सरकारलाई चेम्बर अफ कमर्सकाे सुझावः अर्थतन्त्रमा संकुचन आउन नदिन आर्थिक कार्यक्रम ल्याउनुस्

  २०७६ चैत ९ गते १८:४०     विकासन्युज

काठमाडाैं ।  कोरोना भाइरस (कोभिड-१९) को बिश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका बिषयमा चेम्वरले नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकार समक्ष सुझाव पेश गरेको छ । सुझाव पेश गर्दै चेम्बरले तत् संबन्धमा अध्ययन गरिरहेको र यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरि अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयूक्त आर्थिक कार्यक्रम ल्याउनु पर्ने उल्लेख गरेको छ ।

चेम्बरले सुझाव पेश गर्दै हालको परिस्थितिलाई दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्नूपर्ने आयकर तथा मूल्य अभिवृद्धि कर हालको यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै  हाललाई समस्याको समयावधि हेरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने, सीमावर्ती भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्यअभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने, बैंकहरुले ऋणको भूक्तानीको अवधि रि सेडुयुलिङ्ग गर्ने व्यवस्था मिलाउनु पर्ने, बैंक तथा वित्तीय संस्थाबाट लिईएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत  बैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने धारणा राखेको छ ।

साथै, कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले सरकारलाई अनुरोध गरेको छ ।