२०७६ चैत १० गते १२:४८ विकासन्युज टिप्पणी
काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै नियामक निकाय धितोपत्र बोर्डले यो साता सेयर बजार बन्द गरेको छ ।
सेयर बजार बन्द गर्नु नै अहिलेको लागि उपयुक्त विकल्प हो भन्ने एकथरीको तर्क छ भने बजार बन्द गरेर आफ्नो स्वामित्वको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार कुण्ठित गरियो भन्ने अर्काथरीको तर्क छ ।
अहिलेको अवस्थामा यी दुबै तर्क सही छन् । किन सही छन् भने संकटको बेलामा मानिसले सही निर्णय लिन सक्दैन, सही निर्णय लिन नसक्ने बेलामा गरिएको सेयर किनबेच सही निर्णय हुँदैन । त्यसैले अहिलेको त्रासदीपूर्ण अवस्थामा सेयर बजार खोल्नु हुदैन ।
फेरि सरकारले कोरोना संक्रमणबाट बच्न भन्दै विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्वोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी गराएका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक रोक लगाएको छ । यस्तो बेलामा सेयर बजार बन्द गर्नु ठीक कदम हो ।
तर, नेपालको संविधानले नागरिकलाई सम्पत्तिमाथिको हक पनि पद्रान गरेको छ । आफ्नो सम्पत्तिको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार सेयर बजार बन्द गर्ने नियामक निकायको निर्णयको कारण कुण्ठित भयो भन्ने तर्क गर्नेहरु पनि छन् ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । संक्रमण देखियो भने फैलन सक्छ भनेर सरकारले उच्च सावधानी अपनाएको बेला मात्रै हो । सावधानी अपनाएकै बेलामा नागरिक अधिकार कुण्ठित गर्नु उपयुक्त नहुने यसको विपक्षमा रहेकाहरुको तर्क छ ।
त्यसोभए सरकारले गरेको निर्णय कार्यान्वयन पनि हुने, कोरोना संक्रमण विस्तार पनि रोकिने र नागरिक अधिकार कुण्ठित हुनबाट पनि जोगिने कुनै उपाय छैन ?
नियामक निकायले बजार बन्द गर्न निर्णय दिनुअघिदेखि नै आफूहरु मध्यमार्गी उपायको विषयमा छलफलमा जुटिसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् ।
‘नेप्सेमा कारोबार हुने सेयर भनेको नागरिकको सम्पत्ति हो, धितोपत्र बोर्डले यो साताको लागि बजार बन्द गर्ने निर्णय गरेको छ, तर एक सातामै कोरोना संक्रमणको सम्भावना नसकिन पनि सक्छ, त्यसैले कुन विधि र विकल्प अपनाएर नागरिकको सम्पत्ति बन्धक नहुने तथा सम्भावित कोरोना महामारीको संक्रमणबाट पनि जोगिने भनेर हामीले छलफल गरिरहेका छौं,’ प्रमुख कार्यकारी अधिकृत साउदले विकासन्युजसँग भने ।
नेप्सेले छलफल गरेका विकल्प के कस्ता हुन् भन्ने बारेमा साउदले खुलाएनन् ।
कोरोना संक्रमणले आक्रान्त देशहरुमा पनि सेयर बजार खुलिरहेका छन् । नेपालमा संक्रमण पनि देखिएको छैन । अहिले नेपालले गरेको भनेको सम्भावित संक्रमण विस्तार रोक्नको लागि शतर्कता मात्रै हो ।
अरु देशको पुँजी बजारको पूर्वाधार र हाम्रो पूर्वाधार तुलना गर्न सकिने खालको छैन भन्ने तर्क पनि आएको छ । यस्तो समस्याको बेलामा पूर्वाधार तयार पार्न दबाब दिने कि बजार बन्द गराउन उक्साउने भन्ने अर्काे प्रतिप्रश्न हो ।
नेपाली सेयर बजारमा अझै पनि म्यानुअल कारोबारको हिस्सा धेरै छ । अनलाइन कारोबार गर्नेहरुको संख्या कम छ । यही बेलामा अनलाइन कारोबारलाई प्रोत्साहित गर्ने प्रकारका गतिविधि गर्नु उत्तम र दीर्घकालिन फाइदाको कुरा हो ।
शतर्कता अपानाएकै अवस्थामा सेयर बजार बन्द गर्ने हो भने संकट आएको अवस्थामा के गर्ने भन्ने अर्काे समस्या पनि आउन सक्छ । किनभने धितोपत्र बोर्डले बढीमा ५ दिन बजार बन्द गर्न पाउने कानुनी अधिकार पाएको छ । शतर्ककताकै समयमा बोर्डले सो अधिकार प्रयोग गरिसक्यो । समस्या नै देखियो भने बोर्डले अब के गर्छ ?
सेयर कारोबार बन्द गर्नु राम्रो कुरा होइन । यसले अविश्वास नै पैदा गर्छ । यस्तो बेलामा नियामक निकायसहित सरोकारवालाले ३ विकल्पमा बजार खुल्ला गर्न सक्छन् ।
पहिलो विकल्प
पहिलो विकल्प भनेको विनाशर्त बजार खोल्ने नै हो । बजारले बजारको स्वभाव अनुसार काम गर्न पाउनु पर्छ । अहिले बजार धेरै घट्यो भने फेरि बढ्छ । बजार भनेको नै यही हो ।
योभन्दा पहिला २९३ विन्दुमा नेप्से परिसुचक पुगेको बेलामा कोरोना आएको थिएन । भूकम्पको त्रासदी पनि थिएन । अर्थमन्त्री पनि बजारमैत्री भनेर चिनिएका तत्कालिन एमालेका नेता सुरेन्द्र पाण्डे थिए । तर बजार घट्यो । र, जतिबेला बजार बढेर १८८१ विन्दुमा पुगेको थियो, त्यो बेला पनि त्यस्तो उत्पादत केही भएको थिएन । बजारले आफ्नो गति, विश्लेषण र स्वभाव अनुसार प्रतिक्रिया जनाएको थियो ।
दोस्रो विकल्प
दोस्रो विकल्प भनेको बजारका प्राविधिक मापदण्डलाई निश्चित समयका लागि थप कसिलो बनाएर बजार खुल्ला गर्ने भन्ने हो । जस्तो कि अहिले एकै दिन बजार ६ प्रतिशतले घट्यो वा बढ्यो भने बन्द गरिन्छ । निश्चित अवधीको लागि यो ६ प्रतिशतको सीमालाई २ वा ३ प्रतिशतमा झारौं । अर्थात सर्किट ब्रेकका जे जति व्यवस्थाहरु छन्, तिनलाई केही समयको लागि कसिलो बनाएर बजारलाई सकेसम्म स्वभाविक बन्न प्रेरित गर्ने भन्ने हो । यस्तै, कारोबार समय पनि अहिलेकोबाट घटाएर २ वा ३ घण्टा बनाउन सकिन्छ ।
तेस्रो विकल्प
तेस्रो विकल्प धितोपत्र कारोबारको अन्तराष्ट्रिय मूल्य र मान्यता अनुसारको छैन । यो विकल्प ‘संकट नै सिर्जनाको जननी हो’ भन्ने सिद्धान्तमा आधारित छ ।
त्यो भनेको के हो भने बजार खोल्ने । तर, यसरी खुल्ला गरिएको बजारमा एक दिनमा एक जनाले निश्चित रकम बजारको सेयर खरिद विक्री गर्न पाउने परिमाणात्मक बन्देज लगाउन सकिन्छ । जस्तो कि कसैलाई अस्पतालमा औषधोपचार गर्न ५० हजार रुपैयाँ चाहिएको छ भने उसले सो बराबरको सेयर बेचेर नगद बनाउन पाउने बाटो खुल्ला गर्नै पर्छ ।
उदाहरणको रुपमा कुनै सेयरधनीले एक सातामा वा १५ दिनमा ५० हजार रुपैयाँ बराबरको मात्रै सेयर बेच्न पाउने व्यवस्था गर्ने हो त्यसले सेयर बजारमा धेरै असर पार्दैन । सो लगानीकर्ताले राखेको सेयर विक्री भएन भने नागरिक लगानी कोषले किन्ने अन्तिम विकल्प राख्न सकिन्छ ।
तर, यसको कार्यान्वयन गर्न केही नीतिगत कठिनाइहरु छन् । अहिलेको व्यवस्थाले कोषलाई केही समस्या हुन सक्छ ।
कोष व्यवस्थापनलाई संचालक समितिले निश्चित परिमाणको सेयर किन्न अधिकार दिएकोले सो सीमाभित्रको सेयर खरिद गर्न कुनै समस्या नभएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्र कट्टेल बताउँछन् । कोष व्यवस्थापनलाई संचालक समितिले दिएको सीमा बृद्धि गर्नुपर्ने अवस्था रह्यो भने त्यसको बाटो खुल्ला राख्नुपर्ने हुन सक्छ ।
रकमका आधारमा परिमाणात्मक बन्देज नलगाउने हो भने गत विहीबारको सेयर मूल्यलाई त्यसबाट घटबड नहुने गरी फिक्स्ड गर्न सकिन्छ । यस्तो व्यवस्था निश्चित अवधिको लागि मात्रै गर्न सकिन्छ । तर, खरिदकर्ता निश्चित गरेर वा मूल्य फिक्स्ड गरेर गरिने कारोबार सेयर कारोबारको सैद्धान्तिक दायराभित्र पर्दैन । यो विकल्प भनेको संविधानले व्यवस्था गरेको सम्पत्तिमाथिको नागरिकको हक कुण्ठित हुनबाट जोगाउनका लागि मात्रै हो ।
विकल्प अरु पनि हुन सक्छन् । संकटको समयमा बजारमा अनावश्यक चलखेल गर्ने तत्व हावी हुन सक्छ । यस्ता तत्वलाई मुन्टो उठाउने ठाउँ नै नदिने प्रबन्ध गरी सेयर कारोबार खुल्ला राखिनु पर्छ । बजार खुल्ला राख्दा सेयर बजारको अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार नै खुल्ला गर्नुपर्छ, त्यति पनि हुन सकेन भने संविधानको व्यवस्था अनुसार नागरिककको सम्पत्तिमाथिको अधिकार कुण्ठित हुन दिनु हुदैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.