शङ्कास्पद बिरामी बढेसँगै बागलुङमा कोभिड–१९ सङ्क्रमण रोक्ने तयारी 

  २०७६ चैत १२ गते १७:४४     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न र फैलिन नदिन भएका प्रयासकै बीच मङ्गलबार बिहानै बागलुङमा एक्कासी त्रास छायो । गत सोमबार कतार एयरवेजमार्फत काठमाडौं आएकी एक किशोरीमा कोरोनाको सङ्क्रमण रहेको पुष्टि भएको समाचार काठमाडौँमा सार्वजनिक भएसँगै उनीसँगै एउटै जहाजमा आएका एक युवा जिल्लामा रहेको खबरले यहाँका स्थानीयमा भय उत्पन्न गर्यो ।

सरकारले उनीसँगै आएकाहरुको खोजी थालेको थियो । ती युवतीसँग कतारबाट सँगै आएका एक युवा बागलुङको ढोरपाटनमा रहेको पुष्टि भएपछि मङ्गलवार बिहान उनको खोजी शुरु भयो । त्यस लगत्तै ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीसहित स्वास्थ्यकमकर्मीको समूह उनको घरमै पुगेर ‘होम क्वारेनटाइन’ मा बस्न आग्रह गरेर फर्किएको छ । त्यसको केही समयमा ती युवासँग काठमाडौँदेखि बागलुङ आएका दुई जना युवाको विषयमा पनि खुल्न आयो । उनीहरु आफ्ना बुबाको काजकिरियामा रहेको खुलेपछि नगरप्रमुख नेपालीसहितको समूहले काजकिरिया सकिएपछि पनि १४ दिन नपुग्दासम्म एकान्तमा बस्न सुझाएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा मिलन मल्लले बताए ।

स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (प्रसनल प्रोटेक्टिभ इक्युपमेण्ट) को अभाव हुँदा बागलुङमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलनसमेत प्रभावित भएको छ । सुरक्षा कवचको अभावका कारण गत चैत ५ गते फ्रान्सबाट कतारको हुँदै नेपाल आएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । सोमबार काठमाडौंमा कोरोना सङ्क्रमणको पुष्टि भएकी महिलासँगै आएकी बागलुङकी महिलालाई पनि केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायतका लक्षण देखा परेपछि उनको परिवार मङ्गलबार अस्पतालको सम्पर्कमा आएको थियो ।

काठमाडौंकी महिलामा सङ्क्रमण देखिएपछि परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराएको भए पनि कोरोना परीक्षणका लागि नमुना सङ्कलन गर्न कठिन भएको धौलागिरी अञ्चल अस्पतालका डा पुजन मल्लले जानकारी दिए । अस्पतालले सोमबारदेखि शङ्कास्पद बिरामी आउन थालेपछि सुरक्षा कवच तथा अन्य प्राविधिक सामग्रीको व्यवस्थापनमा लागेको छ । बुधबार मात्रै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.शैलेन्द्र बि।पोखरेलले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँचथान सुरक्षा कवच प्राप्त गरेकाले बुधबार बिहानसम्म उनको घाँटीको स्वाब लिने काम हुने अस्पतालले जनाएको छ ।

यो भन्दा पहिले भारतको पट्नाबाट बागलुङ आएका एक जना शङ्कास्पद बिरामीको सोमबार घाँटीको स्वाब नमुना लिएर परीक्षणका लागि पठाइ सकिएको छ तर नतिजा आइसकेको छैन । कोरोना सङ्क्रमणले समस्या बढाएकै बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर भने बन्द भएको सूचना आयो । अस्पतालले ढोकामै सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरेको जानकारी गराएको थियो । कोरोना भाइरस परीक्षण लगायतका सामग्री नभएकोले अस्पताल बन्द गरिएको सूचनामा उल्लेख छ ।

“हामीले ४ दिनअघिदेखि सामग्री मगाएका थियौँ, प्राप्त भएको छैन”, अस्पतालका अध्यक्ष सन्तोष रावलले भने । उनले सामाग्री आएमा तत्काल खुलाउन पनि सकिने बताए । सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुने तर निजीमा नहुने भएकोले डाक्टर तथा कर्मचारीले पनि काम गर्न नमानेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले यस्तो अवस्थामा अस्पताल बन्द गर्नु राम्रो नभएको र निजी अस्पतालको दर्ता र कारवाहीको प्रकृया स्थानीय तहमा गएकोले खोल्न सुझाव मात्र दिएको बताए । “यस्तो बेलामा आकस्मिक सेवा मात्रै दिएको भएपनि राम्रो हुन्थ्यो” उनले भने ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वर्तमान अवस्थामा कुनै जानकारीविना ढोकामा सूचना टाँसेर अस्पताल बन्द गर्नु अत्यन्तै गैरजिम्मेवारीपूर्ण काम भएको बताए । उनीहरुले किन अस्पताल बन्द गरेका हुन् स्पष्टीकरण सोधेर तत्काल कारवाही प्रकृया अगाडि बढाउने पनि उनले बताए । अस्पतालमा आउने सबै प्रकारका बिरामीको उपचार दिनुपर्ने बेला बन्द गर्ने काम मानवीयता बिरुद्धको भएको भन्दै जिल्लाभर नै विरोध भएको छ । सर्वसाधारणको चर्को बिरोध र सरोकारवालाको दवाव पछि अस्पताल प्रशासनले अस्पताल सञ्चालन हुने मङ्गलवार साँझ बताएको छ ।

विश्वव्यापी रुपमा कोरोना सङ्क्रमणको असर बढेसँगै विदेशबाट गाउँ फर्किएका ८ जनालाई यहाँको एक वडाले ‘होम क्वारेनटाइन’मा राख्ने भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीले विदेशबाट आएका आठ जनालाई होम क्वारेनटाइनमा राख्ने तयारी थालेको हो । वडा अध्यक्ष चित्रकला श्रीसको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले भारत, युएइ, कतार तथा जापानबाट घर फिर्ता भएकोहरुलाई १४ दिनसम्म आफ्नै घरमा अन्य व्यक्तिको सम्पर्क बाहिर रहेर बस्न आग्रह गर्ने निर्णय गरेको हो । कोरोनोको सम्भावित जोखिमलाई ध्यानमा राखेर क्वारेनटाइनमा राख्ने निर्णय गरिएको अध्यक्ष श्रीसको भनाई छ ।

सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले मङ्गलबार आदेश जारी गर्दै सेना परिचालन गरे ।

आदेशमा निषेधाज्ञा जारी गरिएकाले त्यसलाई प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालित हुन अनुरोध गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरी सोही ऐनको दफाको ६ को उपदफा २ बमोजिम नेपाली सेनाको अर्जुनबाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले आफुहरु प्रजिअको आदेशअनुसार परिचालित भएको पुष्टि गरे ।

कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट जोगाउन देशभर लकडाउनको घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय र यहाँका सरोकारवालाले क्वारेनटाइन निर्माणलाई तिब्रता दिएका छन् । बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित रामरेखा आधारभूत विद्यालयमा २० जना बिरामी अट्ने क्षमताको क्वारेनटाइन बनाउन लागिएको हो । यो बाहेक यहाँका केही विद्यालयका प्राङ्गडलाई आपतकालीन अवस्थामा प्रयोगमा ल्याउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस रोकथामको लागि आइसोलेसन वार्ड बनाउन सकिने व्यवस्था गरेसँगै रामरेखा आधारभूत विद्यालयमा २० जना क्षमताको क्वारेन्टाइन निर्माण थालिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले जानकारी दिए । सदरमुकाम बाहिरका स्थानीय तहले पनि क्वारेन्टाइन निर्माण लगायतका कामलाई तिब्रता दिएका छन् ।
स्वास्थ्य संस्थाहरुलाई तयार राख्ने, आपतकालीन रेस्पोन्स् टिम बनाउने कामहरु भैरहेको पालिका प्रमुखहरुले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । सदरमुकामको अञ्चल अस्पतालले दुई शैयाको ‘आइसोलेसन वार्ड’ बनाएको छ । तर केही शङ्कास्पद बिरामी देखा परेपछि थप व्यवस्थापनमा लागिएको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्मा बताउनुहुन्छ ।

कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण मुलुक नै लकडाउन भएको बेला काँठेखोला गाउँपालिकाले आफ्ना विपन्न जनतालाई राहत सहयोग उपलब्ध गराउने भएको छ । सवै आ–आफ्ना घरमा बस्नुपर्ने भएपछि बिहान बेलुका छाक टार्न समस्या भएका गाउँपालिकाभित्रका विपन्न जनतालाई खाद्यान्न राहत वितरण गर्न लागिएको पालिका अध्यक्ष अमर थापाले बताए । यो राहत दैनिक श्रमका आधारमा हातमुख जोर्ने नागरिकलाई मात्र रहेको उनले बताए ।

“पालिकाभित्रका विपन्न जनता, जसलाई लकडाउनका कारण बिहानबेलुका छाक टार्न समस्या छ उनीहरुलाई खाद्यान्न वितरण गर्न लागेका छौ” अध्यक्ष अमर थापाले भने । प्रारम्भिक राहतको रुपमा प्रत्येक परिवारलाई एक बोरा चामल र दाल दिने तयारी गरेको उनले भने। परिस्थिति हेरेर राहत र सहयोगको मात्रा बढाइने छ । खाद्यान्न राहत वडा अध्यक्षमार्फत विपन्न परिवारको घरमा नै पुराइने ब्यवस्था मिलाइएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको त्रास रहेको स्थानीय बताउँछन् । बागलुङ बजारमा व्यवसाय गर्दै आएका बलेवाका नन्दप्रसाद घिमिरेले “शान्त भएपछि व्यपार गरौँला यो बेला पसल बन्द गरेर घरैमा गएर बस्ने भन्दै लकडाउनको घोषणासँगै मङ्गलवार राती घर फर्किए । उनले जस्तै देशका ठूला शहर र जिल्ला सदरमुकामबाट गाउँमा फर्किनेहरुका कारण यतिबेला बागलुङका गाउँहरु भरीभराउ छन् ।
‘दशैंमा भन्दा धेरै मान्छे गाउँमा छन्’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका जीवन शर्मा भने । ठूला शहर र विदेशबाट समेत गरेर बागलुङका गाउँहरुमा दशौं हजार मानिस भित्रिएका छन् । बागलुङमा कोरोनाको त्रासका कारण भएका प्रभावका आलावा स्थानीय प्रशासनले बुधबार देखि सेना परिचालनको आदेश गरेसँगै रातारात हिँडेर बजार छेउका गाउँहरुमा पुग्नेहरुको सङ्ख्या समेत उल्लेख्य रुपमा बढेको देखिएको छ ।

यतिखेर भने बागलुङ बजार सुनशान बन्दैछ । सडकमा प्रहरी मात्र देखिन्छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने पानी, दुध, खाद्यान्न, अस्पताल लगायतका क्षेत्रमा समेत लकडाउनको प्रभाव छ । त्यस्ता ठाउँ र पसल पनि आधामात्र ढोका खुलेको अवस्थामा देखिन्छन् । बजारमा सामान्य व्यपार व्यवसाय गर्नेदेखि कर्मचारीसम्म गाउँ फर्किएका छन् । यहाँका बजार क्षेत्रका स्थायी बासिन्दा बाहेक नगन्य रुपमा मात्रै सर्वसाधारण बजार क्षेत्रमा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.