ययाको सघन उपचारकक्षलाई विस्तार गर्नुपर्ने र त्यस्ता बिरामीको उपचारका लागि चिकित्सक, कर्मचारीको एउटै संयन्त्र बनाउन उपयुक्त हुने सुझाव आएको अधिकारीले जानकारी दिए ।

बैठकले कोरोनाको आशङ्का भई गम्भीर रहेका बिरामीलाई भरतपुरसहितका अस्पतालमा उपचारको व्यवस्थापन गर्नका लागि विशेषज्ञ चिकित्सक र अस्पतालका उच्च अधिकारीलाई जिम्मेवारीसमेत दिएको छ । कोरोना उपचारमा प्रत्यक्षरूपमा संलग्न भई क्वारेन्टाइनमा बस्नुपर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि स्थानीय होटलमा व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको छ । कोरोना सङ्क्रमणको आशङ्कामा घरबाटै स्वाब लिनुपर्ने बिरामीका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरिने भएको छ । सुरक्षाकर्मीको सहयोगमा घरमै पुगेर स्वाब लिइने छ ।

कार्यदलले विभिन्न स्थानबाट माग र खरिद गरेका उच्चस्तरका र सर्जिकल मास्क भरतपुर अस्पताल, निजी मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, निजी अस्पताल, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई आजै वितरण गरेको जनाएको छ । भित्र बिरामीसँग हेलमेल हुनेका लागि एन–९५ र बाहिर काम गर्नेका लागि सर्जिकल मास्क वितरण गरिएको अधिकारीले जानकारी दिए ।

बैठकले विभिन्न उपसमिति बनाउन डा अधिकारीलाई जिम्मा दिएको र बाहिरबाट आएका र उच्च जोखिम भएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । बैठकमा कार्यदलका संयोजक भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायत सदस्यको उपस्थिति थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.