कोरोना प्रभावित उहानका बासिन्दालाई १४ दिन पछि अन्यत्र जान खुला गर्ने तयारीमा सरकारको 

  २०७६ चैत ११ गते १७:४९     विकासन्युज

उहान । कोरोना भाइरसबाट सर्वाधिक प्रभाव परेको चीनको हुबे प्रान्तको राजधानी उहानका बासिन्दालाई आगामी अप्रिल ८ देखि अन्यत्र जान आउन खुला गरिने भएको छ । भाइरसको संक्रमण रोक्ने उद्देश्यले उहानमा विगत दुई महिनादेखि लकडाउन गरिएको थियो ।
तर उहानबाट बाहिर जान चाहने व्यक्तिहरुले आफूसँग सरकारी स्वास्थ्य संस्थाले उपलब्ध गराएको हरियो स्वास्थ्य स्टिकर देखाउनु पर्नेछ ।  कोभिड–१९ नियन्त्रण केन्द्रले जारी गरेको सूचनामा उहान बाहिरका स्वस्थ व्यक्तिमा कोरोना फैलिन नपाओस् भन्नका लागि निकै कडा नियमहरु र सावधानी अपनाउन नागरिकलाई आग्रह गरिएको उल्लेख छ ।
हुबे प्रान्तका अरु क्षेत्रमा बुधबारदेखि नै लागू हुनेगरी यातायात खुला गरिएको छ । हुबेइमा अलपत्र परेका अन्यत्रका कामदारलाई हुबे बाहिर उनीहरुका कार्यस्थलमा सोझै पठाइने व्यवस्था मिलाइएको छ । हुबेमा अर्को सूचना जारी नहुँदासम्म स्कुलहरु भने बन्द हुनेछन् ।
गत जनवरी २३ मा उहान भित्रिने र बाहिरिने सवारी साधनमाथि रोक लगाइएको थियो । साथै शहरभित्र सार्वजनिक यातायात बन्द गर्नुका साथै उहान बाहिरका उडान र रेलसेवा रोकिएको थियो । यही किसिमका उपायहरु हुबे प्रान्तका अरु क्षेत्रमा पनि लागू गरिएको थियो ।
विगत पाँच दिनसम्म लगातार कुनै कोरोना संक्रमित व्यक्ति नभेटिएको उहानमा सोमबार भने एक व्यक्तिमा कोरोना देखिएको थियो । पूरै हुबे प्रान्तमा सोमबार एक व्यक्तिमा मात्र कोरोनाको संक्रमण देखिएको थियो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.