भारतबाट भित्रिए ८० मालवाहक गाडीः एलपी ग्यास ७ बुलेट, पेट्रोलका १०, अरू कति ?

  २०७६ चैत ११ गते १९:३८     विकासन्युज

काठमाडाैं । भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा डिजलका नौ र पेट्रोलका १० गाडीको भन्सार पास भएको हो । यसैगरि फलफूल, तरकारी र आलुप्याजको गरी ५४ गाडीको पनि भन्सार पास भएको छ ।

सूचना अधिकारी लम्सालले भने, ‘एजेन्टले फर्म भरेर पठाएको कुनै पनि मालवाहक गाडी रोकिँदैन । सबै भन्सार हुन्छ ।’

कोरोना भाइरसको सङ्क्रमणका कारण मान्छेहरुको आवतजावतमा रोक लगाइएको भए तापनि अत्यावश्यक वस्तु र सामानको आयातमा भने कुनै रोक नलगाइकाले मालवाहक सवारी साधन आएको सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व गस्ती डन्डाका प्रमुख मानबहादुर शाहीले बताए ।

अन्तरदेशीय पारवाहनमा कुनै समस्या नभए तापनि शनिबार सांँझसम्म करीब तीन सय गाडी भारतमै रोकिएका छन् । ट्रान्स नेपाल भैरहवाका प्रमुख रवि पारिखका अनुसार सवारी चालक कोरोनाको डरको कारण नेपालतर्फ आउन नखोज्दा गाडी रोकिएको हो ।

उनले भने, ‘आएका मालवाहक गाडीमा एक जना चालक र सहचालक मात्रै आएका छन् । केही चालकहरु नेपाल गएपछि उतै फसिन्छ, खान बस्न समस्या हुन्छ भन्दै आएका छैनन् ।’

कोभिड-१९ को सङ्क्रमण बढेपछि सरकारले अन्तरदेशीय पारवहनमा समेत कडाइ गरेको छ । सामान्य अवस्थामा बेलहिया नाकाबाट दैनिक २० हजारभन्दा बढी भारतीय र नेपाली सीमा वारपार गर्छन् । आज भने स्थलमार्ग हुँदै एक जनाले पनि वारपार गरेका छैनन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.