देउराली जनता फर्मास्यूटिकल्सले कोरोनाको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने

  २०७६ चैत ११ गते १७:४८     राजाराम न्यौपाने

काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने भएको छ । देउराली जनता फर्मास्यूटिकल्स कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्माले देशमा कोरोनाको उपचारको लागि उद्योगले उत्पादन गर्दै आएको हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट कोरोनाको उपचारका लागि प्रयोग हुने भएकाले उक्त औषधि निःशुल्क दिन बताए ।

‘देशमा महामरी आइसकेको छ, सरकारलाई कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने औषधि कम्पनी दिन तयार रहेको छ,’ शर्माले भने । औषधि उत्पादनका क्षेत्रमा परिचित उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रालीले विगत ३० बर्षदेखि उत्पादन गर्दै आएको औषधि कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि उपयोगी ठहरिएको पनि शर्माले बताए ।

यो औषधि प्रयोग गर्दा कोरोना भाइरसको संक्रमण चाँडै निको हुने गरेको तथ्यहरु प्रकाशित भएपछि उद्योगले विज्ञप्ति निकालेर आफूहरु निःशुल्क रुपमा कोरोनाको उपचारका लागि औषधि उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेको हो ।

हालै स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरुले जारी गरेका अध्ययन प्रकाशनहरुमा कोरोनाको उपचारका लागि हाइड्रोसीक्लोरोक्विन सल्फेट ट्याब्लेट, ब्राण्ड–हाइक्विन २०० ट्याब्लेट नामक औषधि कोरोनाको उपचारका लागि उपयोगी हुने कुरा प्रकाशित भएका छन् ।

कम्पनीको ३ सय ५ थरीका औषधी बजारमा छ । कम्पनीले मुटु रोग, नशा सम्बन्धी रोग, मधुमेह, चर्म रोग, पेट रोग लगायत नेपालमा देखापर्ने सबैजसो सरुवा रोगको उपचारमा आवश्यक पर्ने औषधीको उत्पादन गरिरहेको छ ।

अत्याधुनिक उपकरणबाट कच्चा पदार्थहरु, कम्पनीबाट उत्पादित औषधिकहरुको गुणस्तर परीक्षण गर्ने र अन्य अत्यावश्यक औषधिहरुको विकास तथा अनुसन्धानको काम समेत कम्पनीले गर्दै आएको छ ।

कम्पनीले एक दशकभन्दा अगाडिदेखि नै नेपालमा पहिलो पटक आइएसओ १४००१, आइएसओ ९००१ तथा विश्व स्वास्थ्य संगठनको निर्माण प्रकृया (जीएमपी) लगायतका प्रमाणिकरण गराई औषधिको गुणस्तर कायम गरेको थियो । कम्पनीमा करिब १ अर्ब ५० करोड रूपैयाँ लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.